PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

केशव स्थापितलाई हुनसक्छ कारबाही, यस्ता छन् कानुनी व्यवस्था



प्रकाश भण्डारी

केशव स्थापितलाई हुनसक्छ कारबाही, यस्ता छन् कानुनी व्यवस्था

काठमाडौँ: नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार केशव स्थापित एक पछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन्। केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा प्रश्नकर्तामाथि रोष प्रकट गर्दै ‘यु आर नाइस लेडी तर थुतुनो ठिक भएन’ भन्ने अभिव्यक्ति दिएर विवादित बनेका थिए स्थापित। फेरि आइतबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले आफ्ना प्रतिद्वन्द्वीमाथि अराजनीतिक टिप्पणी गरेपछि विवादमा तानिएका छन्।

महानगरका पूर्व मेयर समेत रहेका स्थापितलाई मिटुको आरोप समेत लागेको छ। एमालेले उम्मेदवार बनाएपछि उनीमाथि फेरि प्रश्न उठेको हो।

के भनेका थिए स्थापितले?

आइतबार स्थापितले काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आफ्ना प्रतिद्वन्द्वीको आलोचना गर्ने क्रममा गैरराजनीतिक टिप्पणी गरे। नेपाली कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहलाई स्थापितले बहिस्कार गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे। ‘गणेशमानको बुहारी भनेर आएको छ। तर तागतै छैन। तागतै नभएको महिला आएर शहर हाँक्छु भन्न आउने, ऊ हुँदैन। सिधै बहिस्कार गर्नुपर्छ। एक भोट पनि हाल्नुहुँदैन,’ स्थापितले भने, ‘मैले सय वटा इन्टरभ्यू दिइसकेँ। एउटा इन्टरभ्यू पनि दिँदैन।’

उनले अर्का आफ्ना प्रतिद्वन्द्वी तथा स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि पनि टिप्पणी गरेका छन्। स्थापितले अराजनीतिक भाषामा शाहलाई ठग भएको आरोप लगाए।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त, म काठमाडौँमा जन्मेको यो त यहाँको शाह हैन रहेछ। मधेशतिरको शाह रहेछ। सुरुमै यस्तो ठग कुरा गर्‍यो। दर्तावाल ठग। जनतासँग आँखा जुधाएर कुरा गर्न सक्ने आँटै रहेनछ,’स्थापितले जातीयताको विषय समेत उठाएका छन्।

आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने स्थापितका लागि चर्चामा आइरहने अभिव्यक्ति दिनु नौलो विषय भने होइन। तर, आसन्न निर्वाचनको मुखमा प्रतिस्पर्धीमाथि गरिएको उनको टिप्पणी निर्वाचन आचारसंहिता विपरीत देखिन्छ।

के छ आचारसंहितामा?

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०७८ को परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार र भातृ संगठनले पालना गर्नुपर्ने आचरणको बारेमा उल्लेख छ।

जसमा महिला, ज्येष्ठ नागरिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई आँच पुग्नेगरी प्रचारप्रसार गर्न नमिल्ने उल्लेख छ। उम्मेदवार तथा उसको परिवारलाई डर/त्रास देखाउन नमिल्ने, साम्प्रदायिक विद्वेष फैलाउने गरी अभिव्यक्ति दिन नमिल्ने विषय पनि उल्लेख छन्।

स्थापितले सिंहको विषयमा टिप्पणी गर्दा तागतै नभएको महिला भनेका छन् भने शाहलाई तराईको शाह भएको र ठगेको आरोप लगाएका छन्। शाहलाई ‘फुच्चे’सम्म भनेका छन् स्थापितले। आचारसंहिता कानुनी र नैतिक बन्धन भएको भन्दै निर्वाचन आयोगले सरोकारवालालाई सचेत गराउँदै आएको छ।

के हुन्छ कारबाही?

निर्वाचन आयोगले स्थापितको अभिव्यक्तिबारे सचेत भएको बताएको छ। स्थापितको अभिव्यक्ति स्थानीय तह निर्वाचन ऐन २०७३ र निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाहीको भागीदार हुन सक्ने देखिन्छ। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १४(१) मा उम्मेदवारी रद्द हुनसक्ने व्यवस्था छ। निर्वाचन आयोगका एक आयुक्तले स्थापितको अभिव्यक्तिमाथि कारबाही हुने सक्ने बताए।

भने,’स्थानीय तह निर्वाचन ऐन र निर्वाचन कसुर तथा सजाय ऐन अनुसार कारबाही हुन सक्छ। आयोगले सूचना पायो भने जसको पनि हेर्छ। स्थापितका बारेमा हामीले केही दिनअघि पनि सचेत गराएका थियौँ। हामी आफैँ त्यो विषयमा सचेत छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell