
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान मतपत्र ढुवानी हुनेछ भने अन्य जिल्लामा यसैसातामा पठाइने आयोगले जनाएको छ।
वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ।
मतपत्र पठाउन बाँकी रहेका जिल्लामा मधेश प्रदेशका ८, प्रदेश नं १ को मोरङ, वाग्मती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुर छन्।
कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, वाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ।
मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ।
निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो।
यसअघि ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकोमा आज भक्तपुर जिल्लाका लागि मतपत्र छपाइ सुरु भएको छ।
महानगर र भक्तपुरका लागि छापिने मतपत्र उम्मेदवारी मनोनयनपत्र दर्ताको अन्तिम नामावलीका आधारमा पूर्ववत् डिजाइनमा निर्वाचन चिन्ह थपघट गरेर छपाइ हुँदैछ ।