PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

बागी उम्मेदवारी फिर्ता नलिएका बिमल भन्छन्, ‘कारबाही मलाई हैन देउवालाई गर्नुपर्छ’



रिना थापा

बागी उम्मेदवारी फिर्ता नलिएका बिमल भन्छन्, ‘कारबाही मलाई हैन देउवालाई गर्नुपर्छ’

पोखराः सत्ता गठबन्धनको शुक्रबार बिहानको बैठकले सहमति विपरीत स्थानीय तहमा उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दियो। उम्मेदवारी फिर्ता नगरे सम्बन्धित दलले कारबाही गर्ने गठबन्धनमा सहमति भयो।

पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत पोखराबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमल कार्कीले भने आफ्नो उम्मेदवारी फिर्ता गरेनन्।

पोखरा महानगरपालिकामा गठबन्धनको विरोध गर्दै तीन कांग्रेस नेताले बागी उम्मेदवारी दिएका थिए। ऋषि सापकोटा, नन्दप्रसाद तिवारी र कार्की गरी तीन जनाले उम्मेदवारी दिएका छन्। कार्कीबाहेक सापकोटा र नन्दप्रसादले उम्मेदवारी फिर्ता लिएका छन्।

मनोनयन फिर्ताका लागि तोकेको समयवधि सकिएको छ। अब, उम्मेदवारी फिर्ता लिन मिल्दैन।

पार्टीले गलत निर्णय गरेको भन्दै उनले उम्मेदवारी फिर्ता नगरेको बताए।

'नेतृत्वले गलत निर्णय गर्छ भने गलतलाई गलत नै भन्न सक्नुपर्छ कार्यकर्ता भएर म त्यो गलतलाई शिरोधार्य गर्न चाहिन,' उनले भने ।

केन्द्रबाट उम्मेदवारी फिर्ता लिन दबाब आए पनि आफू आफ्नो अडानमा कायम रहेको उनले सुनाए।

पार्टीले कारबाही गरे पनि कुनै आपत्ति नहुने उनको भनाई छ। 'माथिबाट उम्मेदवारी फिर्ता लिन दबाब आएको थियो तर म कुनै पनि हाल्तमा लिन्नँ भनेँ। कारबाही हामीलाई होइन पार्टी सभापति देउवालाई हुनुपर्छ,' उनले भने, 'गठबन्धनको नाम पार्टीलाई आहुती हाल्नुभयो कार्यकर्तालाई जबर्जस्ती कलममा भोट हाल भन्ने अवस्था ल्याउनुभयो। यो अवस्थाका  लागि मैले विद्रोह गरेको हुँ कुनै अफ्सोस छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell