
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका छन्।
जनकपुरधाम उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज कुमार साह धर्नामा बसेका छन्। साहले चुनाव चिन्ह घण्टाघर पाएका छन्।
निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन बितिसक्दा पनि निर्वाचन कार्यालयको वेबसाइटमा रहेको नमुना मतपत्रमा १५ जना स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह नरहेको भन्दै उनी धर्नामा बसेका हुन्।
साहले भने, ‘मतपत्रमा आजसम्म पनि स्वतन्त्र उम्मेदवारहरुको चिन्ह नै नरहेपछि जनतासँग मत कसरी माग्ने, कुन आधारले माग्ने, हामीलाई निर्वाचन आयोगमाथि नै शंका भएकाले धर्नामा बस्नु परेको छ।’
उनले थपे, ‘मतपत्रमा चुनाव चिन्ह सच्याएर अहिले देउ, होइन भने निर्वाचनको मिति पर सार्नुपर्छ।’
उनले मतपत्रमा चुनावी चिन्ह नसच्याएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत दिए।