PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

एक रनले शतकबाट चुके गाइकवड, चेन्नइले हैदराबादलाई हरायो



पहिलोपोस्ट

एक रनले शतकबाट चुके गाइकवड, चेन्नइले हैदराबादलाई हरायो
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा चेन्नइ सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि जित निकालेको छ। पूणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा चेन्नइले १३ रनको रोमाञ्चक जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०२ रन बनायो। चेन्नइका लागि ओपनर ऋतुराज गाइकवड ९९ रनमा आउट हुँदा १ रनले शतकबाट चुके। त्यस्तै अर्का ओपनर डेभोन कोन्वेले अविजित ८५ रन बनाउँदा रवीन्द्र जडेजा १ रनमा अविजित रहे। त्यसअघि कप्तान महेन्द्रसिंह धोनी ८ रन बनाउँदै पेभेलियन फर्किएका थिए। बलिङतर्फ हैदराबादका टी नटराजनले दुबै विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ६ विकेट गुमाएर १८९ रनमा समेटियो। हैदराबादका लागि निकोलस पुरनले सर्वाधिक अविजित ६४ रन बनाउँदा कप्तान केन विलियमसनले ४७ रन बनाए। त्यस्तै अभिशेक शर्माले ३९ रन, ऐडन मार्क्रमले १७ तथा शशांक सिंहले १५ रन बनाए।

हैदराबादलाई लक्ष्यसम्म पुग्न नदिन चेन्नइका मुकेश चौधरीले सर्वाधिक ४ विकेट लिँदा मिचेन सान्टनर र ड्वेन प्रेटोरिओसले समान १ विकेट लिए।

आजै सम्पन्न पहिलो खेलमा लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्सलाई ६ रनले हराएको थियो। मुम्बइस्थित वानखेडे क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ७ विकेट गुमाएर १८९ रनमा समेटियो।

आजको खेलसँगै चेन्नइले ९ खेलमा तेस्रो जित निकाल्दै ६ अंक जोडेर तालिकाको ९ औं स्थानमा कायम छ भने समान खेलबाट १० अंक जोडेको हैदराबाद तालिकाको चौथो स्थानमा छ। त्यस्तै १४ अंक जोडेको लखनउ दोस्रो र ८ अंक जोडेको दिल्ली छैटौं स्थानमा छन्। तालिकाको शीर्षस्थानमा १६ अंक जोडेको गुजरात टाइटन्स छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell