PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

‘लो प्रोफाइल’मा बसेकी उपप्रमुख मञ्जु र अवसर पाएकी कोपिलाबीचको प्रतिस्पर्धा कस्तो होला?



रिना थापा

‘लो प्रोफाइल’मा बसेकी उपप्रमुख मञ्जु र अवसर पाएकी कोपिलाबीचको प्रतिस्पर्धा कस्तो होला?

पोखरा: स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरका लागि उपप्रमुखको नेतृत्व हाँक्न चुनावी मैदानमा होमिँदै छन् मञ्जुदेवी गुरुङ र कोपिला रानाभाट। मञ्जु नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट मैदानमा छिन् भने कोपिला नेपाली कांग्रेसबाट।

एमालेबाट चुनावी मैदानमा होमिएकी मञ्जुले उपप्रमुख भएर पाँच वर्ष महानगरमा कार्यसम्पादन गरिसकेकी छन्। उनी पुन: उपप्रमुख पदमा नै लड्न लागेकी छिन्। यता कोपिलाले भने महानगरमा परिचय बनाउने प्रयासमा छिन्।

अघिल्लो निर्वाचनमा १२ हजार मतान्तरले विजयी भएकी मञ्जुदेवीले अहिले नागरिकको पुनः भरोसा जित्न सक्छिन् वा सक्दिनन् हेर्न बाँकी छ। मञ्जु अघिल्लो निर्वाचनमा ५६ हजार ४४८ मत ल्याएर उपप्रमुखमा विजयी भएकी थिइन्। कांग्रेसबाट उपप्रमुखमा लडेकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत पाएकी थिइन्।

आसन्न निर्वाचनका लागि पाँच वर्षे नेतृत्व सम्हालेकी मञ्जुलाई प्रमुख पदमा एमालेबाट बलियो उम्मेदवार मानिएको थियो। प्रमुख पदका लागि मञ्जुले आकांक्षा राख्नु पनि स्वभाविक थियो। यद्यपि, प्रमुख पदमा भने उनले उम्मेदवारी दिन पाइनन्। उनलाई पार्टीले पुन: उपप्रमुखमा नै दोहोर्‍याउने निर्णय गर्‍यो। सुरुवातमा उपप्रमुख पद लिन अस्वीकार गरेकी मञ्जुले पार्टीभित्रकै जोडका कारण पद स्वीकार गरेको उनी निकटहरु बताउँछन्।

मञ्जुको राष्ट्रपति विद्यादेवी भण्डारीसँग मितिनीको सम्बन्ध छ। उनी निकट व्यक्तिका अनुसार पुन: उपप्रमुखमा दोहोरिन उनलाई शीतल निवासको जोड रहेको बताइन्छ। 

एमालेको बलियो पकड रहेको कास्कीमा मञ्जु चुनावमा होमिँदा उनको पहिचान पार्टीमामात्र सीमित छैन। लामो समयदेखि एमाले राजनीतिमा सक्रिय र पाँच वर्ष उपप्रमुखको अनुभवले नै उनलाई बलियो उम्मेदवार बनाएको छ। यस्तै जनजाति समुदायको प्रतिनिधित्व गरेकी उनले पोखरामा बाहुल्य रहेको गुरुङ समुदायको मत तान्न सक्ने क्षमता राख्छिन्। आधा दर्जन बढी गुरुङ समुदायसम्बद्ध संस्थामा आबद्ध रहेकी मञ्जु २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिबाट प्रभावित थिइन् उनी।

२०५० सालमा अखिल नेपाल महिला संघ (अनेम) को सदस्यता लिएपछि अनौपचारिक रुपमा राजनीतिक यात्रा सुरु गरेकी मञ्जुले २०५१ सालदेखि नै पाँच वर्ष अनेम संघ नगर समिति पोखराको सल्लाहाकार सदस्यको अनुभव लिइन्। त्यही समयदेखि एमालेमा जोडिएकी मञ्जुले २०५५ मा वडा कमिटी सदस्य बनेर औपचारिकरुपमा राजनीतिमा प्रवेश गरिन्।

उनी पोखरा महानगर वडा ८ को वडा कमिटी सदस्य भएर काम गरिरहँदा कृष्णबहादुर थापाले तत्कालीन पोखरा उपमहानगरपालिकाको नेतृत्व समालिरहेका थिए। अहिलेको निर्वाचनमा दुवै प्रमुख र उपप्रमुखको नेतृत्व समाल्न मैदानमा छन्।

अनेम संघ नगर समितिको सचिव, एमाले जिल्ला कमिटी कास्कीको आर्थिक विभाग सदस्य, पार्टी क्षेत्र नं ३ को क्षेत्रीय सचिवालय सदस्य, जिल्ला कमिटीको सचिवालय सदस्यको अनुभव हुँदै अनेमाको कास्की जिल्ला समितिको कोषाध्यक्ष भएको अनुभव उनीसँग छ। त्यसैले पनि उनको सक्रियता र अनुभवको आधारमा उनलाई बलियो उम्मेदवार मानिन्छन्।

सोही अनुभव लिएर पुनः एकपटक मैदानमा छिन् मञ्जु। विवादरहित कार्यकाल बिताएकी मञ्जु पोखरेलीका लागि नौलो अनुहार नभए पनि नागरिकमाझ पुग्न नसकेकी उपप्रमुख मानिछिन्। लो प्रोफाइल बस्ने मञ्जुको स्वभाव राजनीतिक यात्राका लागि राम्रो नभएको एक एमाले नेता सुनाउँछन्।

‘उहाँ विवादमा आउन नचाहने, विवादित विषयमा हात नै नहाल्ने,बोल्न नखोज्ने स्वभावको हुनुहुन्छ,’ ती नेताले भने, ‘पाँच वर्षको कार्यकालमा उहाँ नागरिकसँग परिचित भएर पुग्न सक्नुभएन।’

+++

यता गठबन्धनबाट उपप्रमुखकी उम्मेदवार कोपिला रानाभाट भने पोखराका लागि नयाँ अनुहार हुन्। कोपिलाको लागि यो अवसर पार्टीले अन्तिम समयमा आएर दिएको थियो। उनले मनोनयन दर्ता गराउनु एक घण्टा अगाडिसम्म उपप्रमुखमा सुरेन्द्रमान बिजुक्छे कांग्रेसबाट घोषित उम्मेदवार थिए। तर, पार्टीले निर्णय बदलेर रामचन्द्र पौडेल निकट रहेकी कोपिलालाई उपप्रमुखको टिकट दियो।

कांग्रेस कास्कीका नेताहरुले गठबन्धन भए उपप्रमुख पौडेल पक्षले पाउनु पर्ने बताएका थिए। बिजुक्छे देउवा पक्षका नेता हुन्।

पार्टीभित्र र महिला संघमा आबद्ध रहेकी कोपिलाको लागि यो नयाँ अवसर हो। २०३५ सालदेखि नेपाल विद्यार्थी संघको सक्रिय सदस्यको रुपमा राजनीतिमा प्रवेश गरेकी कोपिलाले २०५९ सालमा  शाही शासनविरुद्धको आन्दोलनमा होमिँदा बन्दीगृहमा पुगेकी थिइन्। २०६२-६३ को जनआन्दोलनमा नेपाल महिला संघ कास्कीको नेतृत्व गर्दै काठमाडौंमा १९ दिने आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी उनले २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन लेखनाथ वडा ५ मा  सदस्यमा निर्वाचित भएकी थिइन्।

यस्तै, कोपिलाले भवानी कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्य, पारालिगल कास्कीको अध्यक्ष, महिला न्यायिक मञ्च कास्कीको अध्यक्ष, महिला सञ्जाल लेखनाथको अध्यक्ष र अन्तरपार्टी महिला सञ्जाल कास्कीको संस्थापक अध्यक्षको रुपमा काम गरेको अनुभव बटुलेकी छिन्। आफ्नो जीवन राजनीतिमा समर्पण गरेकी कोपिला शालिन नेता मानिन्छन्।

‘उहाँ आफ्नो जीवन राजनीतिमा समर्पण गरेको व्यक्ति हुनुहुन्छ। नेतृत्व गर्ने क्षमता भएको मान्छे हो उहाँ,’ निकट एक नेताले भने।

एमालेको वर्चश्व रहेको पोखरामा उपप्रमुखमा कांग्रेसबाट कोपिलालाई जित हासिल गर्न भने कठिन छ। कोपिलालाई जिताउन गठबन्धनको भूमिका अहम हुनेछ।

यसबाहेक उनको बलियो पक्ष भनेको उनी लेखनाथबासी हुन्। तत्कालीन लेखनाथ नगरपालिका पोखरामा गाभिएपछि लेखनाथबासीको आफ्नै असन्तुष्टि छ। विजयपुर पारी पोखरा महानगरले पोखरा नै नसोचेको नागरिकले गुनासो पोख्दै आइरहँदा लेखनाथले आफ्नो क्षेत्रकोलाई उपप्रमुख बनाउने अवसर पाएको छ।

लेखानथबासीको गुनासोले आसन्न निर्वाचनको मतपरिणाममा फेरबदल हुने आशा कांग्रेसभित्रकै नेताले राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell