हेटौँडाः चुनावी तालमेलमा चित्त नबुझाएर बागी तथा स्वतन्त्र उम्मेद्वारी दिएका नेता कार्यकर्तालाई उम्मेद्वारी फिर्ता गर्न दबाब बढेसँगै मकवापुरमा धमाधम उम्मेद्वारी फिर्ता भएको छ।
दलको टिकट नपाएको भन्दै कांग्रेस (विपी) को नामबाट बागी उम्मेद्वारी दिएका छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि गठबन्धन विपरीत उम्मेद्वारी दर्ता गराएको छ।
कांग्रेस र माओवादी केन्द्रले ५ दलीय गठबन्धनका आधिकारिक उम्मेद्वारविरुद्ध मनोनयन दर्ता भएको गर्ने कार्य भन्दै फिर्ता लिन निर्देशन दिएको थियो। तर, कतिपय गाउँपालिकामा बागी उम्मेद्वारी दिनेहरुले फिर्ता लिएनन्।
कहाँ फिर्ता?
मनहरि गाउँपालिका अध्यक्षमा बागी उम्मेदवार दिएका कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपानले उम्मेद्वारी फिर्ता लिएका छन्। उपाध्यक्षमा कांग्रेसबाटै उम्मेदवारी दिएकी जानुकी लामाले पनि फिर्ता लिएकी छन्।
तर, गठबन्धनविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका एकीकृत समाजवादीबाट नारायण श्रेष्ठ र उपाध्यक्षमा मनिला विष्टले उम्मेदवारी फिर्ता लिएनन्।
आधिकारिक उम्मेद्वार भने अध्यक्षमा कांग्रेसबाट रञ्जन कालाखेती र उपाध्यक्ष माओवादी केन्द्रकी रेखा पुलामी छन्।
वाग्मती गाउँपालिका अध्यक्षमा पनि कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामाले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएका छन्। गठबन्धनबाट माओवादी केन्द्रका सर्केश घलानले अध्यक्षमा र कांग्रेसबाट फणिन्द्र तिमल्सिनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
राक्सिराङमा एकीकृत समाजवादीका कृष्णबहादुर प्रजा र उपाध्यक्षमा उम्मेदवार दिएकी मिलनकुमारी तामाङले फिर्ता लिएका छन्। कांग्रेसकी निर्मला हिम्डुङले पनि मनोनयन फिर्ता गरेकी छन्। पालिका अध्यक्षमा कांग्रेसबाट राजकुमार मल्ल माओवादी केन्द्रबाट वनस्तम थिङ आधिकारिक उम्मेदवार हुन्।
बकैयामा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएकी लक्ष्मीमाया माझी, उपप्रमुखमा भक्तबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन्। गाउँपालिकामा अध्यक्षमा कांग्रेसबाट धर्मराज लामिछाने र उपाध्यक्षमा छायाँ अधिकारीले उम्मेदवारी दिएका थिए। अधिकारीको उम्मेदवारी भने खारेज भइसकेको छ। कृषि गणना कार्यक्रममा गणक पदमा कार्यरत रहेको प्रमाण फेला परेपछि उम्मेदवारी खारेज भएको हो।
हेटौंडा उपमहानगरपालिकामा मेयर र उपमेयरमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका दिपा लामा र हरिहर खतिवडाले उम्मेद्वारी फिर्ता लिएका छन्। उपमहानगरमा गठबन्धनबाट प्रमुखमा एकीकृत समाजवादीबाट मीना लामा र उपप्रमुखमा कांग्रेसबाट राजेश बानियाँ उम्मेदवार छन्।
कहाँ कायम?
इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनविरुद्ध उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले मनोनयन फिर्ता गरेनन्। अध्यक्षमा एकीकृत समाजवादीका जीवन लामा र उपाध्यक्षमा कांग्रेसका निर्मला रुम्बा आधिकारिक उम्मेदवार हुन। तर गठबन्धनविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीबाट देवकुमार लामा, कांग्रेसका विश्व लामाले नाम फिर्ता लिएनन्। उपाध्यक्षमा जसपाबाट रस्मिला घिसिङको पनि मनोनयन कायमै छ।
कैलाश गाउँपालिकामा गठबन्धनविरुद्धका उम्मेदवार टंकबहादुर मोक्तानले नाम फिर्ता गरेनन्। गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रलाई भाग परेको थियो।