PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

श्रमिक महिलाको कामलाई राज्यले मूल्यांकन गर्न सकेन : सिर्जना सिंह



पहिलोपोस्ट

श्रमिक महिलाको कामलाई राज्यले मूल्यांकन गर्न सकेन : सिर्जना सिंह

काठमाडौं : सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार सिर्जना सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताएकी छिन्।

आइतवार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले महानगरका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताइन्।

‘श्रमिक महिला दिदीबहिनीहरुको, श्रमिकहरुको मुद्दा यहाँ जति सुनुवाई हुनुपर्ने हो राज्यले गर्नुपर्ने हो त्यो हुन सकेको छैन। त्यसमा मेरो ध्यान सधैँ गइरहेको छ र मैले बोल्दै आइरहेको पनि छु,’ उनले भनिन्, ‘काठमाडौंमा कति दिदीबहिनीहरु बेरोजगार हुनुहुन्छ, दाजुभाईहरु बेरोजगार हुनुहुन्छ। उहाँहरुको राज्यले सुनुवाई भएको छैन।’

सिंहले महिलाहरुले बिहानदेखि बुलुकीसम्म घरमै काम गरेर बस्ने भए पनि राज्यले श्रमको मुल्यांकन नगरेको बताइन्। उनले आफु काठमाडौं महानगरपालिकाको प्रमुख भएको खण्डमा गरिबीको रेखा मुनि रहेको श्रमिक महिलाहरुको निम्ति विशेष राहत योजना ल्याउने वाचा गरिन्।

‘अफिसमा काम गर्नेलाई मात्रै काम भनेर हाम्रो राज्यले तोकेको छ। घरमा काम गर्ने महिला दिदीबहिनीको श्रमको मुल्यांकन भएको छैन,’ उनले भनिन्।

त्यसैगरी बेरोजगार युवाहरुका लागि डिजिटल प्रविधिको प्रयोगगरि सिपमुलक तालिक दिने र उद्यमी बनाउने पनि उनले उल्लेख गरिन्।

उनले श्रमिक महिलाहरुका बालबच्चाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने पनि आफ्नो योजनामा रहेको बताइन्। साथै, महानगरले युवा क्लवहरुसँग सहकार्य गरी युवाहरुलाई खेलकुदतर्फ आर्कषित गर्ने पनि योजना आफूले बताएको बताइन्। उनले महिलाको सुरक्षाका लागि महानगरलाई प्राथमिकताका साथ अघि बढाउन आफूले जोड दिने समेत बताइन्।

सिर्जनाले केही दिन अघिमात्रै सात संकल्प सार्वजनिक गरेकी थिइन्। उनले आसन्न स्थानीय तह निर्वाचनमा महिलाको मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell