PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

शताब्दी बढी पुरानो दापा भजन  गाउने संस्कृति [पुस्तक अंश]



पहिलोपोस्ट

शताब्दी बढी पुरानो दापा भजन  गाउने संस्कृति [पुस्तक अंश]

  • श्रीराम फुटुङ्गे -

मठ मन्दिरमा समय समयमा भजन गाउने चलन निकै पुरानो हो। यहाँको नेवार बस्ती प्राचीन भएकाले अग्रजहरूले निरन्तरता दिँदै आएका भजन संस्कृति कति पुरानो हो यकिन नभए पनि भजन लेखिएको हस्तलिखित पुस्तिकालाई आधार मान्ने हो भने यो सय वर्षभन्दा अगाडिदेखि नै भजन गाउँदै आएको अनुमान गर्न सकिन्छ। ज्यापू समुदायले स्वतस्फुर्त रुपमा गाउँदै आएको दापा भजन नेवारी र नेपाली भाषामा लिपिबद्ध भएका कागजातहरू यद्यपि सुरक्षित छन्।

उक्त हस्त लिखित भजन पुस्तैपिच्छे अर्को कागजमा सार्दै जोगाउँदै आएको भजन प्रेमी ७३ वर्षीय ध्वाखानारायण महर्जनले बताए। उनकैमा रहेको लिपिबद्ध भजन देखाउँदै उनले भने, 'यो चलन मैले देखेदेखि नै छ। कति पुरानो हो भन्न सक्दिन तर यो हाम्रो बाजेको पालादेखिको हो।’ नेवार बस्ती वरपर रहेका मन्दिरमा एक घर एकजना जम्मा भई ज्यापूहरूले दुई तीन घण्टासम्म पनि दापा भजन गाउँथे। भजन सकेपछि भोज खान्थे। कृष्ण अष्टमीका बेला मानिसहरू रातभर भजन गाएको सुनेर आनन्दित हुन्थे। रमाइलो गर्थे। पाका र युवा दुवै मिलेर भजन गाउने चलन थियो।

दापा भजन गाउँदा पछिमा (खिं, झ्याली र ता बजाउने गरिन्छ। खासमा यस खालको भजनमा देवताहरूको व्याख्या तथा प्रशंसा एवम् स्तुतिले भरिएको हुन्छ। परापूर्वकालदेखि गाउँदै आएको यस खालको भजन हरेक वर्ष कार्तिक पूर्णेदेखि मङ्सिर पूर्णेसम्म (बूढानीलकण्ठको एक महिने मेलाका बेला) गाउने चलन छ। साथै, वैशाख महिनामा नारायणी जयादेवीको जात्राका बेला ३ गते थकाइ मार्ने दिन बिहान र ४ गते बिहान दापा गाइन्छ। अचेल भने यो खालको भजन कम हुँदै गएको छ। खासमा २०७२ सालको भूकम्पपछि दापा गाउन ठाउँको अभाव तथा व्यवस्थापनका कारण कम भएको सम्बन्धित व्यक्तिहरूको भनाइ छ।

दापा भजनपछि हारमोनियम र तबलासहितको भजन गाउने चलन सुरु भयो। वि.सं. २०२० को दशकताका स्थानीय जगतबहादुर प्रधानले हारमोनियम र चिरीकान्छा राजवाहकले तबला बजाएर भजन गाउन थाले। यो सबैका लागि नयाँ थियो। गाउँमै उक्त हारमोनियम र तबला पहिलो पटक ल्याइएको थियो। त्यसपछि यो खालको भजनले धेरैको मन छोयो।

खासमा फुटुङ्गमा तीन किसिमको भजन गाउने चलन छ। नाम सङ्र्कीतन् (जीवनभर गाए पनि नसकिने भगवानको स्तुति गर्ने भजन), दोस्रो पद कीर्तन (दुःख परेपछि या परेर भगवानको नाम लिने) र तेस्रो निरगुण (आफ्नो जीवन भगवान्मै समर्पण गर्ने आशयका भजन)। यी दोस्रो र तेस्रो भजन चाहिँ तीनदेखि चार मिनेट लामा हुन्छन्। यस्ता भजनहरू पहिले–पहिले पुरुषले मात्र गाउने चलन थियो। पछि जगतबहादुर प्रधानकी छोरी लक्ष्मी प्रधानले गाउन थालेपछि महिलाले गाउन हुने रहेछ भनेर अरु केही महिलाले पनि गाउन तथा वाध्यवादनका साधन बजाउन सुरु गरे। तिनमा अग्रपङ्क्तिमा नानीछोरी मास्केको नाम आउँछ।

भजन सिकेकाहरूले नाट्यश्वर (नित्यनाथ)को मन्दिरमा पहिलो पटक गाउन आउँछन्। यस मन्दिरमा गाएपछि भगवान खुशी हुन्छन् भन्ने विश्वास छ। कुनै पनि सृजनात्मक कुराहरू पहिले यसै मन्दिरमा प्रदर्शन गर्नुपर्ने विश्वास पहिलेदेखि रहँदै आएको छ।

फुटुङ्गमा भजन गाउने संस्कृतिको सुरुआत र प्रवर्द्धन गर्ने काममा रामबहादुर मास्के (किलाल्चा)को नाम अगाडि आउँछ। मूल सडकमा चिया पसल चलाएर बसेका उनी दानी व्यक्ति थिए। भारतको दिल्लीमा केही समय बसेर यहाँ आएका उनको आफ्नै सन्तान नभएकाले धर्म र सेवाका काममा उनी तल्लीन थिए। भजन गाउन आवश्यक पर्ने हारमोनियम, तवला किनिदिने, बिग्रेमा मर्मत गरिदिने, भजन गाउन आउनेलाई चिया खुवाउनेजस्ता काममा सहयोग पुर्‍याउँथे। ‘उनले त्यति नगरेको भए हाम्रोमा भजनको चलन खासै जम्ने थिएन,’ स्थानीय भजन गायक सुर्वण प्रधानले भने। किलाल्चाको प्रोत्साहनले धेरैलाई भजन संस्कृतिको जर्गेना गर्न र विस्तार गर्नमा सहयोग पुगेको सुवर्णले सुनाए।

स्थानीय कृष्णबहादुर राजवाहक जो नियमित भजन गाउने, हारमोनियम, तबला र ज्ञानमाला भजनको प्रशिक्षण दिने अर्का संस्कृति प्रेमी हुन्। उनले सयौंलाई प्रशिक्षण दिइसकेका छन्।

ठाउँ बदलिएसँगै मानिसको पेसा र रुचि बदलिए पनि व्यस्तता बढेपछि भजन संस्कृति जोगाउन हम्मे परिरहेको कतिपयले अनुभव गरेका छन्। अचेल कल्पेश्वर महादेव मन्दिर र नारायणी जयादेवी मन्दिरको पाटीमा शनिवार तथा मङ्गलवार र जात्रा या अन्य विशेष पर्वका दिन हारमोनियम एवम् तबला बजाइ भजन गाउने चलनले गति लिएको छ। नेवारी समुदायमा मात्र नभई अन्य जातजाति ब्राह्मण तथा क्षेत्रीहरू पनि भजन सिक्दै गाउनतर्फ आकर्षित भएको देखिन्छ। कैयौँ वर्षदेखि चलिआएको भजन संस्कृतिलाई जोगाउनु फुटुङ्गका नेवारमात्र नभई अन्य समुदायले पनि चासो दिनु पर्ने समय आएको छ।

(गत वैशाख ३ गते सार्वजनिक भएको पुस्तक "फुटुङ्गः इतिहास, सस्कृति र विकास" को अंश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell