PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

२०८१ सम्मका लागि आवेदन दिएका सबैले लाइसेन्सको ट्रायल दिन पाउने, जेठ १ गतेबाट अनलाइन आवेदन खुल्ने



पहिलोपोस्ट

२०८१ सम्मका लागि आवेदन दिएका सबैले लाइसेन्सको ट्रायल दिन पाउने, जेठ १ गतेबाट अनलाइन आवेदन खुल्ने

काठमाडौं : सवारी चालक अनुमति पत्रका लागि बैशाख मसान्तसम्म अनलाइन आवेदन दिएर ट्रायल पर्खिरहेका सबै सेवाग्राहीको लिखित र ट्रायल परीक्षा सक्ने योजना वाग्मती प्रदेश सरकारले बताएको छ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका सबै कार्यालयलाई २०८१ सम्मको सबै ब्याक लग सक्ने गरी ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिने तयारी गरेको छ। मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले सबै ट्रायल परीक्षा सञ्चालन हुने कार्यालयहरुलाई बैशाख मसान्तसम्म अनलाइन आवेदन दिएका सबै सेवाग्राहीको परीक्षा लिइसक्न सर्कुलर जारी गर्न लागिएको बताए।

‘हामी त्यसैको तयारीमा छौँ। एक/दुई दिनमै पत्राचार गर्छौँ। केही काम गर्न खोजेका छौँ। यातायात क्षेत्रमा धेरै गुनासो भयो’, उनले भने, ‘सेवाग्राहीले ट्रायल दिनकै लागि दुःख पाउने अवस्था छ। त्यही भएर बैशाखसम्म पुरानो सक्न लागेका हौँ। नयाँ खुलाउँदा बढीमा १० दिनभित्र उसले चाहेको समयमा ट्रायल दिन पाउने गरी व्यवस्था गर्न लागेका छौँ।’

उनका अनुसार ब्याक लग सकेर जेठ १ गतेबाट अनलाइन आवेदन प्रणाली खुल्ला गर्ने योजना छ।

यातायात व्यवस्था विभागले पुराना अनलाइन आवेदनहरुको परीक्षा चाँडो टुंग्याउनुपर्ने भन्दै चैत १ गतेदेखि अनलाइन आवेदन प्रणाली बन्द गरेको थियो। कोरोना महामारीका कारण लामो समय यातायात कार्यालयहरु पनि बन्द भए। जसका कारण अनलाइन आवेदन ५ लाखभन्दा बढी पुगेका थिए।

२०८१ सम्मको यातायात कार्यालय भिजिटको डेट पाएका थिए। उक्त आवेदकहरुको ट्रायल परीक्षा सक्नका लागि अनलाइन प्रणाली बन्द गरिएको थियो।

वाग्मती प्रदेशमा मात्रै २ लाखले आवेदन दिएका थिए। ६० प्रतिशतले ट्रायल दिइसकेको दाबी यातायात कार्यालयहरुको छ।

‘धेरै डुब्लिकेसन रहेछ। एकै जनाले धेरै भरेका रहेछन्। १ महिनाको एकै दिन बोलाउँदा पनि धेरै आएका छैनन्। एउटा कार्यालयमा २/३ सयले मात्रै ट्रायल दिन्छन्,’ उनले भने।

मातहतका कार्यालयहरुले पनि बैशाख मसान्तसम्म सक्ने गरी काम सुरु गरिसकेका छन्। प्रदेश मातहत जगाती (भक्तपुर), एकान्तकुना (ललितपुर), ठूलो भर्‍याङ (स्वयम्भू), चाबहिल र हेटौँडा गरी पाँच कार्यालयबाट ट्रायल परीक्षा सञ्चालन हुन्छ। भरतपुरमा यातायात कार्यालय भए पनि ट्रायल परीक्षा सञ्चालन हुँदैन। त्यस्तै, खुर्कोटमा पनि यातायात कार्यालय स्थापना गर्ने तयारीमा प्रदेश सरकार छ।

यातायात कार्यालयहरुले पनि बैशाख मसान्तसम्म सबै ब्याक लग सक्ने गरी काम थालिसकेका छन्। त्यसैका लागि बिहान साढे ७ बजेदेखि कार्यालय सञ्चालन भइरहेको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र (ठूलो भर्‍याङ) का प्रमुख संजय थापाले बताए। उनका अनुसार अहिले एक महिनाको एक दिनमा ट्रायल परीक्षा सञ्चालन हुने गरेको छ।

‘बिहान सेवा दिँदा दिउँसो रोजीरोटीका लागि जानेहरुका लागि सजिलो हुन्छ। उहाँहरुले बिहान सेवा लिएर दिउँसो आफ्नो काममा जान सक्नुहुन्छ’, उनले भने, ‘यातायातकै कामले दिनभरिको काम माया मार्नुपर्ने अवस्था अब छैन।’

उनले दैनिक सबै खालका गरी ७ सयभन्दा बढी सेवाग्राहीहरुले सेवा लिइरहेको बताए। यातायात कार्यालयहरुले इन्सेन्टिभ दिएर अहिले कर्मचारीहरुलाई साढे ७ बजे नै बोलाउने गरेको छ। यातायात कार्यालय ठूलो भर्‍याङले बैशाख २५ गतेसम्म सबै ब्याकलक सक्ने थापाले दाबी गरे।

यातायातको सेवा प्रवाहप्रति सेवाग्राहीहरुको गुनासो धेरै हुने गरेको छ। पैसा नलिई कामै नहुने थलोका रुपमा बुझ्ने गरेका छन्। बिचौलिया नलगाई कामै गर्न नसक्ने भन्दै गुनासो गर्ने गरेका छन्।

थापा भने यातायातको छवि सुधार्नका लागि केही नीतिगत सुधारका काम  गर्नुपर्ने बताउँछन्। उनका अनुसार एकपटक लिखित पास भएपछि ट्रायल पास नहुन्जेलसम्मका लागि दिन पाउने नीतिगत व्यवस्था मिलाउनुपर्छ। अहिले एकपटक लिखित पास भएपछि तीनपटक मात्रै ट्रायल परीक्षा दिन पाइन्छ।

‘लिखित पास गरेपछि उसले ट्रायल पास नहुन्जेलसम्म परीक्षा दिन पाउनुपर्छ। यसले राज्यलाई राजस्व पनि आउँछ’, उनले भने, ‘जति पनि दिन पाइन्छ भन्ने पर्छ। जसले डर कम हुने भएका कारण पास गर्न उसलाई सहज हुन्छ। बिचौलिया भेट्न जान पर्दैन।’

त्यस्तै, लिखित परीक्षामा फेल भए वा अनुपस्थित भए ९० दिनमा मात्रै पुनः दिन पाइन्छ। भोलिपल्टै दिन पाउनुपर्ने गरी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ। त्यसो गर्न सकिए सेवाग्राहीहरु बिचौलियाकोमा जानु नपर्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell