
काठमाडौं: स्थानीय तहको आसन्न निर्वाचनमा विभिन्न पदमा प्रतिस्पर्धामा रहेका महिला उम्मेदवारहरूले महिला केन्द्रित एजेण्डालाई प्राथमिकतामा राख्ने बताएका छन्। महिला सञ्जाल संकल्प र गैरसरकारी संस्था महासंघद्वारा आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसबाट टोखा नगरपालिकामा प्रमुखको उम्मेदवार रजनी थापाले सहभागिता बढाउन महिला स्वयम अगाडि बढ्नुपर्ने धारणा राखिन।
‘म महिलासँगै युवा पनि हुँ। देशभरिका महिलाहरू मिलेर हातेमालो गरेमा महिलाहरूलाई कुनै पनि पदमा लड्न आरक्षण चाहिँदैन। किनकी त्यो दिन हामी सक्षम हुनेछौँ’, उनले भनिन।
कांग्रेसले सधैं महिलाहरूलाई अगाडि सारेको काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले बताइन्। सिंहले महिलाका समस्या र मुद्धालाई नजिकबाट बुझेको दाबी पनि गरिन।
महिलाहरूलाई जुनसुकै समय र स्थानमा सुरक्षित महसुस गर्नसक्ने वातावरण निर्माण गर्नु पहिलो दायित्व भएको उनले बताइन।
उनले भन्छिन्, ‘काठमाडौंमा पनि महिलाहरू सुरक्षित छैनन्। सुरक्षाका हिसाबले महिलालाई राति हिँड्न निकै जोखिम हुन्छ। काठमाडौंका सडकमा बत्ती र सिसिटिभीको व्यवस्था गर्नु मेरो प्रमुख दायित्व हुनेछ। त्यस्तै, जागिरे महिलाहरुलाई बालबच्चा हेर्दिने ठाउँको अभावले जागिर छोड्नुपर्ने बाध्यता छ। म बच्चाहरूको हेरचारका लागि शिशु स्याहार केन्द्र खोल्ने छु।’
काठमाडौंबाट विवेकशील साझा पार्टीको मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाले आफू काम गरेर देखाउन हतारिएको बताइन। सतारूढ दलहरुको गठबन्धनले महिलाको ३३ प्रतिशत सहभागिताको कानुनी प्रावधान भत्काएको बाँस्कोटाको भनाई छ।
‘गठबन्धन सरकारले ३३ प्रतिशतको आन्दोलनलाई कता पुर्याइदियो मुल्याङ्कन तपाईंहरू नै गर्नुहोला। दिनरात सडकमा आन्दोलन गरेर सुरक्षित गरिएको ३३ प्रतिशत आरक्षणलाई पनि गठबन्धन सरकारले अझ तल झारिदिएको छ। ३३ प्रतिशतलाई ५० माथि पुर्याउने यहाँहरूलाई मेरो प्रतिबद्धता छ,’ उनले भनिन्।
काठमाडौं महानगरमा एमालेबाट उपमेयरको उम्मेदवार सुनिता डंगोलले नयाँ पुस्ताले राजनीतिमा नेतृत्व गर्नुपर्ने धारणा राखिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरमा उपमेयरको उम्मेदवार विनीता मगैयाले महिला सुरक्षाका विषयमा काम गर्ने बताइन्।
कार्यक्रममा राप्रपाबाट ललितपुर महानगरमा उपमेयरको उम्मेदवार स्वर्णिम शाक्य, विवेकशील साझाकी काठमाडौं महानगरमा उपमेयरकी उम्मेदवार कृति तुलाधार लगायतले आफूहरूले जितेमा महिलाका मुद्धालाई प्राथमिकतामा राख्ने बताए।