PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पाँच दलीय गठबन्धन पवित्र, ओली नेतृत्वको गठबन्धन पुरातनवादी र प्रतिगामी : रामचन्द्र पौडेल



पहिलोपोस्ट

पाँच दलीय गठबन्धन पवित्र, ओली नेतृत्वको गठबन्धन पुरातनवादी र प्रतिगामी : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धनको संज्ञा दिएका छन्। 

तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन भएको बताएका हुन्। लोकतन्त्र र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको उनको दाबी थियो।

उनले सत्तारुढ दलहरुबिच मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको केपी  शर्मा ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी भएको आरोप लगाए।

पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा 'कन्फ्युज' नहुन नेता कार्यकर्तालाई आग्रह गरे।

भने, ‘चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुरा बोल्न हुँदैन। विकास र राजनीतिलाई लिएर जान कांग्रेस चाहान्छ। गाँउको विकास र लोकतन्त्र जोगाउँछौं। लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरेको हो। राजनीति स्थायी गरेर विकासको बाटो डोहोर्‍याउन  गठबन्धन गरिएको हो।’

कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्न गाँउमा आम्दानी गाँउमै रोजगारीको अभियान थाल्न लागेको उनले बताए। पौडेलले कांग्रेसले कम्युनिष्टहरुले जस्तो जनतालाई कहिल्यै नझुक्याएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell