काठमाडौं : नेपाली राष्ट्रिय फुटबलमा देखिएको विवाद बारे छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीहरुलाई बोलाएका छन्।अध्यक्षले खेलाडीहरुलाई बोलाए पछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारसँग असन्तुष्ट बनेका खेलाडीहरु छलफलको लागि जाने भएका छन्।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर खेलाडी अध्यक्ष शेर्पालाई भेट्न सातदोबाटो गएका हुन्।
'व्यवस्थापनको पक्षमा कोचले हात नहालेको भए हुन्थ्यो कि। संघमा सबै समितिहरु हुन्छ त्यसैले समस्या हल गर्नु पर्ने हो। त्यो नभएको देखियो। अन्तिममा यो विवाद समाधान गर्ने जिम्मा पनि एन्फाकै हो' सदस्यसचिव र खेलाडीबीचको छलफलको समन्वय गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसँगका अध्यक्ष दीपक श्रेष्ठले भने।
'मैले फोन गरेर त सोधेँ के भएको भनेर। गल्ती कस्को भनेर क्लियर गर्नु पर्छ। तपाईहरु निरास नहुनुस्।' सदस्यसचिव घिसिङलाई उदृत गर्दै ओलम्पियन दीपक बिस्टले भने।
घिसिङले पहिलेदेखि आफूले घटनाको विषयमा चासो राखेको र विवाद सुल्झाउन एन्फालाई भन्ने आश्वासन दिएको बिस्टले बताए।
एकसाता अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरी र खेलाडीबिचको मनमुटाव छरपस्ट भएको थियो। नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टिमको कप्तानी गरिरहेका रोहित चन्दले पोषणयुक्त खाना र बसोबासलगायत टिम व्यवस्थापनबारेको विषय उठाएपछि विवाद सुरु भएको थियो।
विवाद बढ्दै गएपछि खेलाडीहरुले प्रशिक्षण शिविर नै छाडेका थिए। टोलीका १० जना सिनियर खेलाडी बन्द प्रशिक्षणबाट सरुको चरणमा बाहिरिएका थिए। उनीहरुको ठाउँमा अलमुतारीले नयाँ खेलाडी बोलाएर प्रशिक्षण सुरु पनि गरिसकाे छन्।