PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

सहमति विपरीत पाँच दल बाहिर तालमेल गर्नेलाई गठबन्धनले कारवाही गर्ने, स्वतन्त्र उम्मेदवारी पनि फिर्ता गराइने



पहिलोपोस्ट

सहमति विपरीत पाँच दल बाहिर तालमेल गर्नेलाई गठबन्धनले कारवाही गर्ने, स्वतन्त्र उम्मेदवारी पनि फिर्ता गराइने

काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले सहमति विपरीत स्थानीय तहमा उम्मेदवार बनेका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ।

स्वतन्त्र रुपमा उम्मेदवार बनेकालाई पनि उम्मेदवारी फिर्ता गराउने गठबन्धनले निर्णय गरेको छ। पाँच दल बाहिर चुनावी तालमेललाई खारेज गर्न गठबन्धनले निर्देशन दिएको हो। खारेज नगरे सम्बन्धित दलले कारवाही गर्ने सहमतिपत्रमा उल्लेख छ। स्वतन्त्र तर्फबाट उम्मेदवार बनेकालाई पनि उम्मेदवारी फिर्ता लिन गठबन्धनले आग्रह गरेको छ।

यसअघि बालुवाटारमा बिहीवार बसेको बैठकले पनि सहमति विपरीत उम्मेदवार नबन्न आग्रह गरेको थियो। ६ वटा महानगर र ११ उपमहानगरमा बनेको सत्ता घटक दलको चुनावी तालमेल अधिकांश नगपालिका र गाउँपालिकामा कार्यान्वयन नहुँदा पछिल्लो समय गठबन्धनले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो। कतिपय ठाउँमा गठबन्धनकै दलहरुले एमालेसँग तालमेल गर्न थालेपछि गठबन्धनको बैठकले उक्त तालमेललाई खारेज गर्न निर्देशन दिएको हो। 

यस्तो छ गठबन्धनको शुक्रवारको निर्णय

१. पाँच दलीय गठबन्धनबिच यस अघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उप-प्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने ।

२. पाँच दलीय गठबन्धनबिच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने।

३. पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने । गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्वन्धित दलले तत्काल कारबाही गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell