काठमाडौं : नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नम्बर १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
संघीय राजधानी काठमाडौं उपत्यकाको मौसम सफा रहेको छ। बिहानैदेखि पारिलो घाम लागेको छ।
महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २८ दशमलब सात र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ। बितेको २४ घण्टामा काठमाडौंमा ४३ दशमलव सात मिलीमिटर वर्षा भएको छ।