PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पेचिलो बन्‍दै खेलाडी प्रकरण : एन्फामा कार्यसमिति बैठकको माग, दुई पक्षको कुरामा के छ विरोधाभाष ?



मुकुन्द घिमिरे

पेचिलो बन्‍दै खेलाडी प्रकरण : एन्फामा कार्यसमिति बैठकको माग, दुई पक्षको कुरामा के छ विरोधाभाष ?

काठमाडौं : नेपाली फुटबल पछिल्ला केही दिन तनावमय बनेको छ। एकतर्फ टोलीका सिनियर खेलाडीले प्रशिक्षण छाडेका छन् भने अर्कोतर्फ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विद्रोही खेलाडीको ठाउँमा नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। नयाँ खेलाडीहरु प्रशिक्षणमा उत्रिसकेका छन्। खेलाडीले होस्टल खाना, पानी, बसोबास लगायतका सामान्य कुराको माग राख्दा प्रशिक्षकले रोहित चन्दलाई क्याम्प छाड्न भनेको र अन्य खेलाडीले रोहितले सबैको आवाज बोलेका हुन् भन्दा उनीहरुलाई पनि निस्केर जान भनेकोले आफूहरु बाहिरिएको दाबी गरिएको छ।

सानोसानो विषयमा पनि सामाजिक संजालमा प्रतिक्रिया दिने अब्दुल्लाह अलमुताइरीले यस विषयमा केही बोलेका छैनन्। उनले शुक्रवार थप खेलाडी बोलाएर सुरु भएको प्रशिक्षणको तस्विर सेयर गरेका छन्।

दुईतिरका दुई कुरा

खेलाडीले पत्रकार सम्मेलन नै गरेर यो प्रकरणको छानविन गर्न एन्फासँग माग गरेका छन्। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले चुनाव आएकाले यस प्रकरणमा केही गर्न नसकिने भनेर जवाफ फर्काएको खेलाडीहरुको दाबी छ।

टिम व्यवस्थापनको र खेलाडीको कुरामा विरोधाभाष भने देखिन्छ।

टिमका म्यानेजर मधुसुधन उपाध्यायले खेलाडीहरुले जानकारी नदिइ क्याम्प छाडेर अनुशासन तोडेको दाबी गरेका छन्।

'अफ्ठ्यारो परेको भए खेलाडीले मसँग सम्पर्क गर्नुपर्ने हो। मसँग कसैले पनि सम्पर्क गरेको छैन। बिना सम्पर्क क्याम्प छाडेर गएकाले मैले एन्फालाई जानकारी गराइसकेको छु,' मेनेजर उपाध्यायले विहीवार बिहान पहिलोपोस्टसँग भनेका थिए, 'क्याम्प छाडेर जानुपर्ने अवस्था नै के भयो भन्ने मेरो कुरा हो। उहाँहरुले मलाई भन्नुपर्थ्यो। मलाई केही जानकारी गराएको छैन।'

यद्यपि, खेलाडी र प्रशिक्षकबिचको पछिल्लो समय बढेको असमझदारीबारे उनी बेखवर भने थिएनन्।

'बिना जानकारी क्याम्प छाडेर उहाँहरु निस्किएर जानु भएको छ। त्यो चाहीँ अलि अनुशासन विपरित कार्य भयो कि भन्ने मेरो बुझाइ हो,' उपाध्याय क्याम्प छाडेका खेलाडीलाई लक्षित गर्दै भने।

यता, खेलाडीले भने क्याम्प छाड्दा एन्फालाई जानकारी गराएको दाबी गरेका छन्। उनीहरुले अध्यक्ष कर्माछिरिङ शेर्पालाई जानकारी गराएरै क्याम्प छाडेको बताएका हुन्।

'राष्ट्रिय टोलीमा भएको घटनालाई आन्तरिक रुपमै सुल्झाउने हाम्रो सोच थियो। त्यसैले हामीले उक्त घटनाबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई जानकारी गराएका थियौं,' विहीवारको खेलाडीको विज्ञप्तिमा भनिएको छ, 'तर, समस्या सुल्झाउनुका सट्टा जिम्मेवार व्यक्तिबाट नै सार्वजनिक मिडियामा हामीविरुद्ध गैरजिम्मेवार प्रतिक्रिया र अनर्गल आरोप लागेको छ।'

त्यस्तै फुटबल खेलाडी संघलाई पनि पहिल्यै जानकारी दिएको उनीहरुको दाबी छ।

होस्टलको दुरावस्थाको कुरा

एन्फाको होस्टल दुरावस्थामा रहेकोले समस्या भएको खेलाडीले बताएका छन्।

'उपत्यकाबाहिरका खेलाडीलाई सुरुवातमा होस्टेलमा राख्ने भनिए पनि त्यहाँ दैनिक उपभोगका लागि नुहाउने, लुगा धुने पानी, खाने कुरा लगायत सुविधा नभएका कारण ५-६ घण्टा होस्टेलमा कुरेपछि अन्त्यमा होटलमा राखिएको थियो,' खेलाडीको दाबी छ, 'आइतबार प्रशिक्षण सुरु हुनुअघि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आफैँले हामीलाई भोलिबाट बन्द प्रशिक्षण सुरु हुने जानकारी दिनुभयो। त्यसपछि रोहित चन्दले होटेल बस्ने कि होस्टेल भन्ने प्रश्न उठाए। प्रशिक्षकले सुरुवातमा होस्टेलमा बस्ने जानकारी दिएपछि रोहितले होस्टेलमा दैनिक जीवनयापन गर्ने आधारभूत सुविधा पनि नभएका जानकारी दिए। उनले खेलाडीबीच सल्लाह भएअनुसार नै होटेलमा बस्नु उपयुक्त हुने बताएका थिए।'

त्यसपछि असमझदारी सुरु भएको देखिन्छ। हेर्दा सामान्य देखिने यो समस्याले ठूलो रुप लिएको हो। एन्फाका अध्यक्ष समेत रहिसकेका गणेश थापाले यस प्रकरणमा एन्फा पदाधिकारी नै दोषी रहेको आरोप लगाएका छन्।

'होटेलमा बस्ने कि होस्टेलमा बस्ने यति सानो विषय पनि समस्याको समाधान गर्न नसक्ने एन्फा नेतृत्व र एन्फा दोषी होइन र,? उनले प्रश्न गरेका छन्, 'खेलाडीहरु र प्रशिक्षकले नेपाल राष्ट्रको लागि सक्दो योगदान पुर्‍याएकाहरु प्रति नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन।'

यस विषयमा टिमका म्यानेजर मधुसुधन उपाध्यायको तर्क फरक छ।

'क्याम्प नै छाड्नुपर्ने अवस्था थिएन। उहाँहरुले होस्टेल बस्ने या नबस्ने भनेर उठाएको विषय सामान्य कुरा हो। उहाँहरु त्यहीँ बसेर हुर्किएको हो। सेवासुविधा भनेको स्तरोन्नति गर्ने कुरा हो, बस्दैनबस्ने भन्ने कुरा पनि होइन,' उपाध्यायले भने, 'त्यही होस्टेलमा बसेर आज इन्टरनेसनल कहाँकहाँ पुगिसके भाइहरु, अहिले होस्टेलमा बस्दिन भन्न त पाइँदैपाइँदैन।'

एन्फा उपाध्यक्ष कृष्ण थापा भने अहिले खेलाडीका साथमा उभिएका छन्। उनले एन्फा अलमुताइरी र कर्माको निजी घर नभएको टिप्पणी गरेका छन्। प्रशिक्षकका कारण विद्रोही खेलाडीलाई टिममा समावेश नगरिए राम्रो नहुने चेतावनी पनि दिएका छन्।

व्यक्तिगत स्वतन्त्रताको कुरा

खेलाडीहरु स्पष्ट रुपमा प्रशिक्षक अलमुताइरीसँग समस्या नभएको बताउँछन्। तर अलमुताइरीले आफूहरुको व्यक्तिगत स्वतन्त्रता ‘कन्ट्रोल’ गर्न खोजेको उनीहरु बताउँछन्।

'प्रशिक्षकको आगमन पछि त क्लब फुटबलमा हुँदा र व्यक्तिगत जीवनमा पनि अनेक दवाब आएका छन्। यसमा पनि हामी हामीले कुनै प्रतिप्रश्न गरेका छैनौं। न त बाहिर केही भनेका छौं,' खेलाडीको तर्क छ, ' हाम्रो यस मौनताको पटकपटक फाइदा उठाउँदै अनावश्यक दवाब दिँदा पनि हामी चुप बस्यौं।'

तर पछिल्लो घटना क्रममा एकजुट नभए मानसिक दवाब झेल्न नसकिने देखेर प्रशिक्षकसँग छलफलको प्रयास गरेको उनीहरुको भनाइ छ।

यसबारे थप स्पष्ट पार्दै अनन्त तामाङ भन्छन् : फिल्ड भन्दा बाहिर पनि दवाब छ। कसैको कपाल लामो भएको, शरीरमा ट्यायू भएको, इन्टरनेटमा फ्यान्ससँग अन्तरक्रिया गरेको लगायतका विषयमा समेत उहाँलाई समस्या भयो।

विश्वमा फुटबलरहरुको कपाल र ट्याटुलाई सामान्य रुपमा लिइए पनि अलमुताइरीले भने यस्ता विषयमा खेलाडीलाई पेलिरहेको बताइन्छ। अलमुताइरी आउनुअघि नियमित टिममा पर्दै आएका केही खेलाडी यस्तै कारणले टीममा नपरेको पनि एक खेलाडी बताउँछन्।

यस विषयलाई प्रशिक्षक अलमुताइरीले पनि अस्विकार गरेका छैनन्। उनले यो कुरा बन्द प्रशिक्षण सुरु भएको दिन पत्रकार सम्मेलनमा सार्वजनिक रुपमै भनेका थिए। आफूले ट्यायू खोप्ने, सामाजिक सञ्जालमा बडी सो गर्ने खेलाडी नरुचाउने स्पष्ट रुपमा उनले भनेका थिए।

आधारभूत सुविधा माग्दा प्रशिक्षकको रवाफलाई लिएर अहिले पूर्व राष्ट्रिय खेलाडीहरु पनि बोल्न थालेका छन्। भोला सिलवालले ग्राहम रोबर्ट प्रशिक्षक हुँदाको क्षण स्मरण गरेका छन्। खाने बस्ने सुविधा राम्रो नभए ‘कम्प्लेन’ गर्न र त्यसमा आफू साथमा उभिने रोबर्टले बताएको उनले बताएका छन्। उनले अलमुताइरीको ‘क्याम्पबाट निस्केर जा’ भन्नु चाहीँ गलत भएको बताएका छन्।

कार्यसमिति बैठकको माग र एन्फा राजनीतिको कुरा

एन्फा नेतृत्व यस विषयमा मौन छ। अब अगाडि के हुन्छ भन्ने स्पष्ट भएको छैन। थप खेलाडी बोलाएर प्रशिक्षण सुरु गर्दा एन्फा पेलेरै जाने रणनीतिमा भएको देखिन्छ।

रोहित चन्दको टीम (आरसी ३२) जसलाई उनका दाजुले संचालन गर्छन् त्यसको मताधिकारसँग सम्बन्धित विवाद पनि एन्फामा छ। यद्यपि आफ्नो त्यससँग केही सरोकार नरहेको र क्लब दाईले संचालन गर्ने रोहित बताउँछन्।

अर्कोतर्फ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले यस प्रकरणमा केके भएको हो भन्ने बुझ्नका लागि कार्यसमिति बैठकको माग गरेको बताए। यसअघि अलमुताइरीले पंकजविक्रम नेम्बाङकै कारण आफूले प्रशिक्षकबाट राजीनामा दिन लागेको सामाजिक संजालमा लेखेका थिए। तर, उनले राजीनामा भने दिएनन्।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यस प्रकरणबारे छलफल चलिरहेको भन्दै एजेन्डा नबनिइ कार्यसमिति वैठकको अर्थ नरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell