काठमाडौं : पाँच दलीय गठबन्धनले चितवनमा बिहीवार चुनावी सभा गर्ने भएको छ। भरतपुर महानगरपालिकाको निर्वाचनलाई लक्षित गरि गठबन्धनले चुनावी सभा आयोजना गर्न लागेको हो।
सभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने छन्।
भरतपुर महानगरमा गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र डेप्युटी मेयरमा कांग्रेसका चित्रसेन अधिकारीको उम्मेदवारी छ। यहाँ गठबन्धनविरुद्ध कांग्रेसका नेता तथा पूर्व सांसद जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका छन्।
कांग्रेसको असन्तुष्ट पक्षलाई सम्बोधन गर्नका लागि चितवनमा आयोजना हुने सभामा सभापति देउवासँगै महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला लगायत समेत चितवन पुग्ने पाँच दलीय गठबन्धनको चुनाव प्रचार प्रसार समितिले जनाएको छ। सभामा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरु पनि जाने बताइएको छ।