PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शनिवारबाट आउँदै 'ई –कविता' : नेपालयको शुल्क तिरेर कविता पढाउने प्रयास, कति होला सफल?



पहिलोपोस्ट

शनिवारबाट आउँदै 'ई –कविता' : नेपालयको शुल्क तिरेर कविता पढाउने प्रयास, कति होला सफल?

काठमाडौं : नेपालयले कविताहरूको अनलाइन सञ्चालन गर्ने भएको छ। चर्चित कवि श्रवण मुकारूङसँगको सहकार्यमा यसको सुरुवात हुन लागेको हो। नेपालयले शुरु गर्न लागेको यस कदमलाई 'नेपालय ई-कविता' नामाकरण गरिएको छ। यसका संयोजक र क्युरेटर कवि मुकारूङ रहने नेपालयले जनाएको छ। यस प्लेटफर्ममा कवि मुकारूङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्नेछन्।

साप्ताहिक रुपमा कविता सार्वजनिक गर्ने र निर्धारित शुल्क तिरेर फोन र कम्प्युटरमा पढ्न सकिने व्यवस्था गरेको छ। तोकिएको शुल्कमा कविता पढ्नुका साथै कविकै स्वरमा सुन्न सकिने व्यवस्था हुने नेपालयले जनाएको छ।

‘कोरोना महामारीले हाम्रो सामाजिक गतिविधि र स्वछन्द घुमफिरको स्वतन्त्रतालाई चुनौती दिएको महसुस गरायो। अरु सबै क्षेत्र जस्तै यसले, प्रकाशन र पाठकहरू पनि प्रभावित रहे,' ‘ई–कविता’ को परिकल्पनाबारे नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘कला र साहित्यले हामीलाई कठिन समयमा सान्त्वना दिने माध्यमको रूपमा काम गरेको हुन्छ। हामीले क्वारन्टाइनको परिधिमा आफूलाई सीमित गरेसँगै, अनलाइनमा उपलब्ध खुराकमार्फत् धेरैले आफ्नो साहित्यिक भोकलाई व्यवस्थापन गरेको पायौं।'

अनलाइनबाट कवि, कलाकारले आफ्ना सृजना सहज रुपमा बाँडे यसरी सार्वजनिक हुने सृजनाको व्यवसायिक व्यवस्थापनको टड्कारो आवश्यकताको महसुस भएको उनले सुनाए। त्यसैका आधारमा ‘ई-कविता’को परिकल्पना भएको श्रेष्ठले जानकारी दिए।

कवि श्रवण मुकारुङले लकडाउनका समयमा आफ्नो फेसबुक पेजबाट नियमित रुपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए। त्यही अनुभवका आधारमा ‘ई –कविता’लाई अगाडि बढाइएको हो। ‘प्रकाशनका यस्ता नयाँ आयामले कविता लेखन र पठन संस्कृतिलाई नै नौलो अवसर प्रदान गर्ने कुरामा म आशावादी छु। ‘ई-कविता’ले कविहरूलाई निश्चय पनि गरिमा र सम्मान प्रदान गर्दै सुसुचित बन्ने र किनेर पढ्ने पाठकको संगतमा पनि पुर्‍याउने छ,’ मुकारुङले बताए।

‘ई –कविता’को शुरुवात यही शनिवारदेखि शुरु हुने जनाइएको छ। संयोगवस यो दिन आमाको मुख हेर्ने दिन परेकोले, शृङ्खलाको पहिलो कविताको रुपमा, आमाहरु र अग्रजहरु प्रति सम्मान एवं समर्पण स्वरूप कवि गोपाल प्रसाद रिमालको 'आमा' शीर्षकको प्रसिद्ध कवितालाई कवि श्रवण मुकारूङले वाचन गरेका छन्।

यस शृंखलामा नेपालीभाषाका कविहरूले अप्रकाशित नयाँ सृजनाहरू साप्ताहिक रुपमा पढ्न र वाचनमार्फत् आफ्नो काव्यात्मक साहित्यिक प्यासलाई मेट्न सक्नेछन्।

शुरुको महिना पाठक तथा श्रोताले कविताहरू आफ्नो नाम दर्ता गरेर नि:शुल्क पढ्न र सुन्न पाउने छन्। त्यसपछि नि:शुल्क पढ्न पाउने कोटा महिनाको एउटा कवितामा सीमित गरिने बताइएको छ। र, सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नुपर्नेछ ।

'कविता विधालाई व्यवसायिक बनाउने यो हाम्रो सुरुवाती प्रयास हो। विभिन्न अनलाइन श्रोताहरूमा नि:शुल्क उपलब्ध कविताहरूलाई सशुल्क पठन संस्कारमा परिणत गर्न चुनौतीपूर्ण हुने कटु तथ्य हामीले बुझेका छौँ,' नेपालयका किरण श्रेष्ठले भने, 'यो चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने विश्वासका साथ योजना सहित ई-कविता सुरु गरिएको हो। यस अभियानलाई कविता मन पराउनु हुने सचेत पाठकहरूले वार्षिक ग्राहक बनेर सहयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु।'

सार्वजनिक भएको ई-कवितालाई नेपालयको पेज मार्फत वा यो लिंकमार्फत् भेट्न सकिन्छ। 

‘ई-कविता’मा उपलब्ध हरेक कविता रु. १५ मा उपलब्ध हुने नेपालयले जनाएको छ। साथै रु. ५ सय२५ को सहुलियत मूल्यमा यसको वार्षिक ग्राहक हुने व्यवस्था उपलब्ध छ। विदेशमा रहेका पाठक श्रोतालाई भने ५ अमेरिकी डलरमा वार्षिक ग्राहक सुविधा उपलब्ध गराइएको नेपालयका अर्पण शर्माले जानकारी दिए।

अनलाइनमार्फत् कवितालाई व्यवसायिक रुपमा अगाडि बढाउन नेपालयले थालेको यो प्रयास कति सफल होला? जवाफका लागि केही समय कुर्नै पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell