PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अघिल्लो वाचा पूरा गर्न नसकेका सरावगी भन्छन् : अब ग्रेटर वीरगंज बनाउँछु



राधेश्याम पटेल

अघिल्लो वाचा पूरा गर्न नसकेका सरावगी भन्छन् : अब ग्रेटर वीरगंज बनाउँछु

वीरगंज : मधेश प्रदेशको एकमात्र महानगरपालिका हो आर्थिक नगरी वीरगंज। अहिले राजनीतिक दलहरु स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा केन्द्रित छन्। वीरगंज महानगरमा स्थानीय सरकारको नेतृत्व लिन दलहरु मतदाता रिझाउन व्यस्त छन्। पूर्वाधार विकासका वाचादेखि शिक्षा, स्वास्थ्य लगायतका विषय दलहरुको प्राथमिकतामा छ। 

वीरगंज महानगर प्रमुखका लागि नेकपा एमालेबाट निवर्तमान प्रमुख विजयकुमार सरावगी नै चुनावी मैदानमा छन्। एक महिना अघिमात्रै जनता समाजवादी पार्टी (जसपा) छाडेर उनी एमाले प्रवेश गरेका थिए। जसपाकै जिल्ला तह,प्रदेश र केन्द्रीय नेतासँग असन्तुष्ट सरावगी सुरुमा नेपाली कांग्रेसमा जाने सोचमा थिए। तर, कांग्रेसले प्रमुखमा उठाउन ग्रिन सिग्नल नदिँदा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिकका मोती दुगडको प्रयासमा एमालेमा प्रवेश गरेका थिए।

अहिले घरदैलोमा व्यस्त सरावगीलाई एमाले नेता कार्यकर्ताको विश्वास नै जित्न धौधौ छ। त्यसैले अहिले नै फेरि चुनाव जित्ने दाबी गरिरहेका छैनन् उनी।

 भने,‘अभिन रोज मिटर उठता आ गिरता(अहिले सधै मिटर उठिरहेको छ,खसिरहेको छ)। त्यसैले केही यकिन साथ भन्न गाह्रो छ। तर, मौन अवधि सम्म सबै क्लियर हुदै जान्छ,कसले बाजी मार्ने हो।’

वीरगंजमा ५ दलीय गठबन्धन र एमाले–लोसपाको गठबन्धन बिच नै मुख्य प्रतिस्पर्धा हुने उनको आंकलन छ। गठबन्धनमा भएको सहमति अनुसार वीरगंज महानगरमा जसपाबाट राजेशमान सिंह चुनावी प्रतिस्पर्धामा छन्।

‘मेरो र राजेशमानजी बिच मुख्य लडाइँ हो। अन्य प्रतिस्पर्धीहरु पनि हुनुहुन्छ। हेर्दै जाऔं कसको भागमा के पर्छ,’ उनले भने।

सरावगीले निर्वाचन ‘ब्याटल’मा जनताले ‘ब्यालेट’ मार्फत राम्रो उम्मेदवार नजितेसम्म विकासका चाहना पूरा नहुने बताए।

‘जनताको हातमा बुलेट होइन, ब्यालेट छ। जनताले ब्यालेटले जब सम्म सही मानिसलाई चुन्दैनन्,तब सम्म उनीहरुको सिकायत दूर हुँदैन,’उनले भने।

यसअघिको कार्यकालमा आफूले सक्ने जति काम गर्न नसकेको स्वीकारे। स्थानीय सरकारको नेतृत्व गरेका उनले धेरै समय नीति नियम बनाउन र प्रणाली बसाल्न नै गएको दाबी गरे। साथै, दुई वर्ष कोरोना भाइरस महामारीका कारण पनि कामहरु प्रभावित भएको उनको तर्क छ।

‘यसअघिको घोषणापत्रमा भएका प्रतिबद्धताहरु भने पूरा गर्न सकिएन,’ उनले भने।

आफ्नो कार्यकालमा वीरगंज महानगरको ३२ वटा वडामा २४० किमि सडक, १७४ किमी नाला, नयाँ बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, सडक निर्माणलाई प्राथमिकता दिएको उनले सुनाए।

उनको योजनामा रहेको वीरगंजको घण्टाघर सडक भने पाँचवर्षसम्म अलपत्र रह्यो। सरावगी भने उक्त सडक नबन्नुमा सडक विभागको दोष रहेको बताउँछन्।  

फेरि प्रमुखमा जिते ‘ग्रेटर वीरगंज’को रोड म्याप लागू गर्ने उनले बताए। त्यसका लागि सबै योजना तयार पारिसकेको उनले बताए।

‘ईसिपी भन्सारको अगाडि नयाँ वीरगंज शहरको परिकल्पना गरेको छु। १२ अर्बको योजनाले वीरगंजको पश्चिममा रहेको श्रीसिया खोलालाई बागमति कोरिडोर बनाउने पनि योजना छ’ उनले योजना सुनाए।

सरावगीले ‘ग्रेटर वीरगंज’ को सपना देखाइरहँदा पुराना वाचा भने अधुरै छन्। सार्वजनिक जग्गा उनले फिर्ता ल्याउन सकेनन्। वीरगंजको नगर सभागृह, घडिअर्वा पोखरी, स्वीमिङलाई तीन पार्टीको नेताहरुको कब्जामा रहेका छन्। यसबारेमा भने उनी कानुनी अड्चन भएको तर्क दिँदै पन्छिए। आफूले प्रयास गरे पनि अख्तियारको कारण पछि हट्नु परेको उनको दाबी थियो।

 ‘यी सबै ठाउँ पहिलेदेखि लिजमा दिइएको छ। मैले प्रयास गरेँ, तर कानुनी जटिल्ताको कारण सकिन्न। तर अब जितेपछि सबैभन्दा पहिले ती ठाउँहरुलाई वीरगंज महानगरको आम्दनीको स्रोतको रुपमा उपयोगमा ल्याउन पहल थाल्ने छु,’ उनले आश्वासन दिँदै भने।

२०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भइ भत्ता र गाडी सेवा नलिने घोषणा सरावगीले गरेका थिए। तर, उनी आफ्नो वाचामा अडिग रहेनन्। डेढ करोड मूल्य पर्नेको बिलासी गाडी किने सरावगीले प्रयोगका लागि।  सरावगी भने घर अघि बम राखे पछि सुरक्षाको दृष्टिकोणले गाडी किनेको बताउँछन्।-

‘मैले भनेर पनि लिएँ। तर त्यो सुरक्षा थ्रेटको कारण थियो’ उनले भने।

सरावगी जसपाका नेताको ‘टर्चर’ का कारण एमालेमा प्रवेश गरेको बताउँछन्। एमालेले मौका दिएका कारण निर्वाचनमा राम्रो मत ल्याउनेमा उनले विश्वास जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell