PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्वाचन आयोगले किन ल्यायो टिकटक प्रतियोगिता ?



पहिलोपोस्ट

निर्वाचन आयोगले किन ल्यायो टिकटक प्रतियोगिता ?

काठमाडौं : स्थानीय तह निर्वाचन संघारमा छ। आफ्नो पार्टीलाई जिताउन नेता र कार्यकर्ता प्रचारप्रचारमा तीव्र रूपमा लागेका छन्। यस्तै, निर्वाचनबारे जनचेतना फैलाउन पनि गीत संगीतहरु सार्वजनिक भएका छन्।

स्थानीय तह निर्वाचनको प्रचारका लागि निर्वाचन आयोगले पनि विभिन्न सन्देश मुलक श्रव्यदृश्य सामाग्री सार्वजनिक गरेको छ। यसैबिच, आयोगले निर्वाचनको सन्देशमुलक भिडियोमा टिकटक बनाएर धेरै भ्युज पुर्‍याउनेलाई पुरस्कार दिने घोषणा गरेको छ।

आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार, ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने सूचना निकालेको छ। आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा टिकटक बनाउनु पर्ने आयोगले जनाएको छ।

टिकटक २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्न समेत भनिएको छ। आयोगको उक्त सूचनाको सामाजिक संजालमा आलोचना समेत भइरहेको छ। समाजमा निर्वाचन सम्बन्धि जनचेतना फैलाउनुको सट्टा आयोग प्रतियोगिताम अल्मलिएको भन्नेहरु धेरै छन्।

आखिर किन ल्यायो आयोगले यस्तो प्रतियोगिता ? 

अहिले टिकटक बढि लोकप्रिय भएका कारण निर्वाचनको प्रचारप्रसारको लागि टिकटक रोजेको निर्वाचन आयोगका सहायक प्रवता सूर्य प्रसाद अर्यालले जानकारी दिए। धेरै जनतामाझ मतदाता शिक्षा पुगोस् भनेर नै आयोगले यो सोच ल्याएको उनले बताए।

'टिकटक अहिले नेपालमा निकै लोकप्रिय छ। टिकटकमार्फत निर्वाचनमा मतदातालाई मतदान केन्द्र पुग्न उत्प्रेरित गरेर सहभागिता बढाउनु हाम्रो पहिलो उद्देश्य हो,' उनले भने।

भिडियोमार्फत मतदानको तरिका सिकाएर बदर मत हुनबाट जोगाउनु र मतदातालाई किन भोट हाल्ने भने सुसूचित गराउनु नै आयोगको उद्देश्य रहेको अर्यालले बताए।

उत्कृष्ट भिडियो बनाउनेलाई भ्युजको आधारमा छनोट गरेर यसै महिनाभित्र पुरस्कार घोषणा गरिने समेत उनले सुनाए। भन्छन्, 'छनोट गर्दा केही विधी र प्रकियाहरू अपनाइने छ। वास्तविक भ्युज होकी होइन भनेर चेक गरिनेछ।'  

निर्वाचन आयोगले 'म निर्वाचनमा भाग लिन्छु' अभियान सुरू गर्न तयारी गरेको समेत उनले बताए।

निर्वाचन आयोगले मात्र नभई नेकपा एमालेको साइबर सर्कल विभागले पनि टिकटकमार्फत चुनावी प्रचारप्रचारमा जोड दिएको छ। सर्कलले पार्टीको प्रचारप्रचारका लागि टिकटक प्रतियोगिता आयोजना गरेको छ। पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार तोकिसकेको छ। त्यसैगरि, नेपाली कांग्रेसले पनि उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिनेसमेत जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell