PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विराटनगर महानगरवासीलाई ३० युनिट बिजुली नि:शुल्क गर्ने कांग्रेसको वाचा, के छ संकल्प पत्रमा ?



अनन्तराज न्यौपाने

विराटनगर महानगरवासीलाई ३० युनिट बिजुली नि:शुल्क गर्ने  कांग्रेसको वाचा, के छ संकल्प पत्रमा ?

विराटनगर : नेपाली कांग्रेसले विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने घरधुरीको बिजुलीको बिल तिरिदिने घोषणा गरेको छ।

कांग्रेसको विराटनगर महानगर कार्यसमितिले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा संकल्प पत्र सार्वजनिक गर्दै महानगरमा आफ्नो दल विजयी भएमा ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको हो।

संकल्प पत्र घोषणा सभामा कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले महानगरवासीले ३० युनिटसम्म निःशुल्क विद्युत खपत गर्न पाउनु उनीहरूको मौलिक अधिकार भएको बताए।

‘हामी बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादका अनुयायी हौँ’, प्रत्याशी कोइरालाले भने, ‘बीपीको सपना साकार पार्न हामीले निम्न आय भएका नागरिकको समस्या सम्बोधन गर्नैपर्छ । त्यसैका आधारमा हामीले फ्री विद्युत्को कार्यक्रम अघि सारेका हौँ।’

कोइरालाले आफूले समाजवादको सिद्धान्तमा रहेर चुनावी संकल्पपत्र तयार पारेको दाबी गरे।

उनले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको प्रबन्ध गरिने जानकारी दिए। कोइरालाले महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा सेवा र सामाजिक कार्यमा प्रदान गर्ने प्रतिबद्धता समेत प्रकट गरे।

उनले विराटनगर महानगरपालिकामा भूमिगत पार्किङसहितको २ हजार ५०० क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने अर्को महत्त्वाकांक्षी घोषणा गरेका छन्। संकल्प पत्रमा अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्‍याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने उल्लेख गरिएको छ। साथै सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड ब्याङ्क स्थापना गर्ने बताइएको छ।

संकल्प पत्रमा जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने जानकारी गराइएको छ।

कोइरालाले तारे होटल र कम्तीमा १ सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स, मल वा डिपार्टमेन्टल स्टोरलाई कम्तीमा ५ वर्ष महानगरपालिकाले लिने राजस्वमा ५० प्रतिशत छुट गर्ने घोषणा गरे। उनले आफ्नो दल विजयी भएमा विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्रहालयको निर्माण गर्ने बताए।

‘बिजुली, टेलिफोन, इन्टरनेट लगायतका तारका सञ्जाललाई भूमिगत गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गरिनेछ’, संकल्प  पत्रमा भनिएको छ, ‘रोजगारी र निर्यात वृद्धि गर्ने उद्योग तथा व्यवसायको वर्गीकरण गर्ने गरी निश्चित अवधिसम्म कर छुटको प्रबन्ध गरिनेछ।’

कोइरालाले ट्राफिक सम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी)–सहितको आकासे पुल निर्माण गरिने बताए। ‘विराटनगरमा ट्राफिक जामको समस्या क्रमशः विकराल बन्दै गएको छ। यसका तत्काल वैकल्पिक उपायको आवश्यकता छ। चुनावी विजयपछि हामी यो समस्याको तत्काल सम्बोधन गर्नेछौँ,’ उनले भने।

संकल्प पत्रमा नगरको पूर्वी र पश्चिम सीमामा रहेका केसलिया र सिङ्घिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने कार्यक्रम पनि राखिएको छ। विराटनगरका मध्य भागमा अवस्थित नहरलाई पैदल मार्ग र साइक्लिङ जोनका रूपमा विकास गर्ने बताइएको छ। यस्तै, कला, साहित्य र संगीतको निरन्तर कार्यक्रम संचालनका लागि ‘ओपन स्क्वायर’ निर्माण गर्ने घोषणा समेत गरिएको छ।

साथै विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी)–सम्म यही वर्ष आइपुग्ने कार्गो रेलको सेवालाई समुचित व्यवस्थापन गर्न रेलको यार्डदेखि आईसीपीसम्म पक्की सडक निर्माण गर्ने कार्यक्रम पनि संकल्प पत्रमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell