PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अमेरिकाले नमानेको अन्तर्राष्ट्रिय मजदुर दिवस : मे डे मनाउन अझै पनि अमेरिकी मजदुरहरु संघर्ष गर्दैछन्



पहिलोपोस्ट

अमेरिकाले नमानेको अन्तर्राष्ट्रिय मजदुर दिवस : मे डे मनाउन अझै पनि अमेरिकी मजदुरहरु संघर्ष गर्दैछन्
सन् १९०९ मे १ मा न्यू योर्कमा भएको मे डे मार्च। Photo: britannica.com

मे १, संसारभर मजदुर दिवसको रुपमा मनाइँदै छ। अमेरिकी मजदुरहरुले कामको अवधि घटाउन गरेको लडाइँको सम्झनामा मनाइँदै आएको अन्तर्राष्ट्रिय मजदुर दिवसलाई भने अमेरिकाले नै मान्यता दिएको छैन।

अमेरिकामा मे १ लाई ‘लोयल्टी डे’को रुपमा मनाइँदै आएको छ। विदेशी युद्धका भेट्रानहरुले कम्युनिस्ट प्रभावविरुद्ध हरेक वर्ष मे १ मा र्‍यालीको आयोजना गर्छन्।

अमेरिकामा मजदुर दिवस सेप्टेम्बरको पहिलो सोमवार मनाइँदै आइएको छ। सन् १८८७ मा यसले मान्यता पाएको थियो भने १८९४ देखि आधिकारीक रुपमा देशभर बिदा दिन थालिएको थियो। मजदुर दिवसलाई सेप्टेम्बरबाट मे १ मा सार्न पटक-पटक आन्दोलन हुँदै आएपनि यो प्रयास सफल हुन सकेको छैन।

सन् १०५८ मा अमेरिकन बार एसोसिएसनले मे १ लाई ‘ल डे’को रुपमा मनाउन अभियान चलाएको थियो। यद्यपि, अमेरिकामा रहेका कम्युनिस्ट तथा समाजवादी पार्टीहरुले मे डे मनाउनका लागि वर्षौँदेखि प्रदर्शन गर्दै आएका छन्। सन् १९१९ मा यो समूहले ठूलो प्रदर्शन गरेका थिए। शान्तिपू‍र्ण जुलुस हिंसात्मक प्रदर्शनमा परिणत भए

बोस्टोन, न्यू योर्क, क्लेभेल्याण्डमा भएको प्रदर्शनमा मजदुरको समेत मृत्यु भएको थियो। ८ घण्टा लामो मार्चका क्रममा मृत्यु भएकाको सम्झनामा हरेक वर्ष त्यहाँ स्मृतिसभा गरिन्छ।

त्यस्तै, सन् १९३० को दशकमा अमेरिकी ग्रेट डिप्रेसनका क्रममा कम्युनिस्टहरुले न्यू योर्कको युनियन स्क्वायरसहित सिकागोलगायतका शहरमा ठूलो प्रदर्शन गरेका थिए।

सन् २००६ मा १ मेको दिन ल्याटिन आप्रवासी समूहले अमेरिकामा प्रदर्शन गरे। जसलाई ‘ग्रेट अमेरिकन ब्यायकट’को रुपमा लिइन्छ। अप्रिल १० देखि मे १ सम्म त्यहाँका आप्रवासी परिवारहरुले आप्रवासी अधिकार, मजदुरहरुको अधिकार तथा सूचिकृत नभएका मजदुरहरुलाई माफीको माग गर्दै प्रदर्शन गरेका थिए। मे १ को दिन उनीहरुको साथमा त्यहाँका समाजवादी तथा अन्य वामपन्थी संगठनहरु प्रदर्शनमा उत्रिएका थिए।

२००७ को मे १ मा लस एन्जलसमा भएको प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग गरेको थियो। त्यस्तै, सन् २०१२ मा ‘अकुपाई वालस्ट्रीट’का सदस्य तथा मजदुर संगठनहरुले अमेरिकासहित क्यानडाका विभिन्न शहरहरुमा प्रदर्शन गरेका थिए। सन् २०१७ मा आप्रवासी अधिकारको पक्षमा वकालत गर्ने अधिवक्ताहरु, मजदुर संगठनहरु, वामपन्थीहरुले ट्रम्प प्रशासनको आप्रवासी नीतिविरुद्ध ठूलो प्रदशन गरेका थिए।

सन् २०२० मा कोभिड-१९ को महामारीकै बिचमा अमेजन, होल फुड, इन्स्टाकार्ट, वालमार्ट, फेडएक्स, टार्गेट र सिप्टका मजदुरहरुले मजदुर अधिकारको पक्षमा प्रदर्शन गरे। त्यही दिन त्यहाँ सताब्दीकै ठूलो प्रदर्शन भएको थियो। महामारीका कारण जीवन जोखिममा हालेर काम गरेका मजदुरहरु जसले अर्को महिनाको घर भाडा तिर्न नसक्ने अवस्थामा पुगेका थिए उनीहरुले प्रदर्शन गरे। जसलाई ‘रेन्ट स्ट्राइक’ को रुपमा लिइन्छ

सन् २०२१ को मे डेका दिन अकल्याण्ड र पोर्ट ल्याण्डमा ‘ब्ल्याक ब्लक’ प्रदर्शनकारीहरु प्रहरीसँग भिडेका थिए

२०२० मा ‘रेन्ट स्ट्राइक’बाट अमेजनका कामदारहरुले सुरु गरेको सानो आन्दोलनले अहिले अमेजनमा मजदुर युनियन खोल्ने अधिकार प्राप्तिसम्म ल्याइ पुर्‍याएको छ। अमेजनको मजदुरहरुले पहिलोपटक मजदुर युनियनको मान्यता पाएका हुन्। त्यहाँको नेशनल लेवर रिलेसन बोर्ड (एनएलआरबी)ले पर्यवेक्षण गरेको मतदानका क्रममा अमेजन लेवर युनियनको पक्षमा दुई हजार ६५४ मत पर्दा दुई हजार १३१ ले विपक्षमा मतदान गरेका थिए। जेएफके-८ मा भएको मतदानका लागि ८ हजार ३२५ मतदाताहरु थिए। जसमध्ये ६७ जनाले मतदान बहिस्कार गरेका र ११ मत बदर भएको उल्लेख छ।

अमेजन लेवर युनियनका संस्थापक क्रिस्टियन स्मलले सुरुवातमा महामारीको समयमा अमेजनले श्रमिकको स्वास्थ्य र सुरक्षामा पर्याप्त ध्यान नदिएको भन्दै जेएफके-८ बाहिर विरोध प्रदर्शन आयोजना गर्न मद्दत गरेका थिए। त्यतिबेला न्यू योर्क विश्वकै कोरोना हटस्पट बनेको थियो। र,पनि कम्पनीले आफ्ना श्रमिकहरुलाई गोदाममा बोलाएर काम गर्न बाध्य बनाएको थियो।

त्यतिबेला प्रदर्शनमा उत्रिएका मजदुरहरुलाई बर्खास्त गरेका थिए। त्यतिबेला अमेजनका प्रमुख सल्लाहकार डेभिड जापोल्स्कीले १००० जनालाई पठाएको इमेलमा स्मल्सलाई ‘मूर्ख अनपढ’ भन्‍दै प्रचार गरिएको थियो।

अमेजनभित्र तल्लो तहको व्यवस्थापन पदमा समेत अश्वेत कर्मचारी अभाव रहेको, मजदुरमाथि हुने विभेध लगायतका विषयमा स्मल्सले विरोध गरे। उनी आफू पनि योग्य हुँदाहुँदै बढुवामा परेनन्। त्यसपछि उनले मजदुरहरुलाई संगठित गर्दै अहिले अमेजनमा आधिकारिक मजदुर युनियनको मान्यता पाएका छन्

मे १ को इतिहास

सन् १८८९ मा इन्टरनेशनल फेडेरेशन अफ सोसियलिस्ट ग्रुप र ट्रेड युनियनले मे १ लाई मजदुरको समर्थन गर्ने दिनको रुपमा लियो। त्यही दिन सिकागोमा ठूलो प्रदर्शन भएको थियो। त्यसको ५ वर्ष पछि अमेरकी राष्ट्रपति ग्रोभर क्लिभेल्याण्डले सेप्टेम्बरको पहिलो सोमवार मजदुर दिवस मनाउने घोषणा गरेका थिए।

युरोपमा मे १ लाई ऐतिहासिक दिनको रुपमा लिइन्छ। यो सुरुवातमा पगान फेस्टिवलको रुपमा मनाइन्थ्यो। पगान भनेको धार्मिक व्यक्तित्वको रुपमा हुन्थ्यो। पछि यो मजदुर आन्दोलनसँग जोडियो।

यो दिन सोभियत युनियनमा पुजिवाद विरुद्धको दिवसको रुपमा स्थापित हुँदै गयो। सन् १९३३ मा नाजीको उदयसँगै आधिकारिक रुपमा बिदा दिन थालियो।

हाल संसारका अधिकांश देशहरुमा मे दिवसको दिन मजदुर दिवसको रुपमा सार्वजनिक बिदा दिने गरिन्छ। तर, अमेरिकामा अझै पनि ‘मे डे’ मनाउनका लागि मजदुरहरु आन्दोलन गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell