PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेसमा कम्युनिस्ट शासन: आफूलाई प्रधानमन्त्री बनाएको दललाई जिताउन रुखमा बन्चरो हान्दै देउवा



नेत्र तामाङ

कांग्रेसमा कम्युनिस्ट शासन: आफूलाई प्रधानमन्त्री बनाएको दललाई जिताउन रुखमा बन्चरो हान्दै देउवा
फाइल फोटो

काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो कदम हेर्ने हो भने उनी कम्युनिस्ट तानाशाहभन्दा पनि कडा देखिन थालेका छन्। आफूलाई प्रधानमन्त्री बनाएको दलका नेता कार्यकर्ता जोगाउन आफ्नै पार्टी कांग्रेसका कार्यकर्तालाई धमाधम अनुशासनको बन्चरो हान्न थालेका छन् देउवाले।

महाधिवेशनबाट रन्किएका देउवाले आफ्नै गृह जिल्लाबाट कारबाही थाले। सुदूरपश्चिमका प्रदेश सदस्यसमेत रहेका कर्ण मल्ललाई साधारण सदस्यसमेत नरहने गरी देउवाले कारबाही गरिसकेका छन्। पार्टीमा पेलिएपछि मल्लले कांग्रेस बीपीबाट एमालेसँग चुनावी तालमेल गरेर जाने निर्णय गरे। त्यसैको दण्ड दिन अनुशासनको कारबाही चलाए देउवाले।

यसअघि रामचन्द्र पौडेलको अनुरोधमा देउवाले तनहुँका नेता गोविन्दराज जोशीलाई कांग्रेसबाट निष्कासन गरेका थिए।

स्थानीय चुनाव नजिकिएपछि सभापति देउवा मैमत्त भएर कार्यकर्ताको मर्ममाथि पोखिन थालेका छन्। यसमा कांग्रेसका महामन्त्री गगन थापा हो मा हो गर्ने पात्रका रुपमा देखिएका छन्। बिहीबार देउवाले बागी उम्मेदवारलाई समयमै उम्मेदवारी फिर्ता लिन अपिल गरे। कसैले मान्ने अवस्था नदेखिएपछि शुक्रबार बिहानै विधान सम्झाउँदै उम्मेदवारी फिर्ता नलिनेलाई कारबाहीको दण्ड बर्साउने चेतावनी दिए।

बागी उम्मेदवारी फिर्ता गराउन देउवाले ठाउँठाउँमा आफ्ना दूत खटाएका थिए। विषेशगरि चितवनको भरतपुरमा गृहमन्त्री बालकृष्ण खाणलाई नै पठाए। त्यहाँका मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई मनाउन नसकेपछि खाण खुसुक्क काठमाडौं फर्के। खाण काठमाडौं आइनपुग्दै पौडेल चितवनमा आफ्नो उम्मेदवारीबारे प्रस्टीकरण दिए -रुख बचाउनका लागि म बली दिन तयार छु।

रुख चिन्हको उम्मेदवारविरुद्ध आफू उभिएको भए बागी भन्न मिल्ने उनको तर्क थियो। हँसिया हथौडामा भोट नहाल भन्दा कुनै तवरले बागी नहुने पौडेलले दाबी गरे।

'कारबाहीको डन्डाले रोक्न सक्दैन। हामी कांग्रेस हौँ। हामीले रुखमा पानी हाल्नका निम्ति आफू बली चढ्न परे पनि तयार भएर पनि यो अभियान चालेको हो,' उनले भने, 'चितवनमा रुख चिह्नमा कोही लडेको छ भने जगन्नाथलाई देश निकाला गर्नुपर्छ। तर हँसिया हथौडामा भोट हाल भनेर भन्छ भने त्यो हामीलाई मान्य हुनेछैन। हँसिया हथौडामा भोट नहाल भन्दा म बागी हुन्छु?'

यता पोखराका बागीले पनि उम्मेदवारी फिर्ता लिएनन्। पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत पोखराबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमल कार्कीले भने आफ्नो उम्मेदवारी फिर्ता गरेनन्।

'नेतृत्वले गलत निर्णय गर्छ भने गलतलाई गलत नै भन्न सक्नुपर्छ कार्यकर्ता भएर म त्यो गलतलाई शिरोधार्य गर्न चाहिन,' उनले भने।

केन्द्रबाट उम्मेदवारी फिर्ता लिन दबाव आए पनि आफू आफ्नो अडानमा कायम रहेको उनले सुनाए।

पार्टीले कारबाही गरे पनि कुनै आपत्ति नहुने उनको भनाई छ। 'माथिबाट उम्मेदवारी फिर्ता लिन दबाव आएको थियो तर म कुनै पनि हाल्तमा लिन्नँ भनेँ। कारबाही हामीलाई होइन पार्टी सभापति देउवालाई हुनुपर्छ,' उनले भने, 'गठबन्धनको नाम पार्टीलाई आहुति हाल्नुभयो कार्यकर्तालाई जबर्जस्ती कलममा भोट हाल भन्ने अवस्था ल्याउनुभयो। यो अवस्थाका लागि मैले विद्रोह गरेको हुँ कुनै अफ्सोच छैन।'

यता सर्लाहीको लालबन्दी नगरपालिकामा देउवाले निर्वाचन आयोगलाई ठाडो पत्र लेख्दै कांग्रेसका उम्मेदवार बासुदेव अधिकारीको नाम हटाउन निर्देशन दिएका छन्। शुक्रबार साँझ लालबन्दीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको थियो। मेयरमा माओवादीले प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीले गोविन्द अधिकारीलाई अघि सारेको छ। माओवादीका उम्मेदवारलाई सघाउन देउवाले निर्वाचन अधिकृतलाई सम्बोधन गरेको पत्रमा वासुदेवको उम्मेदवारी फिर्ता लिएकोले उम्मेमदवारीको सूचीबाट हटाउन भनिएको छ। अधिकारीले भने निर्देशन नमान्ने जनाइसकेका छन्।

यता बुधवारमात्र कांग्रेस महामन्त्री गगन थापाले देउवाकै शैलीमा बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। पार्टीको निर्णयलाई मान्नुपर्ने र त्यसको सम्मान गर्नुपर्ने थापाको भनाई थियो।

अन्यायको हिसाबकिताब पछि हुने भन्दै थापाले समयमै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

'पार्टीभित्र मैले पनि भोगेर आएको छु। जिम्मेवारी पाउँ भन्दै नपाएर भोगेर आएको छु। मैले त धेरै पाएको हो। कति साथीले उम्मेद्वार पाउँ भन्दा पाइरहेका छैनन्। पार्टी एउटा निर्णय गरेर गएपछि पार्टीको निर्णयलाई मान्नुपर्छ। सम्मान गर्नुपर्छ। सम्पूर्ण कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु,' थापाले भनेका थिए, 'एउटा अन्यायको हिसाबकिताब हुन्छ विभेदको क्षतिपूर्ति हुनेगरि न्यायको निर्णय हुनेगरि हामी काम गर्छौँ। पार्टीको कर्मठ साथी आवेगमा पार्टी छाडेर जाँदा पछाडि फर्केर आउने अवस्था रहदैन। एकपटक पार्टीको निर्णय उल्लंघन गरेर फर्केर आएको साथीको अवस्था मैले देखेको छ। सहजतापूर्वक पार्टीको यात्रा अघि बढाउन अप्ठेरो हुन्छ। पार्टीभित्र भएका असन्तुष्टि जायज पनि छन्। मेरो विचार कहिले पार्टीको विचार भएको छ। मेरो विचार पार्टीको निर्णय नहुँदा मैले मानेर हिँडेको छु।'

एमाले र माओवादी फुटेको हालको अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जाँदा पहिलो पार्टी हुने कांग्रेस कार्यकर्ताको निचोड थियो। तर कांग्रेसले ६ महानगर र ११ उपमहानगरको प्रमुख र उपप्रमुखमा त गठबन्धनसँग मिलेरै जाने गरी भागबण्डा गर्‍यो। अन्य स्थानमा स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने कांग्रेस केन्द्रीय समितिको म्यान्डेड थियो। तर कांग्रेस शीर्ष नेताले केन्द्रीय समितिको म्यान्डेडबाहिर उत्रेर पाँच दलको बैठक बसी पाँच दलबाहिरको तालमेल खारेज गर्ने निर्णय शुक्रबार बिहानमात्र गर्‍यो।

'पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने। गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने,' पाँच दलीय गठबन्धनको निर्णयमा भनिएको छ।

माओवादीले विभिन्न ठाउँमा एमालेसँग गठबन्धन गरे पनि कारबाही सुरु गरेको छैन, कांग्रेस भने कम्युनिस्टभन्दा एक कदम अगाडि बढेर कार्यकर्ता तर्साउन लागिपरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell