PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सोचेझैँ गठबन्धन रैनछ



प्रकाश भण्डारी

सोचेझैँ गठबन्धन रैनछ

काठमाडौँ: सत्तारुढ पाँच दलले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा होमिने निर्णय गरेका थिए। तर, केन्द्रको निर्णय सबै स्थानीय तहमा पालना भएन। हुन त गठबन्धन सबै स्थानमा तालमेल हुन नसक्नेमा ढुक्क थियो पहिलै। त्यसैले सकेसम्म तालमेल नभए मित्रवत् प्रतिस्पर्धाको पक्षमा थियो सत्ता गठबन्धन। उक्त सहमति पालना नभए कारबाही हुने चेतावनीका बाबजुत धेरैजसो स्थानीय तहमा गठबन्धनको निर्णय लागू भएन। कतिपय पालिकामा गठबन्धनबीच तालमेल नै हुन सकेन भने कति ठाउँमा गठबन्धन दलहरु नै विपक्षीसँग सहकार्यमा लागे।

एमाले-माओवादी भर्सेस कांग्रेस-समाजवादी गठबन्धन

गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच चुनावी तालमेल भएको छ। तालमेल भएपछि एमालेबाट अध्यक्षको उम्मेदवारी दिएका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई सघाएका छन्। उक्त गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका महेन्द्र भण्डारीले एमाले-माओवादी गठबन्धनको सामना गर्नुपर्ने भएको छ।

भण्डारीलाई नेकपा (एकीकृत समाजवादी) को साथ छ। उपाध्यक्षमा एकीकृत समाजवादीकी कमला सुनार उम्मेदवार छिन् कांग्रेसको समर्थनमा। माओवादीले एमालेका सीता गिरीलाई समर्थन गरेर उपाध्यक्षको उम्मेदवार बनाएको छ। धुर्कोटमा एमाले-माओवादी गठबन्धन र कांग्रेस-समाजवादी गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको हो। यस्तै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा पनि एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ।

एमाले-समाजवादी गठबन्धन

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई अनाधिकृत पार्टी भएको आरोप लगाउने गरेका छन्। माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई अवैधानिक सम्बन्धबाट जन्मिएको पार्टीको आरोप ओलीले केही समय अघिमात्रै लगाएका थिए। तर, स्थानीय तहमा भने एमालेले पनि एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ।

अछामको मेल्लेख गाउँपालिकामा एकीकृत समाजवादी र एमालेबीच चुनावी तालमेल भएको हो। एमालेबाट भीम खड्का र समाजवादीकी समिता महरालाई एमाले-समाजवादीले तालमेल गरेरे चुनावमा उठाएका छन्। तालमेल भएपछि समाजवादीका अध्यक्ष पदका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएका छन्।

एमाले-कांग्रेस गठबन्धन

केन्द्रमा एमालेविरुद्ध सत्ता गठबन्धन रहेको छ। एमालेसँग नमिल्न भन्दै सत्ता गठबन्धनले पटकपटक निर्देशन दिएको थियो स्थानीय संयन्त्रलाई। एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलसँग चनुावी तालमेल गर्नेलाई कारबाही गर्ने गठबन्धनले चेतावनी दिइरहेको छ। केन्द्रमा चेतवानी दिने गठबन्धन दलहरु स्थानीय तहमा भने आफैँले विपक्षी दलहरुसँग तालमेल गरेका छन्। झापाको कचनकवल गाउँपालिकामा कांग्रेसले एमालेसँग चुनावी तालमेल गरेको छ। कांग्रेसका कलेन्द्र सिंह अध्यक्ष पदका लागि र एमालेका नवराज भट्टराई उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छन्।नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबेले सहमतिमै झापामा गठबन्धन बाहिर पनि चुनावी तालमेल भएको बताए। भने, ‘सबैको सहमतिमा गठबन्धन बाहिर पनि तालमेल भएको छ। कुनै असहमतिमा भएको होइन।’

राप्रपासँग मिल्यो कांग्रेस

सत्ता गठबन्धनको चर्को विरोध गर्नेमा अर्को विपक्षी दल हो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)। केन्द्रमा सत्तारुढसँग पानी बाराबारको स्थितिमा रहेको राप्रपा झापाको दमकमा भने कांग्रेस र माओवादी केन्द्रसँग मिलेको छ। दमक नगरपालिकामा मेयर राप्रपालाई दिएर उपमेयर कांग्रेसले लिएको थेबेले जानकारी दिए। उनले एमालेका उम्मेदवारलाई हराउनकै लागि राप्रपासँग तालमेल भएको बताएका छन्। ‘राप्रपाले मेयर र दुईवटा वडा लियो। माओवादीलाई ४ वडा दियौँ र हामीले ४ वटा वडा लियौँ,’ थेबेले भने। एमाले बलियो भएको ठाउँमा एमालेसँग र राप्रपा बलियो भएको ठाउँमा राप्रपासँग तालमेल भएको उनको भनाइ छ।

कांग्रेसलाई हराउन एमाले-माओवादी तालमेल

अरु ठाउँमा जस्तै बाजुरामा पनि केन्द्रीय सत्ता गठबन्धनको सहमति लागु भएन। त्रिवेणी नगरपालिकामा एमालेले मेयर र माओवादीले उपमेयरमा चुनावी तालमेल गरेका छन्। मेयरमा एमालेका मोतीसिंह बुढा र उपमेयरमा माओवादी केन्द्रका मनराज बुढा उम्मेदवार छन्। कांग्रेसले चुनावी भागबन्डा गर्न नमानेपछि उक्त पालिकामा एमाले र माओवादी मिलेर कांग्रेसलाई हराउने गृहकार्यमा लागेका हुन्। यसैगरि बुढीनन्दा नगरपालिकामा पनि एमाले र माओवादीबीच तालमेल भएको छ। एमालेका जनक बोहोरा मेयर र कांग्रेस छोडेका रामबहादुर बोहोरा उपमेयरको उम्मेदवार छन्। सदस्य र वडा अध्यक्षमा माओवादी केन्द्रलाई भागबन्डा मिलाइएको छ।

थवाङमा माओवादीविरुद्ध उभिए कांग्रेस, एमाले र नेकपा

माओवादीको गढ मानिने रोल्पाको थवाङ गाउँपालिकामा पनि केन्द्रको सहमति अनुसारको गठबन्धन बनेन। त्यहाँ कांग्रेस-एमाले र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेल भएको छ। स्वतन्त्र तर्फबाट उठेका नेकपाका दर्जित रोका मगरलाई अध्यक्षमा कांग्रेस र एमालेको समर्थन छ। कांग्रेस र एमालेबाट उम्मेदवार बनेकाहरुले उम्मेदवारी फिर्ता लिएर दर्जितलाई समर्थन गरेका छन्। कांग्रेसका रमेश रोकाले उम्मेदवारी फिर्ता लिएका छन् भने एमालेका नकस घर्तीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएर दर्जितलाई समर्थन गरेका हुन्।

सिन्धुपाल्चोकमा पनि गठबन्धन बाहिर तालमेल

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका र मेलम्ची नगरपालिकामा पनि गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल भएको छ। सुनकोशी गाउँपालिकामा एमाले-माओवादी र मेलम्ची नगरपालिकामा कांग्रेस-राप्रपाबीच चुनावी तालमेल भएको छ। सुनकोशीमा एमालेका टपिन्द्र तिमिल्सिना अध्यक्षमा र उपाध्यक्षमा माओवादी केन्द्रका दुर्गा थापाबीच चुनावी तालमेल भएको छ। यस्तै मेलम्ची नगरपालिकामा कांग्रेसका आइतमान तामाङ मेयरका उम्मेदवार छन् भने राप्रपाका कुमारी स्याङतान उपमेयरको उम्मेदवार छिन्।

गठबन्धन बाहिर तालमेल गर्नेलाई के गर्ने?

गुल्मी, अछाम, झापा, रोल्पा, सिन्धुपाल्चोक र बाजुरामा जस्तै विभिन्न जिल्लाका स्थानीय तहमा सत्ता गठबन्धनका दलहरुले बाहिरका दलसँग पनि चुनावी तालमेल गरेका छन्। कति स्थानीय तहमा गठबन्धनभित्रै तालमेल हुन सकेको छैन। कांग्रेस बलियो अवस्थामा रहेको स्थानीय तहमा माओवादी र एकीकृत समाजवादीलाई भागबन्डामा पाएको छैन भने माओवादीले पनि आफू बलियो अवस्था रहेको ठाउँमा अरु सत्तारुढ दलसँग तालमेल गरेको छैन।

सत्तारुढ दलहरु एमाले र राप्रपासँग मिल्न थालेपछि केन्द्रको गठबन्धनलाई भने टाउको दुखाइको विषय बनेको छ। दैनिकजसो गठबन्धनको बैठकले कारबाही गर्ने चेतावनी दिइरहेको छ। तर, स्थानीय संयन्त्रले भने उक्त निर्णय मानेको छैन। वैशाख १६ गतेको गठबन्धनको बैठकले गठबन्धन बाहिर भएको तालमेललाई खारेज गर्न निर्देशन दिएको थियो। वैशाख १४ गतेको गठबन्धनको बैठकले पनि गठबन्धन बाहिरको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त ७ बुँदे निर्णयमा तालमेल नहुन सकेको ठाउँमा पनि आवश्यक समझदारी कायम गर्ने उल्लेख थियो। वैशाख १८ गतेको गठबन्धनको बैठकले पनि गठबन्धन बाहिर चुनावी तालमेल गर्नेलाई कारवाही गर्ने चेतावनी दियो। माओवादी केन्द्रका नेता देव गुरुङले गठबन्धन बाहिर तालमेल गर्नेलाई सम्बन्धित दलले अनुशासनको कारबाही गर्ने बताए। ‘सम्बन्धित दलले अनुशासनको विषय बनाउने भन्ने भएको छ। यो धेरै पटक भनिसकिएको पनि हो। अब के गर्ने भन्ने विषयमा आइतवार पनि छलफल भएको हो,’उनले भने।

बागी उम्मेदवारी गठबन्धनलाई अर्को चुनौती

सत्ता गठबन्धनको निर्णयबाट असन्तुष्ट बनेका सत्ता घटक दलका नेताहरुले आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका छन्। जसमा पनि सबैभन्दा चर्चामा छ चितवनको भरतपुर महानगरमा कांग्रेसका तर्फबाट परेको बागी उम्मेदवारी। कांग्रेसका जगन्नाथ पौडेलले दिएको बागी उम्मेदवारीलाई फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाणलाई नै खटाएर दबाब दिएको थियो। तर, पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेनु दाहाललाई चुनौती थपिएको छ।

यस्तै, कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्ण मल्ललाई देउवाले पार्टीबाट निष्काशन गरेका छन्। उनले करुवा चुनाव चिह्न लिएर एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले उनीमाथि कारबाही गरेका थिए। पोखरा महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिकामा पनि कांग्रेसलाई बागीको डर छ।

सोचेझैँ नआउन सक्छ परिणाम

सत्ता गठबन्धनले पाँच दललाई स्थानीय तहमा जिताएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पराजित गर्न चुनावी तालमेलको निर्णय गरेको थियो। ६ महानगर र ११ उपमहानगरमा गठबन्धनको केन्द्रको बैठकले नै निर्णय गरेर भागबन्डा गरेको थियो। उक्त भागबन्डा अनुसारकै जित निकाल्न गठबन्धन सक्रिय छ। तर, अरु स्थानीय तहमा भने गठबन्धनले भागबन्डाको जिम्मा जिल्ला र प्रदेशमा गठन गरिएको राजनीतिक संयन्त्रलाई भागबन्डा मिलाउने जिम्मेवारी दिएको थियो।

महानगर र उपमहानगर जसरी नै नगरपालिका र गाउँपालिकामा भागबन्डा हुन सकेन। भागबन्डा हुन नसकेपछि कतिपय स्थानीय तहमा एमालेलाई पराजित गर्न मुस्किल हुने गठबन्धनका नेताहरु नै बताउँछन्। ‘बाहिरको चुनावी तालमेल खारेज भएन भने र एकीकृत समाजवादीलाई हराउने किसिमको योजना बन्यो भने अरु दलहरुसँग पनि गठबन्धन बन्छ। त्यस्तो भयो भने हामीबाट धेरै हुन्छ हेर्नुस्। त्यति धेरै टफ पनि छैन तल। हामीले माथिबाट भनेर हुँदैन। तल मिलिदिन्छ। एमालेको सबभन्दा बढी भोट कटाउने हामी नै हौँ। हामीले जित्ने सुनिश्चित भए मात्रै एमालेले हार्ने हो,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell