
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले राजस्थानमाथि ७ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५४ रन बनाउँदा सिमरन हिटमायरले अविजित २७, जोस बटलरले २२ तथा रियान परागले १९ रनको योगदान दिए। बलिङतर्फ कोलकत्ताका टिम साउथीले सर्वाधिक २ विकेट लिँदा उमेश यादव, अनुकुल रोय र शिवम माभीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले ५ बल बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो। कोलकत्ताका लागि नितिश रानाले सर्वाधिक अविजित ४८ रन बनाउँदा रिंकु सिंह ४२ रनमा अविजित रहे। त्यस्तै कप्तान श्रेयस ऐय्यरले ३४ र बाबा इन्द्रजितले १५ रनको योगदान दिए। बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद कृष्णा र कुलदीप सेनले समान १ विकेट लिए।
जितसँगै लगातार पाँच खेलमा पराजय ब्यहोरेको कोलकत्तालाई राहत मिलेको छ। कोलकत्ता १० खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ राजस्थानले शीर्ष दुईमा उक्लने अवसर गुमाएको छ। रोयल्स १० खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ।