PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सिन्धुपाल्चोक गठबन्धन भताभुङ्ग: सुनकोशीमा एमाले र माओवादी तालमेल, मेलम्चीमा कांग्रेस र राप्रपा



पहिलोपोस्ट

सिन्धुपाल्चोक गठबन्धन भताभुङ्ग: सुनकोशीमा एमाले र माओवादी तालमेल, मेलम्चीमा कांग्रेस र राप्रपा

  • फूलमान तामाङ-

नवलपुर: आसन्न स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा सत्ता गठबन्धनभित्र आवद्ध नभएका दलसँग पनि चुनावी तालमेल भएको छ। पाँच दलीय गठबन्धनले शुक्रबार बिहान गठबन्धनबाहिरको तालमेल खारेज गर्ने भने पनि सिन्धुपाल्चोकमा उक्त निर्णय कार्यान्वयन भएन।

सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ। मेलम्चीमा कांग्रेस र राप्रपाले तालमेल गरेका छन्। सुनकोशीमा यसअघि कांग्रेसका श्रवण जिसी अध्यक्षमा निर्वाचित भएका थिए।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनको अन्तिम दिन यी दुई दलले गठबन्धनको सहमति गरेका हुन्। गठबन्धनमा एमालेले गाउँपालिका अध्यक्ष पाएको छ भने माओवादीले उपाध्यक्ष पाएको छ। माओवादीबाट अध्यक्षका उम्मेदवार बनेका कृष्णकुमारी कुँवर र एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेकी मन्जु नेपालले उम्मेदवारी फिर्ता लिएका छन्।

अब एमालेले अध्यक्षमा टपिन्द्र तिमलसिना र माओवादीले उपाध्यक्षमा दुर्गा थापालाई अघि सार्दै चुनावी मैदानमा होमिएको छ।

मेलम्ची नगरपालिकामा सत्ता गठबन्धन दल कांग्रेसले राप्रपासँग तालमेल गर्ने सहमति गरेको छ। मेलम्चीमा कांग्रेसले मेयर पद पाएको छ भने राप्रपाले उपमेयर।

कांग्रेसबाट क्षेत्रीय सभापतिसमेत रहेका आइतमान तामाङ मेयरका उम्मेदवार छन् भने राप्रपाबाट क्षेत्रीय अध्यक्ष कुमारी स्याङतान उपमेयरको उम्मेदवार बनेकी छिन्।

यसअघि कांग्रेसबाट उपप्रमुख पदको उम्मेदवार बनेकी साविता गुरुङले उम्मेदवारी फिर्ता लिएकी छन्। राप्रपाबाट प्रमुख पदका उम्मेदवार शेषबहादुर तामाङले उम्मेदवारी फिर्ता गरे।

मेलम्चीमा सत्ता गठबन्धनभित्र माओवादी केन्द्र र समाजवादीबीच मात्र तालमेल भएको छ। समाजवादीबाट नानीराम चौलागाईं मेयरमा र उपमेयरमा माओवादी केन्द्रबाट देवेन्द्र घोरासैनी चुनावी मैदानमा छन्।

एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ। एमालेबाट मेयरमा बालकृष्ण देउजाले उम्मेदवारी दिएका छन्।

यता चौतारामा भने सामजवादी र माओवादीबीच तालमेल हुने भएको छ। माओवादीले मेयरको भाग पाउँदा समाजवादीले उपमेयरको भाग पाएको छ। माओवादीबाट सभामुख अग्निप्रसाद सापकोटाका भाई कृष्णप्रसाद सापकोटा मेयरमा र समाजवादीबाट सीता थापा उपमेयरमा तालमेल भएर चुनावी मैदानमा उत्रिएका हुन्।

कांग्रेस र एमाले भने एक्लाएक्लै चुनावी मैदानमा छ।

जुगल गाउँपालिकामा भने गठबन्धनबीच तालमेल भएको छ। माओवादीले अध्यक्ष पाउँदा कांग्रेसले उपाध्यक्ष पाएको छ। माओवादीबाट रेशम स्याङबो अध्यक्षका उम्मेदवार छन्। कांग्रेसले उपाध्यक्षमा हिमाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell