PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

‘खर्चिलो भयो निर्वाचन, पैसा नदिएपछि आफ्नै कार्यकर्ता असन्तुष्ट’



राधेश्याम पटेल

‘खर्चिलो भयो निर्वाचन, पैसा नदिएपछि आफ्नै कार्यकर्ता असन्तुष्ट’

वीरगंज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनमा वीरगंज महानगरपालिका प्रमुखमा गिरिश गिरीलाई खडा गरेको छ।पत्रकारिताबाट ‘ब्रेक’ लिएर बसेका उनी अहिले सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।

गिरिशका लागि राजनीतिक क्षेत्र नयाँ भने होइन। उनी वीरगंजका पूर्व मेयर गोपाल गिरीका छोरा हुन्। सशस्त्र द्वन्द्वको बेला माओवादीले चन्दा नदिएकै कारण उनको बुवाको गोली प्रहार गरि हत्या गरेको थियो। गिरिश अहिले बुवाकै अधुरो सपना पुरा गर्न वीरगंज महानगरको प्रमुखका लागि प्रतिस्पर्धामा उत्रेको बताउँछन्। 

बुवाको विरासतलाई कायम राख्न चुनावी मैदानमा होमिएका छन् गिरिश। वीरगंजमा घरदैलो कार्यक्रम समेत सुरु गरिसकेका छन् उनले। सुरुमा आफ्नो इच्छा नभए पनि पार्टीका नेता र परिवारका सदस्यलेले प्रमुखमा उठ्न हौसला दिए पछि आफू निर्वाचनमा उठेको उनी बताउँछन्।

‘मेरो इच्छा थिएन। तर, पार्टीका नेता र परिवारको समर्थनमा वीरगंजको कायापलट गर्ने हिसाबले चुनाव लडने कम्मर कसेको छु,’उनले भने,‘२०६० साल माघ १ गते बुवाको निधन भएकै दिनदेखि अधुरो बुवाको सपना पुरा गर्नुछ,त्यसैको लागि मेयरमा प्रतिस्पर्धा गर्दैछु।’

गिरिश अहिले बिहानदेखि रातिसम्मै चुनावी प्रचारप्रसारमा व्यस्त रहेको बताउँछन्। जनता कहाँ पुगेर उनीहरुको माग र इच्छा सुन्न उनी उत्साहित छन्। तर खर्चिलो चुनावले भने उनलाई तनाव दिएको छ।

केही समय अघि मात्रै जागिर छाडेर लेखनमा होमिएका उनी अहिले चुनावी व्यभार मिलाउन नसक्दा दु:ख पाइरहेको बताउँछन्। चुनावमा कार्यकर्ताहरु पैसाको अपेक्षा गर्छन्। तर उनी कार्यकर्तालाई पैसा दिन सकिरहेका छैनन्।

‘वीरगंजको चुनाव खर्चिलो भइसक्यो। आफुसँग पैसा छैन। पत्रकारको जागिरमा पनि छैन। पैसा नदिएर आफनै कार्यकर्ता रुष्ट छन्,’उनले भने।

उनी अन्य दलका उम्मेदवारहरुले चुनावमा अधिक खर्च गरिरहेको बताउँछन्। चुनाव खर्चिलो हुँदा लोकतन्त्रलाई घात भइरहेको उनले बताए।

‘अरुले अधिक खर्च गरिरहेका छन् भनेर सुनेको छु,वीरगंजको चुनाव खर्चिलो भएको अवस्थामा यो लोकतन्त्रकै लाग दूर्भाग्यपूर्ण कुरा हो,’ उनले भने।

आफूले हालसम्म ३५ हजार खर्च गरेको उनको दाबी छ। अन्य उम्मेदवारले गरेको खर्चको हिसाबकिताब जनताले जाँच्ने उनी बताउँछन्।

‘मेरा एउटा गाडी छ। त्यसैबाट विभिन्न वडाको मतदाता कहाँ पुगिरहेको छु,’उनले भने।

हुनत उनलाई आर्थिक सहयोग गर्न केही व्यक्ति तयार पनि भएका थिए। तर उनले त्यो सहयोग लिन मानेनन्। आज सहयोग गर्ने व्यक्तिले भोली आफूलाई नोकर जस्तो व्यवहार गर्दा ठिक नहुने उनी बताउँछन्।

खर्चको दु:ख त आफ्नो ठाउँमा छ, चुनावी प्रचारप्रसारमा हुँदै फेरि वीरगंजका जनताको नजिक पुग्न पाउँदा खुसी छन् उनी। मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनले बताए।

गिरिश आफूले वीरगंज महानगर प्रमुख बने ‘एक हातमा झाडु र एक हातमा बाँसुरी’ लिएर हिँड्ने बताउँछन्। नगरवासीलाई एउटा राम्रो महानगरको अनुभूति गराउने योजना रहेको उनले बताए। तर, हालसम्म उनले घोषणापत्र भने सार्वजनिक गरेका छैनन्।

गिरिश आफ्नो बुवाले वीरगंजको पूर्वाधार विकासमा देखेको सपना पूरा गर्नु नै आफ्नो उद्देश्य रहेको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell