PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

भरतपुरबारे गठबन्धनको संकल्पपत्र: १६ वर्षमुनिका बालबालिकाको उपचार नि:शुल्क, यस्ता छन् वाचा



पहिलोपोस्ट

भरतपुरबारे गठबन्धनको संकल्पपत्र: १६ वर्षमुनिका बालबालिकाको उपचार नि:शुल्क, यस्ता छन् वाचा
महानगर प्रमुख उम्मेदवार रेनु दाहाल र उप्रमुख उम्मेदवार चित्रसेन अधिकारी

काठमाडौं : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको छ। आज आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले संकल्प पत्र जारी गरेका हुन्।

संकल्प पत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक ५ हजार रुपैयाँ भत्ता दिइने सहितका कार्यक्रम समावेश गरिएको छ।

विद्यालय शान्ति क्षेत्रको मान्यता दिँदै २० प्रतिशतसम्म बजेट विनियोजन गरिने वाचा गरिएको छ। संकल्प पत्रमा एक परिवारलाई मासिक ६ हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गरिने उल्लेख छ। त्यसैगरी दूधमा प्रतिलिटर तीन रुपैयाँ दिइँदै आएको अनुदानलाई वृद्धि गरिने, विपन्न, मजदुर, किसानलाई ५८ वर्षको उमेरपश्चात पेन्सनको व्यवस्था मिलाइने उल्लेख छ । सोह्र वर्ष मुनिका बालबालिकाको स्वास्थ्योपचार निःशुल्क गर्ने र घरघरमा कम्तिमा एक जनालाई रोजगारको अवधारणालाई आत्मसाथ गर्दै स्वःरोजगारको सृजना गर्ने वातावरण बनाइने संकल्प पत्रमा उल्लेख छ।

विद्यालय उमेर नाघेका निरक्षर किशोर किशोरीका लागि सरकारी तवरबाटै खुला विद्यालय स्थापना गरिने, जिल्लाभित्र रहेका ६० भन्दा बढी पर्यटकीय गन्तव्यहरू, दर्शनीयस्थल, गढी र झर्ना आदिको पहिचान गरि पूर्वाधार विकास तथा सौन्दर्यकरण गर्ने, जिल्ला भ्रमणको प्याकेज निर्धारण गरी पर्यटक आकर्षण बढाइने योजना गठबन्धनको छ। यस्तै, प्राङ्गारिक खेती उत्पादन गर्ने वडालाई प्राङ्गारिक वडा घोषणा गरिने, जलवायु अनुसारको फलफूलको बोट बिरुवा रोप्न ‘एक बोट, सयको नोट’ नारासहित प्रोत्साहित गरिने, अव्यवस्थित खरका घरमा जस्तापाता गराइने उल्लेख छ।

गठबन्धनले प्रतिपरिवार ३० यूनिटसम्म विद्युत् उपभोग गर्नेलाई निःशुल्क दिने समेत जनाएको छ। वडाभित्र रहेका ६ मिटरको मापदण्ड पूरा गरेका सबै सडकहरू कालोपत्र गरिनेछ र वडा तहमा कम्तिमा दुई वटा सुलभ मूल्यका सहकारी पसल स्थापना र संचालन गर्ने वा गरेका संस्थालाई आर्थिक सहयोग गर्ने, स्वदेशी वाचा गरिएको छ।

एकीकृत सम्पत्ति करलगायत स्थानीय करका दर रेटमा पुनरावलोकन गरी दोहोरोतेहोरो कर खारेज गरिने संक्लप गरिएको छ। सामाजिक संघसंस्थालाई निश्चित मापदण्डको आधारमा वर्गीकरण गरिनेछ र नारायणी कलामन्दिरलाई कला केन्द्रहरूको स्तरोन्नती गरिने उल्लेख छ।

उपभोग्य सामग्रीहरूमा उत्पादन गर्ने कम्पनी, ट्रेड मार्क, उत्पादन भएको मिति, ब्याच नं, उपभोग गर्न मिल्ने समयावधि सहितको विवरण अनिवार्य गरिने, महानगरमा ट्रली बस संचालनको सम्भाव्यता अध्ययन गरी महानगर, उद्योग वाणिज्य संघ समेतको साझेदारीमा अर्को पाँच वर्षभित्र संचालनमा ल्याउने व्यवस्था मिलाइने संकल्प गरिएको छ। यस्तै, जिल्लामा चक्रपथ रामनगरदेखि पहाडको फेदिहुँदै पिपलटार, खेतबारी, स्याङदी, गर्दास, गैरीबारी, शक्तिखोर, जुटपानी, पिठुवा चैनपुर, भण्डारा, लोथरहुँदै लोथरखोला र राप्ती खोलाको तटबन्धनसहित भण्डारा कुमरोज सौराहा पटिहानी जगतपुर, चनौली, मेघौली, गोलाघाट, नारायणीको किनारै किनार तटबन्धनसहित गुञ्जनगर, झन्नझने, शिवघाट रामघाट नारायणगढ हुँदै रामनगरसम्म अत्याधुनिक वातावरणमैत्री सडक सुरु गरिने उल्लेख छ।

कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी दाहाल र उपप्रमुखका प्रत्यासी अधिकारीले महानगरको विकासका लागि गरिएका संकल्प पूर्ण रूपमा कार्यान्वयनका लागि गठबन्धनको जित सुनिश्चित आवश्यक रहेको बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell