
हेटौंडा : नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। हेटौंडा उपमहानगरपालिकालाई लिएर मंगलबार एक कार्यक्रमकाबिच प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
प्रतिबद्धतापत्रमा उपमहानगरपालिकावासीलाई ३०० युनिटसम्मको बिजुली नि:शुल्क प्रदान गर्नेदेखि प्रत्यक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ। ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ। यस्तै, एक घर एक रोजगारीलाई प्राथमिकता राख्नुका साथै न्युन मध्यम व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
नगरभित्र हरेक घरमा मासिक १० हजार लिटर खानेपानी नि:शुल्क गर्ने पनि वाचा गरिएको छ। हेटौंडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
‘हामी निर्वाचित भएपश्चात् उपमहानगरभर दशहजार लिटरसम्म खानेपानी नि:शुल्क वितरण गर्नेछौं। न्यूनतम विद्युत पनि नि:शुल्क वितरण गर्ने योजना हाम्रो छ’,उनले भनिन्।
उपमहानगरको १९ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण गरी डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराइने गठबन्धनबाट उपप्रमुखका उम्मेदवार राजेश बानियाँले बताए।
हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरु प्रतिबद्धता जनाएका छन्। यस्तै, नगरभित्रका नदी खोलाहरुको व्यवस्थापन गरि अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्कहरु निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको छ। धार्मिक क्षेत्रहरुको सुधार तथा प्रवर्द्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैँचा बनाउने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ।
नगरमा सुविधासम्म सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन गर्ने कुरामा पनि गठबन्धनका उम्मेदवारहरुले जोड दिएका छन्। नगरस्तरीय नाट्यशाला र प्रज्ञा प्रतिष्ठानको स्थापना, प्रवर्द्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धनले अघि सारेको छ।