PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एलओडीको भीभीआइपी टेबलमा राहुल गान्धीको पार्टी, एक रातमा कति गरे खर्च?



पहिलोपोस्ट

एलओडीको भीभीआइपी टेबलमा राहुल गान्धीको पार्टी, एक रातमा कति गरे खर्च?

काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी सोमबार राति ठमेलको लर्ड अफ ड्रिङ्क्स (एलओडी) पुगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। राहुल गान्धी काठमाडौंको क्लबमा गएको विषयलाई लिएर भारतमा चर्को बहस सुरु भइसकेको छ।

हिजो दिउँसो भिस्तार एयरलाइन्सको विमान मार्फत् राहुल काठमाडौं ओर्लिएका थिए। निजी भ्रमणका सिलसिलामा उनी सोमबार दिउँसो पौने ५ बजेतिर काठमाडौं ओर्लिए। राति साढे १० बजेतिर भने उनी एलओडी पुगे।

होटलमा केही बेर बसेर फ्रेस भएपछि उनी ठमेलको एलओडी पुगेका थिए। साथी सुम्‍निमा उदासको विवाहमा सहभागी हुन राहुल गान्धी काठमाडौं आएको बताइएको छ। त्यसैक्रममा उनी काठमाडौंको रात्रि जीवन हेर्न ठमेल पुगेका थिए। रोचक त के भने भारतका हाइ प्रोफाइल राजनीतिक व्यक्तित्व क्लबमा पुग्दा एलओडीका सञ्चालक नै आश्चर्यमा परेका थिए।

'साढे १० बजेतिर आउनु भएको थियो। १२/१५ जना साथीसँग आउनु भएको थियो,' क्लवका एक सञ्चालकले भने। उनीसँगै केही विदेशी पाहुना समेत थिए। राहुल एलओडी पुगेपछि क्लवले नै उनको सुरक्षा व्यवस्था मिलाएको थियो।

राहुलको समूहले क्लबको भीभीआइपी टेबल नै बुक गरेको थियो। टेबल गान्धीको नाममा नभएर अरु नै साथीको नाममा बुक भएको क्लबका ती संचालकले जानकारी दिए। गान्धी बसेको टेबुलको औशत मूल्य साढे १ लाख रुपैयाँ पर्छ। त्यसबाहेक बसेर खाएको खर्च थप हुने सञ्चालकले बताए। उनका अनुसार राहुल र उनका साथीहरुले करिब २ देखि ३ लाख रुपैयाँ खर्च गरेका छन्।

गान्धी आफ्ना साथीभाइसँग क्लबमा बसेको भिडियो सार्वजनिक भएपछि हामीले सोधेका थियौं उनको सुरक्षा व्यवस्थाबारे। रहुल एलओडी पुग्दा उनीसँग कुनै पनि सुरक्षाकर्मी थिएनन्।

'हामीलाई कुनै पनि सुरक्षा मिलाउनु भनेर जानकारी आएको छैन। हेडक्वाटरबाट नै सुरक्षा व्यवस्था मिलाएको हो भने थाहा भएन,' काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक उच्च प्रहरी अधिकृतले भने।

२०७५ भदौमा पनि उनी सुटुक्क नेपाल भ्रमणमा आएका थिए। त्यतिखेर पनि उनी अनौपचारिक रुपमा विभिन्न स्थानमा देखिएका थिए। यसपाला पनि उनको शैली पहिलेकै जस्तो देखिएको छ। राहलु ४/५ दिन नेपाल बस्‍ने बताइएको छ। यस अवधिमा उनले नेपालका पर्यटकीय क्षेत्रमा घुमफिर गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell