हेटौंडा : हेटौंडा –१० स्थित बसपार्कमा मजदुरी गरिरहेकी बिमला तामाङले घर बनाउने ठाउँमा पुरुषसरह इट्टा बोकिरहेको तर पुरुषकोभन्दा आफ्नो पारिश्रमिक कम रहेको बताइन्।
हेटौंडा –१३ स्थित वनस्पतिका ८५ वर्षीय रामबहादुर स्याङ्तान घरनजिकैको कुखुरेनी खोलामा बिहान ५ बजेदेखि नै बालुवा चाल्छन्। मरिमेटेर दुईमहिनामा एक टिप चालेको बालुवा बेच्दा पनि उनले नगद पाउँदैनन्। बालुवा बेचेर एक महिनापछि मात्रै साहुले पैसा दिने गरेको उनी बताउँछन्।
हेटौंडा–१० मा भाडामा कोठा लिएर बस्दै आएका मजदुर कृष्णबहादुर कार्कीको एउटा खुट्टा छैन। उनी एउटा घरमा काम गरिरहेको बेलमा उनले खुट्टा गुमाउनु पर्यो। ६१ वर्षीय कार्की मजदुरी गर्न नसक्ने अवस्था आएपछि हाल १० नम्बरस्थित भुटनदेवी मन्दिरमा मागेर खाने गरेका छन्।
उनीजस्तै कति मजदुरले ज्यान गुमाएका छन् त कतिले शरीरको भाग नै गुमाउनुपरेको छ। असंगठित क्षेत्रका मजदुर निर्माणस्थलमा हुने दुर्घटनामा क्षतिपुर्तिसमेत पाउँदैनन्।
हेटौंडाको बुद्धचोकमा एकाबिहानै मानिसहरुको दैनिक रोजिरोटीके लागि श्रमिकहरुको भिड हुन्छन्। चोकमा आउने श्रमिहरुको भिडले निर्माण व्यवसायीसँग श्रमको मुल्यको बार्गेनिङ गर्छन् र बार्गेनिङ मिलेपछि कार्य क्षेत्रमा जान्छन्। मुल्य नमिले दिनभर बसेर डेरातिर फर्कन्छन्।
दिनभरि ज्याला मजदुरी गरेर छाक टार्दै आएका मजदुरका समस्या जिउँकातिउँ छन्। जसलाई न त राज्यको नीतिले सम्बोधन गरेको छ न त व्यवहारले नै। कामको खोजीमा दैनिक चोकमा आउने श्रमिकहरु निर्माण व्यबसायीसँग बार्गेनिङ् गरेर काम गर्दछन्। अझ श्रमिक महिलालाई हेर्ने हो भने ती हेपिएका छन्। ईट्टा, गिट्टी, बालुवाजस्ता काम महिलाले पुरुषसरह गर्नैपर्छ। तर, पारिश्रमिक भने पुरुषभन्दा महिलालाई कम दिने गर्छन्।
आज अन्तराष्ट्रिय श्रमिक दिवस १ तारिख। यस दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवमा रुपमा मनाइन्छ। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिकरुपमा सार्वजनिक बिदा हुन्छ भने कतिपय राष्ट्रमा सामान्य रुपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रमा यही दिनलाई आधिकारिक मजदुर दिवसका रुपमा मनाइन्छ भने केही राष्ट्रमा यस दिन वसन्त ऋतुको पर्व मे दिवसका रुपमा मनाइन्छ। अमेरिकालगायत केही राष्ट्रमा मजदुर दिवस अलग्गै दिनमा मनाईने गरिन्छ।
१९ औं शताव्दीको औद्योगिकीकरणमा युरोपका उद्योगपतिहरुले दैनिक १५ घण्टासम्म न्युन पारिश्रमिकमा श्रमशोषण गरिहेको कहालीलाग्दो परिस्थितिबीच त्यहाँका मजदुरले १ मे, १८८६ का दिन समानता, उपयुक्त श्रमज्याला, उचित बिदासुबिधा र श्रम वातावरणका लागि एकीकृत हुने उद्घोष गरे। र, ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको एक दिवसीय समय विभाजन माग गरे। सिकागोमा यहि मागसहित मजदुरको शान्तिपूर्ण प्रदर्शनमाथि गोली चलाउँदा थुप्रै प्रदर्शनकारी मारिए। ४ मेका दिन आक्रोशित प्रदर्शनकारीद्धारा बम विष्फोट गर्दा प्रहरीसहित ७ जनाको मृत्यु भयो।
त्यसपश्चात् घटनाको मुख्य षडयन्त्रकारी र दोषीका रुपमा ८ जनालाई पक्राउ गरी फाँसी दिइयो। यसको ३ वर्षपछि मे १ लाई श्रमिकहरु एकीकृत हुने घोषणा गरेको दिनका रुपमा मनाउने घोषणा गरियो।
विश्वमा त्यस्ता धेरै श्रमिक छन् जो साँझ खान र बस्न आफ्नो हरदिन श्रममा खर्चिरहेका हुन्छन्। यही चुनौतीपूर्ण परिस्थिति आज पनि नेपालले व्यहोरिहेको छ।
ट्रेड युनियनहरुले विविध कार्यक्रम गरी मनाउँदै
एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ। नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसले आज बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ। भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा सहिदगेट, न्यूरोड गेट, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ। यस्तै नेपाल ट्रेड युनियन महासङ्घले मध्याह्न भृकुटीमण्डमा श्रमिकसभाको आयोजना गर्ने छ। नेपालका क्रियाशील एक दर्जन बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले अपराह्न बृहत् कार्यक्रमको आयोजना गर्ने जनाएको छ।
विसं २००३ मा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ। नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ। विसं २००७ को राणा शासनविरुद्ध, विसं २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२/६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ।
‘विविधतामा एकता’ नारासहित गठित जेटियुसिसीले श्रम बजार सुधारका लागि साझा मुद्दा उठाउँदै आएको छ। आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन्। संविधानमा श्रम–एजेण्डा समावेश गरिएका छन्। संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ। संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ। श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ।
यस्तै युनियन खोल्न पाउने र सामूहिक सौदाबाजीको हकको सुनिश्चितता भएको छ। बालश्रम, बाधा श्रम निषेध भएको छ। विभिन्न जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ। औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ।
श्रमिक अधिकारका विषय संविधानमा लिपिबद्ध भए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको जेटियुसिसीको ठहर छ। संविधानले सामाजिक सुरक्षाको हक, रोजगारीको हकको प्रत्याभूति गरेको छ। तर अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम परिश्रमिकबाट वञ्चित छन्। संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएको भन्दै जेटियुसिसीले मुलुकभित्रै रोजगारीको वातावरण बनाउन र विदेशिएका युवालाई स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
जेटियूसिसीका अध्यक्ष प्रेमलकुमार खनाल नेपाली श्रमिक वर्गले उठाउँदै आएको नीति निर्माणलगायत राज्यको सम्पूर्ण संरचनामा १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व, अर्धन्यायिक अधिकारसहितको श्रम आयोग गठन, श्रमिक वर्गलाई कार्यस्थलबाट मताधिकारको व्यवस्था, श्रम निरीक्षण प्रणाली र श्रम कार्यालय विस्तारलगायत विषय तत्काल कार्यान्वयन गरिनुपर्ने बताउँछन्।