PahiloPost

Jul 3, 2024 | २० असार २०८१

'भारतीय प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने'



पहिलोपोस्ट

'भारतीय प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने'
Photo: zeenews.india.com

काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी भइरहेको छ। मोदी बुद्ध जयन्तीको दिन पारेर लुम्बिनीमा आयोजना हुने कार्यक्रममा नेपाल आउने तयारी भइरहेको छ।

भारतीय पत्रिका दि हिन्दुको अनलाइन संस्करणमा मोदी मे १६ मा नेपाल आउने तयारी भइरहेको जनाएको छ। बुद्ध पूर्णिमाको दिन पारेर मोदी नेपाल भ्रमणमा जाने स्रोतले पुष्टि गरेको हिन्दुको समाचारमा उल्लेख छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल आउन लागेका मोदी देउवासँगै लुम्बिनीमा सहभागी हुने बताइएको छ।

गत महिना मात्र प्रधानमन्त्री देउवा भारत भ्रमण गरेका थिए। दुबै देशका विदेश मन्त्रालयले भ्रमणको मिति सार्वजनिक गरिसकेका छैनन्। नेपालका लागि भारतीय राजदूत आइनसकेको कारण भ्रमणको मिति तय हुन नसकेको परराष्ट्र स्रोतले बतायो।

'भ्रमणको तयारी भइरहेको छ। प्रधानमन्त्रीको भारत भ्रमणदेखि नै उताबाट पनि उच्चस्तरीय भ्रमणको तयारी भइरहेको हो,' परराष्ट्रका एक अधिकारीले भने, 'अहिले भारतका राजदूत छैनन्। उनी आएपछि मिति तोकिन्छ। बुद्ध जयन्तीको आसपासमै हुन सक्छ।'

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा सरुवा भएर गएपछि राजदूत खाली छ। क्वात्राले आइतबारदेखि विदेश सचिवको कार्यभार सम्हालेका छन्।

हिन्दुले भारतले विदेश मन्त्रालयका उच्च अधिकारीलाई राजदूतको रुपमा नेपाल पठाउन लागेको जनाएको छ। समाचारमा मोदीले मायादेवी मन्दिरमा पूजा गर्ने बताइएको छ। त्यसका लागि भारतीय अधिकारीहरुले लुम्बिनीको भ्रमण गरी तयारी गरिसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell