PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बुटवलमा बाबुराम भर्सेस खेलराज : एमालेलाई साख जोगाउने चुनौती, गठबन्धन भने किल्ला भत्काउने दाउमा



रमेश पराजुली

बुटवलमा बाबुराम भर्सेस खेलराज : एमालेलाई साख जोगाउने चुनौती, गठबन्धन भने किल्ला भत्काउने दाउमा

बुटवल : आसन्न स्थानीय तहको निर्वाचनले रुपन्देही पनि रौनक बढेको छ। जिल्लाको एकमात्र उपमहानगरपालिका र सबैको केन्द्रबिन्दु रहेको बुटवलमा मेयर को जित्ला? सबैको चासोको विषय बनेको अहिले।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी तथा राजनीतिक केन्द्रसमेत रहेको बुटवल एमाले र नेपाली कांग्रेसको जनाधार क्षेत्र हो। त्यसैले पनि बुटवल उपमहानगरमा यसपटक पनि नेकपा एमाले र सत्ता गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यिनै दुई दलमध्ये कुनै एकले बुटवल उपमहानगरको नेतृत्व हत्याउने आँकलन हुन थालेको छ। हाल बुटवल उपमहानगरको नेतृत्व नेकपा एमालेको हातमा छ। तर, पार्टी विभाजन भइसकेका कारण आसन्न निर्वाचनमा एमालेले आफ्नो विरासत जोगाउला कि गुमाउला? चियागफ यही विषयमा हुनेगर्छ।

बुटवल उपमहानगरमा नेकपा एमालेले बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ भने, सत्ता गठबन्धनबाट कांग्रेस नेता खेलराज पाण्डे साझा उम्मेदवार छन्। बाबुराम र खेलराजबीचको भिडन्त चाखपूर्ण हुने देखिन्छ। भट्टराई र पाण्डे दुबै स्याङ्जाबाट बुटवल झरेर राजनीतिमा होमिएका हुन्।

बुटवलमा एमाले विगतको विरासत जोगाउन लागिपरेको छ भने, कांग्रेस एमालेलाई पराजित गरि नेतृत्व फर्काउन कस्सिएको छ। उपमेयरतर्फ एमालेले पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ भने, गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता चीनबहादुर गुरुङलाई साझा उम्मेदवार बनाएको छ।

को हुन् बाबुराम?

सानै उमेरदेखि राजनीतिमा चासो राख्ने भट्टराई २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध भएका हुन्। भट्टराई निर्वाचित भएपछि बुटवललाई नमूना र उत्कृष्ट शहर बनाउने लक्ष्यका साथ आफू लागेको बताउँछन्। बुटवलको पहिचान विस्तार गर्ने, तयार भएका समृद्धिका आधारलाई पनि विस्तार गर्दै एउटा व्यवस्थित, सभ्यतायुक्त, सुन्दर शहरका रुपमा बुटवललाई विकास गर्न सकिन्छ भन्ने प्रष्ट भिजनका साथ आफू निर्वाचनमा होमिएको उनले बताए।

‘हामीले धेरै कुरा भनेर होइन, धेरै काम गरेर जनतालाई विकासको अनुभूति गराउनु छ,’ भट्टराईले भने, ‘दिगो विकास लक्ष्यमा बुटवलका योजना केन्द्रित गरेर बुटवलको आधुनिक विकास गरेर देखाउनेछौं।’ विभिन्न सामाजिक संघसंस्थामार्फत समाजमा शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक उपार्जनका कामलाई आफै नेतृत्व गरेर अगाडि बढाएकोले एमालेको पुरानो भोटसँगै सामाजिक संघसंस्था र व्यवसायीको भोट आफूले पाउने भट्टराईको दावी छ। नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए।

को हुन् खेलराज?

नेविसंघबाट राजनीति यात्रा सुरु गरेका पाण्डे अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेसबाट बुटवल उपमहानगरको मेयरको उम्मेदवार थिए। पाण्डेले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समाधान गर्ने रहेको बताउँदै आएका छन्। ‘लामो समय सामाजिक कार्यकर्ताको रूपमा बुटवलवासीसँगै रहेर काम गरिरहेको छु, अव्यवस्थित बसोबास र भूमिहीन सुकुम्बासीको समस्या समाधान र समृद्ध बुटवल निर्माणका लागि बुटवललाई धुलो, धुवाँ र प्रदूषणमुक्त गर्नुछ, यसलाई नै मेले प्राथमीकतामा राखेको छु,’ उनले भने। पाण्डेले आफूलाई सामान्य, सरल तथा प्रष्ट वक्ताको रूपमा प्रस्तुत गर्ने गरेका छन्।

बुटवल उपमहानगरको सभापति समेत रहेका पाण्डे मेयरमा चुनाव लड्न एक वर्षअगाडिदेखि नै चुनावी रणनीति बनाएर उत्रेका थिए। यसपटक पाण्डेलाई जित्नैपर्ने दबाव छ भने भट्टराईलाई एमालेको किल्ला जोगाउनुपर्ने चुनौती छ।

उपमेयरका उम्मेदवारको दाबी यस्तो

एमालेबाट उपमेयरका उम्मेदवार अर्यालले आफ्नो जीवन नै महिला र सामाजिक विकासमा समर्पित रहेको र एकपटक नेतृत्व तहमा रहेर काम गर्न चाहेको बताउछिन्। बुटवलमा सुरक्षा, सहज यातायात व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका एजेण्डा प्राथमिकतामा रहेको अर्यालको भनाई छ। त्यस्तै गठबन्धनबाट उपमेयरका साझा उम्मेदवार गुरुङले बुटवलबासीले परिर्वतन खोजेकोले आफू निर्वाचनमा होमीएको बताए। उनले बुटवलबासी हुँदा भन्दा गर्व गर्न लायक शहर बनाउने प्रतिबद्धता जनाए।

सधैँ एमालेको ‘दवदवा’ रहेको बुटवल पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्रसँगै एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्रसमेत हो। एमाले उपाध्यक्ष पौडेलले २०६४, ०७० र ०७४ सालको निर्वाचनमा लगातार भारी मतका साथ निर्वाचित भएर ‘हयाट्रिक’ गरेका छन्। शिक्षा, स्वास्थ्य, र भौतिक पूर्वाधारको विकासमा पौडेलले रूपन्देहीलाई धेरै अगाडि बढाएका छन्।

यस्तो थियो अघिल्लो चुनावको नतिजा

२०७४ को निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि बुटवलमा एमालेले एक्लै बाजी मारेको थियो। तर, मेयरमा धेरै मतान्तर नभएकाले यसपटक एमाले ढुक्क हुने अवस्था छैन। बुटवल क्षेत्रमा एमाले विभाजनको प्रभाव पनि परेको छ। अहिले पनि कांग्रेसलाई सत्तागठबन्धनका अन्य दलहरुले सहयोग गरेका छन्। यता एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको छ।

अघिल्लो निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी बुटवलको मेयरमा एमालेबाट शिवराज सुवेदी र उपप्रमुखमा गुमादेवी आचार्य निर्वाचित भएका थिए। सुवेदीले २३ हजार २४९ मत प्राप्त गरी मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका पाण्डेले २० हजार ८५१ मत पाएका थिए। सुवेदी र पाण्डेको मत २ हजार ३९८ को अन्तर थियो। उक्त निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीका जनकबहादुर थापा मगरले एक हजार १५१ मत पाएका थिए।

यस्तै, उपप्रमुखमा आचार्यले २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् भने माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार ७९२ मत मात्र थियो। १९ वटा वडा रहेको बुटवलमा १५ वटामा एमालेका उम्मेदवारर निर्वाचित भएका थिए।

बुटवलमा अहिले २४ हजार नयाँ मतदाता थपिएका छन्। गएको निर्वाचनमा ६६ हजार ९० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६५ पुगेका छन्। ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell