PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

देउवालाई जगन्नाथको जवाफ : म बागी उम्मेदवार हैन, रुखमा पानी हाल्न आफू बली चढ्न तयार छु



पहिलोपोस्ट

देउवालाई जगन्नाथको जवाफ : म बागी उम्मेदवार हैन, रुखमा पानी हाल्न आफू बली चढ्न तयार छु

काठमाडौं : भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका जगन्नाथ पौडेलले आफू पछि नहट्ने बताएका छन्। भरतपुरका जनताको आदेशका कारण आफूले उम्मेदवारी फिर्ता नलिएको पौडेलको दाबी छ।

'मैले नाम फिर्ता जनताको आदेशका कारण नगर्‍या हो,' भरतपुरमा शुक्रवार साँझ आयोजित भेलामा पौडेलले भने, 'म कुनै पनि हिसाबले मेयरमा निर्वाचित नभए पनि मुल्यको राजनीति छाड्दिनँ।'

कांग्रेस केन्द्रले भरतपुर महानगर नेकपा माओवादी केन्द्रलाई छाड्ने निर्णय गरेको थियो। माओवादीबाट यसअघि पनि रेनु दाहाल भरतपुरको मेयर बनेकी थिइन्। यसपटक पनि रेनुलाई नै माओवादीले मेयरको उम्मेदवार बनाएको छ। रेनुलाई सघाउन आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ समेत पौडेललाई फकाउन भरतपुर पुगेका थिए। तर पौडेलले दुबै मन्त्रीको कुरा मानेनन्।

कांग्रेसको विधानमा हँसिया हथौडामा भोट हाल भनेर निर्देशन नभएको पौडेलले बताए। 'नेपाली कांग्रेसले रुख र चारतारे झन्डाको ग्यारेन्टी गरोस्। नेपाली कांग्रेसकको विधानमा हँसिया हथौडामा भोट हाल भनेको छैन,' पौडेलले भने।

पछिल्लोपटक पद्धति मिचेर नेताहरुले आफ्नो नातेदारलाई टिकट बाँड्न थालेको उनले आरोप लगाए। 'आफ्नो मान्छेलाई टिकट दिने। कही भाइलाई दिने कही श्रीमतीलाई दिने कही बहिनीलाई दिने?' उनले भने, 'धेरै सम्भावना छ तपाईँले सुन्नुहोला। हामीलाई कारवाही भएको सूचना आउँला। पञ्चायतमा पनि भएको थियो।'

आफूलाई कारवाहीको कुनै डर नरहेको बरु कांग्रेस बलियो बनाउन बली चढ्न आफू तयार रहेको उनको भनाई छ।

'कारवाहीको डन्डाले रोक्न सक्दैन। हामी कांग्रेस हौं। हामीले रुखमा पानी हाल्नका निमित्त आफू बली चढ्न परे पनि तयार भएर पनि यो अभियान चालेको हो,' उनले भने, 'चितवनमा रुख चिह्नमा कोही लडेको छ भने जगन्नाथलाई देश निकाला गर्नुपर्छ। तर हँसिया हथौडामा भोट हाल भनेर भन्छ भने त्यो हामीलाई मान्य हुनेछैन। हँसिया हथौडामा भोट नहाल भन्दा म बागी हुन्छु?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell