PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

महानगर प्रमुखमा मेरो नाम प्रस्ताव गर्दा प्रकाशमानलाई पनि थाहा थिएन : सिर्जना सिंह



पहिलोपोस्ट

महानगर प्रमुखमा मेरो नाम प्रस्ताव गर्दा प्रकाशमानलाई पनि थाहा थिएन : सिर्जना सिंह

काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सिंहले आफू महानगर प्रमुख पदमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताएकी हुन्। उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लाग्ने बताइन्।

‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो। घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन। त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ। त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनु पर्नेछ। आईटीको जमाना छ। डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु।’

उनले आफूले महिलाहरुको समस्या बुझेकाले समाधानका लागि योजनाहरु पनि अघि सार्ने बताइन्।

सिंहले आफूलाई नेपाली कांग्रसले सर्वसम्मत रुपमा प्रमुखको उम्मेदवार बनाएको दाबी गरिन्। नेपाल महिला संघ, काठमाडौंले आफ्नो नाम प्रस्ताव गर्दा आफ्नो श्रीमान प्रकाशमान सिंहलाई थाहा नै नभएको उनले बताइन्।

 ‘मलाई थाहा थिएन। मेरो श्रीमानलाई त झन थाहा हुनै कुरै भएन। नेपाल महिला संघ, काठमाडौंमा मलाई मेयरमा उठनुपर्छ भनेर स्वतस्फुर्त रुपमा कुरा उठाएको हो। सधैभरी आरक्षणको कोटामा मात्रै महिलाहरु बस्नुपर्ने। अब मेयर र वडाध्यक्षहरु नै उठनुपर्छ र त्यसमा मेयरमा सिर्जना भाउजुलाई उठाउनुपर्छ भनेर नेपाल महिला संघ, काठमाडौले मलाई प्रस्ताव गरेको हो। त्यसपछि मेरा साथीहरुको पनि प्रेसर आयो। नेविसंघसहितका पार्टीको सबै भातृ संस्थाहरुबाट पनि दबाब आउन थाल्यो । पार्टीले सर्वसम्मत निर्णय गरेर मलाई मेयरको उम्मेदवार बनाएको हो,’ उनले भनिन्।

गणेशमान सिंह, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू महानगर प्रमुखको उम्मेदवार नभएको उनले बताइन्। आफू विद्यार्थीकालदेखि नै नेविसंघको राजनीतिमा होमिएको भन्दै उनले अहिले सक्रिय राजनीतिमा फेरि फर्किएको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell