PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमालेसँग किन झस्कियो सत्ता गठबन्धन?



प्रकाश भण्डारी

एमालेसँग किन झस्कियो सत्ता गठबन्धन?

काठमाडौं : सत्ता गठबन्धनले सहमति विपरित नेकपा (एमाले)सँग चुनावी तालमेल गरेकाहरुलाई उम्मेदवारी फिर्ता गर्न पटक पटक अनुरोध गरेको छ। बुधवार मात्रै पाँच दल बाहिरको सहमति फिर्ता लिन अनुरोध गरेको गठबन्धनले शुक्रवार फिर्ता नलिए उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

बुधवार गठबन्धनले ७ बुँदे निर्देशन जारी गरेको थियो। पाँच दलीय गठबन्धनले तालमेलको सहमतिलाई कार्यान्वयन गर्न तल्ला तहका संयन्त्रलाई निर्देशन दिने उक्त निर्णयमा उल्लेख थियो। गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा भागबन्डा गरेर उम्मेदवार उठाएको छ। गठबन्धनकै नेताहरुले महानगर र उपमहानरमा बागी उम्मेदवार उठाएका छन्।

अहिले सत्ता गठबन्धनलाई बागी उम्मेदवार र पाँच दल बाहिरको चुनावी तालमेल रोक्न सकस परिरहेको छ। त्यसका लागि स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार शुक्रवार सम्ममात्रै समय छ। आजसम्म उक्त उम्मेदवारी फिर्ता नभए गठबन्धनलाई चुनौती हुने पाँच दलकै नेताहरु बताउँछन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्ना पार्टीका बागी उम्मेदवारी दिएका नेताहरुलाई मनोनयन फिर्ता लिन बिहीवार नै निर्देशन दिएका थिए। शुक्रवार नेपाली कांग्रेसले बागी उम्मेदवारलाई कारवाही गर्ने निर्णय गरेको थियो।

एमालेसँग किन झस्कियो गठबन्धन?

सत्ता गठबन्धन बलियो रहेको ठाउँमा एमालेले पनि साना दलहरुसँग चुनावी तालमेल गरेको छ। राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी (लोसपा), राप्रपा लगायतसँग एमालेले चुनावी मोर्चा बनाएको छ। गठबन्धनमा अन्तर संघर्ष भएमा आफ्ना पार्टीका उम्मेदवार जित्न सक्ने आंकलन एमालेको छ।

एमालेका नेताहरु गठबन्धनसँग एमाले भिड्नका लागि तयार भएको दाबी गर्छन्। एमालेका केन्द्रीय सदस्य हरिकृष्ण ब्यञ्जनकार एमालेले पहिलाको भन्दा पनि बढी सिट जित्ने दाबी गर्छन्। २०७४ को चुनावमा एमालेले २९४ पालिकामा प्रमुख पद जितेको थियो।

‘२०७४ मा पुरानो संगठन थियो। अहिले महाधिवेशन पछि एमालेको नयाँ संगठन बनेको छ। एमाले व्यवस्थित पार्टी हो भन्ने सबैलाई थाहा छ। त्यसैले पनि हामीले पहिलाको भन्दा धेरै ठाउँमा चुनाव जित्छौँ,’ ब्यञ्जनकारको दाबी छ।

गठबन्धनलाई आफ्नैको डर

सत्ता गठबन्धनले गठबन्धनभित्रै अन्तर्घात हुनसक्ने भन्दै आफ्ना तल्ला कमिटीहरुलाई दैनिकजसो निर्देशन दिइरहेको छ। गठबन्धनका उम्मेदवारविरुद्ध लागे एमालेका उम्मेदवारलाई जित्न सहज हुने भएकाले जसरी पनि तालमेल कायम गराउनुपर्ने दबाबमा सत्ता गठबन्धन छ। सबै पालिकामा चुनावी तालमेल हुन नसक्दा पनि गठबन्धनका सबै ठाउँमा उम्मेदवारको पक्षमा माहोल नबनेको नेताहरुले बताएका छन्।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गंगालाल तुलाधरले कति ठाउँमा गठबन्धनका दलले चुनावी तालमेल गरेका छन् भन्ने यकिन तथ्यांक नभए पनि अनौपचारिक रुपमा धेरै ठाउँमा दलहरु एमालेसँग मिलेको बताए।

‘कतिपय ठाउँमा एमाले र माओवादीका बिचमा समझदारी भएर तालमेल भएको सुनिन्छ। धेरैजसो उनीहरुकै बिचमा हो। एकीकृत समाजवादीको औपचारिक रुपमा छैन। अघोषित रुपमा भएको भए म जान्दिन। यो खारेज भएन भने र एकीकृत समाजवादीलाई हराउने किसिमको योजना बन्यो भने तल सबैले उम्मेदवार त दिएको छदै छन्। भरे सम्म हुने कुरा हो। त्यस्तो हुन्छ जस्तो लाग्छ,’ तुलाधरले भने।

गठबन्धन बाहिर तालमेल खारेज नभएमा एमालेसँगै एकीकृत समाजवादी धेरै ठाउँमा तालमेल गर्ने सम्भावना रहेको एकीकृत समाजवादीका नेताहरु बताउँछन्। उक्त दबाबका कारण पनि गठबन्धनले केन्द्रबाट पटक-पटक निर्देशन जारी गरेको छ।

‘त्यस्तो भयो भने त हामीबाट धेरै हुन्छ हेर्नुस्। त्यतिधेरै टफ पनि छैन तल। हामीले नमिल्नु भन्दा भन्दै पनि तल मिल्न बेर लाउँदैन। जोगिनका लागि एमालेको सबैभन्दा बढी भोट कटाउने हामी हौँ। हामीले जित्ने सुनिश्चितता हुँदा मात्रै एमालेले हार्ने हो। हामीले जित्ने सुनिश्चितता नहुँदा एमालेले नै हो जित्ने,’ गठबन्धनका दलहरु आफ्नाविरुद्ध लागेमा एमालेसँगको तालमेलबारे तुलाधरले भने।

कहाँ छ खतरा?

भरतपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसकै नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्। गृहमन्त्री बालकृष्ण खाणलाई देउवाले बागी उम्मेदवारी फिर्ता गराउन खटाएको भए पनि सफल हुन सकेको छैन। कांग्रेसका बागी उम्मेदवारलाई देउवाले फकाउने र कारवाहीको धम्की एक साथ दिइरहेका छन्।

आफ्नै गृहजिल्लाका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ललाई देउवाले पार्टी हित विपरित काम गरेको भन्दै पार्टीबाटै निस्काशन गरिसके। मल्ल पक्षले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। ललितपुरको वाग्मती गाउँपालिकामा वीरबहादुर लोप्चनका विरुद्ध विष्णु तिमल्सिनाले बागी उम्मेदवारी दिएका छन्।

झापाको कचनकवलमा एमाले र कांग्रेसबिच चुनावी तालमेल भएको छ। एकीकृत समाजवादीले हुम्लामा एमालेसँग तालमेल गरेको छ। सत्ता घटक दलहरुका स्थानीय कमिटीहरुले केन्द्रको निर्णयलाई उल्लंघन गर्दै गठबन्धनबाहिर पनि तालमेल गर्न थालेपछि पाँच दल झस्किएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell