PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व हत्याउन दलबीच रस्साकस्सी, कांग्रेसभित्रको संघर्षले कसलाई पुग्ला फाइदा?



पी बी खड्का

वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व हत्याउन दलबीच रस्साकस्सी, कांग्रेसभित्रको संघर्षले कसलाई पुग्ला फाइदा?

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको नेतृत्वका लागि स्थानीय तह निर्वाचनमा १७ जनाले उम्मेदवारी दिएका छन्। नगरको नेतृत्व लिन सत्तारुढ गठबन्धनको निर्णयलाई समेत लत्याउँदै दलहरुले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन्। सँगै कार्यकर्ताहरुले घरदैलो सुरु गरिसकेका छन्।

प्रदेशकै सुविधा सम्पन्न र ठूलो नगरपालिका भएले पनि यस नगरपालिकाको नेतृत्व लिन दलहरु तम्सिएका छन्। अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट उपप्रमुखमा विजयी भएकी मोहनमाया ढकाललाई यसपटक प्रुमख पदमा अघि सारिएको छ। २०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट नगर प्रमुख पदमा देवकुमार सुवेदी निर्वाचित भएका थिए भने नगर उपप्रमुखमा ढकाल निर्वाचित बनेकी थिइन्।

अघिल्लो निर्वाचनमा ढकालले उपप्रमुख पदका लागि १६ हजार ६८ मत ल्याउँदै जितेकी थिइन्। उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मतप्राप्त गरेकी थिइन्। प्रतिस्पर्धीभन्दा झण्डै दुई हजार बढी मत ल्याएर निर्वाचित बनेकी ढकाललाई पाँच वर्षको कार्यकाल र जनता समक्ष लोकप्रियताका दृष्टिकोणबाट पनि नगर प्रमुख पद सहजै जित हात पार्न सकिन्छ भन्ने आकलन एमालेको छ।

यस पटकको निर्वाचन जित्न आफूलाई सहज हुने विश्वास उम्मेदवार ढकालको छ।

‘उपप्रमुख हुँदा मेरो पाँच वर्षे कार्यकाल विवादरहित र उपलब्धिमूलक रहयो’ उनले भनिन्, ‘जनताले मुल्याङ्कन गरेर भए पनि मलाई भोट दिएर जिताउनुहुन्छ भन्नेमा ढुक्क छु।’

उपप्रमुख रहँदाको पाँच वर्षे कामको प्रभाव र महिलाहरुको भोट ढकाललाई आउने एमालेको अनुमान छ। तर, ढकाललाई जित्न सोचे जस्तो सहजभने पक्कै छैन्।

एमालेबाट टुक्रिएको नेकपा (एकीकृत समाजवादी) बाट धनकुमारी शाही  र स्वतन्त्र उम्मेदवार चिन्तामणि शर्मा उनको तगारोका रुपमा देखा परेका छन्। ढकालको मत एमालेबाट विभाजित बनेर गठन भएको समाजवादी र स्वतन्त्र उम्मेदवार शर्माले काट्ने हुँदा ढकाललाई सकस थपिएको छ।

त्यस्तै, नेपाली कांग्रेसले तर्फबाट वीरेन्द्रनगर नगरको प्रमुख पदमा उपेन्द्र खड्कालाई अघि सारेको छ। कांग्रेसभित्रको चरम गुटबन्दीले निर्णय गर्नै मुस्किल परेको अवस्थामा कांग्रेसको नगर सभापति समेत रहेका खड्कालाई उम्मेदवार बनाइएको हो।

निर्वाचन जित्ने आकलनसहित गठबन्धन तोडेको सुर्खेत कांग्रेसले आफ्नै इतर पक्ष तगारोका रुपमा उत्रिएको संस्थापन पक्षको बुझाई छ। कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच भागबन्डाको खिचातानी हुँदा आफ्नैबाट मत नआउने हो कि भन्ने त्रास खड्कालाई छ।

यद्यपि, पार्टीको महाधिवेशन जस्तो नभएकाले निर्वाचनमा सघाउने झिनो विश्वास भने यो पक्षसँग कायम छ।

‘पार्टीको आन्तरिक महाधिवेशन जस्तो निर्वाचन नभएकाले विश्वास छ कांग्रेस एक ढिक्का हुन्छ नै, मलाई अन्य पार्टीका नेताकार्यकर्ताले पनि विश्वास गरेर भोट दिनुहुन्छ,’ उम्मेदवार खड्काले भने।

सुर्खेत कांग्रेसमा संस्थापन पक्षका उपसभापति पूर्णबहादुर खड्का र कांग्रेस नेता ह्दयराम थानीबीच पार्टीभित्र दाउपेच हुँदै आएको छ भने थानी पक्षले एकलौटी गरेको भन्दै यसअघि नै ४० प्रतिशत भाग पाउनुपर्ने उनीहरुको माग रहँदै आएको छ। थानी पक्षका नेता कार्यकर्ता गुट भेला गरेर आगामी रणनीति तयार गरिरहेको छ।

जसले गर्दा पनि उम्मेदवार बनेका खड्कालाई दुवै पक्षलाई मिलाएर लैजाने चुनौती छ। उम्मेदवार खड्कालाई कुशल नेतृत्वकर्ताका रुपमा बुझेको कांग्रेसले युवाहरुको आकर्षण रहेकाले समेत निर्वाचन जितिने अनुमान गरेको छ।

उपसभापति खड्का र थानीबीचको दाउपेचले हालका उम्मेदवार आंशकित बनेका छन्। नगर प्रुमख पदका उम्मेदवार खड्का उपसभाति खड्का पक्षका हुन्।

त्यसैगरी, वीरेन्द्रनगरको नगर प्रमुख पदमा राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरीले समेत उम्मेदवारी दिएका छन्। गिरीले यसअघि समेत वीरेन्द्रनगरको प्रधानपञ्च र प्रुमख भएर काम गरिसकेका थिए। नम्र स्वभावका गिरीलाई सुर्खेती राजनीतिमा बौद्धिक र सक्षम नेतृत्वका रुपमा लिइन्छ। जसले गर्दा पनि केन्द्रीय उपाध्यक्ष समेत रहेका गिरीले यसअघि नगरको प्रमुख पद सम्हालेको अुनुभवका आधारमा पनि यस पटकको निर्वाचन सहजै जित्ने उनी बताउँछन्।

‘यसअघि मैले नगरको मुख्य जिम्मेवारी सम्हालेर काम गरेको अनुभव छ’ उनी भन्छन्,‘अहिले पनि मैले सुरुवात गरेका योजना र विकास देखेरै नै जनताले विश्वास गरेर आफ्नो अमूल्य मत दिनुहुन्छ भन्ने लाग्छ।’

यता, माओवादी केन्द्रका तर्फबाट राजेन्द्रदेव गिरीले नगर प्रमुख पदमा उम्मेदवारी दिएका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा तेस्रो स्थानमा सीमित बनेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको तुलनामा न्यून देखिन्छ। २०७४ मा माओवादी केन्द्रका तर्फबाट नगर प्रुमखको उम्मेदवार बनेका रत्नबहादुर गाहाले पाँच हजार दुई सय ३७ मतमात्रै ल्याएका थिए।

जसले गर्दा माओवादी केन्द्र फेरि पनि तेस्रो शक्तिका रुपमा सीमित बन्ने देखिन्छ। यद्यपि, पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको भन्दै जनताले पनि विश्वास गर्ने उम्मेदवार गिरीको भनाइ छ।

‘मलाई पार्टीले चुनाव जित्न सक्छ भनेर उम्मेदवार बनाएको छ। सोही अनुसार जनताले पनि विश्वास गरेर मलाई मत हाल्नु हुनेछ,’ उनले भने,‘नगरको सडक, खानेपानी जस्ता विकास निर्माणको कामलाई दीर्घकालिन र पूर्णता दिन मेरो उम्मेदवारी हो।’

त्यस्तै, वीरेन्द्रनगरको प्रमुख पदमा एकीकृत समाजवादीबाट धनकुमारी शाही, जनता समाजवादी पार्टीको तर्फबाट गगनबहादुर सारु, राष्ट्रिय जनमोर्चाको तर्फबाट विष्णुप्रसाद शर्मा, नेपाल मजदुर किसान पार्टीको तर्फबाट गोविन्दनाथ योगी, राष्ट्रिय नागरिक पार्टीको तर्फबाट टीकाराम रेग्मी, नेपाल दलित पार्टीको तर्फबाट निलकण्ठ भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट टंकप्रसाद रेग्मी, नेपाल परिवार दलको तर्फबाट दिनेशप्रसाद काफ्लेले नगर प्रमुखको लागि उम्मेदवारी दिएका छन्।

सोही पदका लागि पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। वीरेन्द्रनगरकाका फष्ट बहादुर हमाल, चिन्तामणि शर्मा, भीमप्रसाद शर्मा, सिद्धबहादुर खड्का र उमानन्द पंगालीले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन्।

२०७४ को निर्वाचन हेर्दा स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दहालले बाहेक अन्य साना दल र व्यक्तिले एक हजार बढी मत ल्याउन कसैले सकेका थिएनन्। जसले गर्दा पनि यसपटक वीरेन्द्रनगरको प्रमुख पदमा नेपाली कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने अड्कल गर्न थालिएको छ।

अघिल्लो निर्वाचनमा कांग्रेसका देवकुमार सुवेदीले १४ हजार चार सय पाँचमत ल्याएर नगर प्रुमख पदमा विजयी भएका थिए भने उनको प्रतिद्वन्दी एमालेका बालाराम शर्माले १३ हजार आठ सय ९९ मत ल्याएर पराजित भएका थिए। यस पटकको निर्वाचनमा ६७ हजार ५७ मतदाता रहेका छन्। पाँच वर्षपछि थपिएका १६ हजार चार सय २० मतदाताको मत पनि निर्णायक हुनेछन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell