PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रबिच तालमेल, अध्यक्षमा पोखरेल र भण्डारी भिड्ने



रमेश पराजुली

गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रबिच तालमेल, अध्यक्षमा पोखरेल र भण्डारी भिड्ने

बुटवल : गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच तालमेल भएको छ। धेरैजसो पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच तालमेल हुँदा धुर्कोटमा भने माओवादी र एमाले मिलेका हुन्।

नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले आसन्न स्थानीय तह निर्वाचनका लागि धुर्कोटमा नेकपा एमाले र माओवादी केन्द्रका बीचमा तालमेल गरिएको जानकारी दिए।

धुर्कोटमा गाउँपालिका अध्यक्षका लागि एमालेबाट गोपाल कुँवर,  नेपाली कांग्रेसबाट महेन्द्र भण्डारी र निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्रका भुपाल पोखरेलले उम्मेदवारी दिएका थिए।

एमाले र माओवादी केन्द्र बिच तालमेल भएपछि एमालेबाट उम्मेदवारी दिएका कुँवरले उम्मेदवारी फिर्ता लिएर माओवादीका पोखरेललाई साथ दिने निर्णय भएको अध्यक्ष काउछाले बताए।

गाउँपालिका अध्यक्षमा एमालेले माओवादीलाई समर्थन गरेपछि उपाध्यक्षमा भने माओवादीले एमालेका उम्मेदवार सीता गिरीलाई समर्थन गर्ने सहमति भएको छ। सहमति अनुसार सात वडा रहेको धुर्कोटमा वडा नम्बर १ र ४ मा वडाध्यक्ष माओबादी केन्द्रबाट र बाँकी रहेका अन्य वडामा एमालेबाट वडाध्यक्षका उम्मेदवार छानिएका छन्।

धुर्कोटमा एमाले र कांग्रेस भन्दा माओवादी केन्द्र कमजोर छ। गठबन्धनभित्र सहमति नजुटेपछि माओवादी केन्द्र एमालेसँग तालमेल गर्न पुगेको हो।

केन्द्रीय गठबन्धनले भने गठबन्धन बाहिर तालमेल नगर्न निर्देशन दिएको थियो।

गठबन्धनले भने गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र भण्डारी र उपाध्यक्षमा एकीकृत समाजवादीबाट कमला सुनारलाई उम्मेदवार बनाएको छ। भण्डारी नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष हुन्। उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्।

२०७४ सालको निर्वाचनमा भने पोखरेल नेपाली कांग्रेसको सहयोगमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। माओवादीको समर्थनमा नेपाली कांग्रेसका शिव खत्री उपाध्यक्षमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell