PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

निर्वाचन आयोगले केशव स्थापित र 'ओरेक'लाई सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

निर्वाचन आयोगले केशव स्थापित र 'ओरेक'लाई सोध्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ।

नेकपा (एमाले)का तर्फबाट मेयरको उम्मेदवार बनेका स्थापित बैशाख १५ गते काठमाडौंमा आयोजित कार्यक्रममा महिला प्रश्नकर्तामाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए। प्रश्नकर्ताले स्थापितमाथि लागेको 'मिटु' आरोपबारे प्रश्न गरेकी थिइन्। जवाफमा स्थापितले 'यु आर नाइस लेडी। तर थुतुनो ठिक भएन' भन्दै प्रश्नकर्तामाथि टिप्पणी गरेका थिए।

उक्त टिप्पणी चरित्र हत्याको विषय भएको निर्वाचन आयोगका एक आयुक्तले जानकारी दिए। स्थापितको अभिव्यक्तिबारे आयोगमा उजुरी परेपछि उनलाई २४ घण्टे स्पष्टीरकण सोधिएको आयोगले जनाएको छ। 

'कसैको चरित्र हत्या गर्न त मिलेन नि, त्यसैले हामीले स्पष्टीकरण सोधेका हौं,' ती आयुक्तले भने।

निर्वाचन ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आचारसंहिताका आधारमा स्थापितलाई स्पष्टीकरण सोधिएको हो।

स्थापितले आइतवार मात्रै पनि मेयर पदका प्रत्याशी बालेन शाह र सिर्जना सिंहमाथि अराजनीतिक टिप्पणी गरेका थिए। उक्त विषय पनि कारबाहीको विषय भएको आयोगले बताएको छ।  

यस्तै, आयोगले महिला पुनस्थापन केन्द्र (ओरेक)ले पनि अनावश्यक सूचना सम्प्रेषण गरेको भन्दै स्पष्टीकरण सोधेको छ। ओरेकले स्थापितविरुद्ध विज्ञप्ति निकालेको थियो। आयोगले उम्मेदवारको विरुद्ध अप्रमाणित तथ्यलाई आधार बनाएर विज्ञप्ति निकाल्न नमिल्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell