PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

६ महानगरका १२ मेयर उम्मेदवार: को कति विवादित?



प्रकाश भण्डारी

६ महानगरका १२ मेयर उम्मेदवार: को कति विवादित?

काठमाडौँ: आसन्न स्थानीय तहको निर्वाचनमा ६ महानगरको चुनावलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन्। उम्मेदवार चयनदेखि दलहरुले बनाएको काउन्टर रणनीति महानगर केन्द्रित छ। मुख्य प्रतिस्पर्धामा छन् सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार। स्वतन्त्र उम्मेदवार पनि राजनीतिक दलका उम्मेदवारको जित/हारमा निर्णायक हुने देखिन्छन्। सत्ता गठबन्धनले महानगरमा जसरी पनि एमालेलाई हराउने रणनीति अनुसार केन्द्रबाटै भागबन्डा गरेको थियो। एमाले पनि गठबन्धनलाई महानगरमै हराउनुपर्ने दबाबमा छ। केन्द्रबाटै उम्मेदवार चयन गरेको एमालेले ६ महानगरमै रणनीतिक उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ। सत्ता गठबन्धन, विपक्षी दल र स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका जति चर्चित छन् त्यति नै विवादित पनि। उम्मेदवार कतिसम्म विवादित छन् भने निर्वाचन आयोगलाई आचारसंहिता विपरीत उम्मेदवारले बोलेको भन्दै स्पष्टीकरण समेत सोध्नुपरेको छ।

केशव भर्सेस् सिर्जना : कसका कस्ता विवाद?

काठमाडौं महानगरमा एमाले र सत्ता गठबन्धनका उम्मेदवारको मात्रै होइन स्वतन्त्र र साना दलका उम्मेदवारको पनि चर्चामा छन्। बालेन शाह र सुशील थापा स्वतन्त्रबाट उम्मेदवार छन् भने विवेकशील साझाबाट समीक्षा बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मदनदास श्रेष्ठ चुनावी मैदानमा छन्। स्वतन्त्र र साना दलका उम्मेदवाको चर्चा भए पनि मुख्य प्रतिस्पर्धा कांग्रसकी सिंह र एमालेका स्थापितको हुने देखिन्छ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि एमाले-कांग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा भयो।

२५ वर्षअघि नै काठमाडौं महानगर हाकिसकेका स्थापित विवादमा आइरहने पात्र हुन्। उनीमाथि यौन दुर्व्यवहारको आरोप समेत छ। हक्की स्वभावका स्थापितको काठमाडौं महानगरमा पहिलोपटक मेयर बन्दाका विषय हाल पनि चर्चामा आइरहन्छन्। कहिले ‘डेटिङ पार्क’ बनाउने भनेर चर्चामा आएका स्थापित कहिले पार्टी फेरबदलकै कारण पनि चर्चामा रहे। उनी कतिसम्म विवादित पात्र हुन भने एमाले नेता मदन भण्डारीको मुत्युपछि विद्यादेवी भण्डारीलाई चुनाव जिताउन सेतो सारीमा रातो मसीले छ्यापेर ‘कांग्रेसीले विधवामाथि दुर्व्यवहार’ गरेको प्रपोगान्डाको समेत जिम्मेवारी लिएर अन्तर्वार्ता दिन भ्याए।

स्थापित पहिलो कार्यकाल मेयर हुँदा मात्रै होइन आसन्न स्थानीय तहको मेयरका उम्मेदवार बन्दा पनि विवादित छन्। निर्वाचन आयोगले वैशाख १५ गते स्थापितले नेशनल कलेजमा आयोजित छलफलमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। स्थापितले वैशाख १८ गते काठमाडौंमा आयोजित कार्यक्रममा आफ्ना प्रतिस्पर्धी बालेन र सिर्जनामाथि विभिन्न आरोप लगाएपछि विवादमा परेका थिए। उनले शाहलाई ‘ठग’ भएको आरोप लगाए भने सिंहलाई ‘तागतै नभएको महिलाले महानगर हाँक्छु’ भनेर आएको भन्दै बहिष्कार गर्नुपर्ने बताएपछि स्थापितको आलोचना भएको थियो। उनी एकपछि अर्को विवादमा पर्न थालेपछि स्थापितको सचिवालयले भने उनलाई जथाभावी बोल्न रोक लगाएको छ।

‘उहाँले धेरै बोल्न थाल्नुभो। उहाँलाई त्यही भएर जथाभावी नबोल्न भनेर सचेत गराएका छौँ। मिडियामा पनि अन्तर्वार्ता दिँदा विचार गरेर दिने व्यवस्था गरेका छौँ,’ सचिवालयका एक सदस्यले भने।

स्थापितको मुख्य प्रतिस्पर्धी सिंह पनि विवादरहित भने छैनन्। उनले अधिकांश कार्यक्रममा आफूले मेयर पदको उम्मेदवार राजनीतिक विरासतका कारण मात्रै नपाएको भन्दै स्पष्टीकरण दिनुपरेको छ। कांग्रेस नेता प्रकाशमान सिंहको श्रीमती भएकाले उम्मेदवारी पाएको भन्दै पार्टीभित्र र बाहिर आलोचना भएपछि सिंहले त्यसको बचाऊ गरिरहेकी छिन्। ‘एक जनाले राजनीति गर्दा त घर कति अस्तव्यस्त हुन्छ भने हाम्रो घरमा गणेशमान सिंहदेखि पीएल सिंहसम्मले राजनीति गर्दा कति अस्तव्यस्त भयो होला?’ घर यस्तो अस्तव्यस्त हुन भएन भनेर म राजनीतिबाट केही समय ब्याक भएर घर सम्हाल्न बसेको हुँ। नत्र प्रकाशमानको घरमा भित्रनुअघि म राजनीतिमा सक्रिय थिएँ,’ वैशाख १९ गते काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले भनेकी थिइन।

चिरिबाबु र हरिकृष्णको ‘ब्याटल’

ललितपुर महानगरमा २०७४ सालमा जस्तै मुख्य प्रतिस्पर्धीका रुपमा छन् हरिकृष्ण ब्यञ्जनकार र हालका मेयर चिरिबाबु महर्जन। महर्जन सत्ता गठबन्धनका तर्फबाट मैदानमा छन् भने ब्यञ्जनकार एमालेका उम्मेदवार हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा दुई जनाबीच झिनो मतान्तर थियो। ब्यञ्जनकारले चिरिबाबुले धाँधली गरेर चुनाव जितेको आरोप लगाएका थिए। चिरिबाबुविरुद्ध ब्यञ्जनकार अदालतसम्म पुगेका थिए।

एक कार्यकाल मेयर बनेका चिरिबाबु विवादमा आइरहे। पलस्वाँ पोखरीबारे पनि उनी विवदामा परेका थिए। महानगरमा काम गर्नभन्दा विदेशमा रमाउने मेयर भएको भन्दै महर्जनको आलोचना भएको थियो। उनले नगर कार्यपालिकामा एकलौटी गरेको भन्दै आलोचना खेप्नुपरेको थियो। जालझेल गरेर मेयर बनेको भन्ने आरोपको जवाफ दिँदै महर्जनले भने, ‘त्यो त विपक्षीको धर्म नै हो। तर उहाँको भनाईमा केही तुक छैन। कुनै भनाई पुष्टि हुनुपर्छ। तर आधारै नभएको कुरालाई उहाँले पुष्टाइ गर्नुभएर त हुँदैन नि। फलाना ठाउँमा मत बिगार्‍यो भन्दै गर्दा उहाँले मुद्दा हाल्नुभयो। खै त उहाँले मुद्दा जितेको। हैन? उहाँले मुद्दा त जितेन। उहाँले नचाहिँदो किसिमको उपन्यास लेख्दा चाहिने जस्तो काल्पानिक कुरा गरेर भएन नि।’

चिरिबाबुका मुख्य प्रतिस्पर्धी ब्यञ्जनकार पनि आलोचनारहित भने छैनन्। महर्जनका हरेक काममा भाजो हाल्न खोजेको भन्दै व्यञ्जनकारको पनि आलोचना हुने गरेको छ। त्यसो त पार्टीभित्र उनलाई आफूबाहेक अरुलाई अवसर नदिने भन्दै टिकट बितरणका बेलामा प्रश्न उठेको थियो।

जहिल्यै चर्चामा भरतपुर

भरतपुर महानगर चुनावका बेलामा जहिले चर्चामा आउनेमध्ये एक हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु दाहाललाई मेयरको टिकट दिँदा होस् या २०७४ को निर्वाचनमा मतपत्र च्यातेको विषय। रेनुलाई चुनाव जिताउन सत्ता गठबन्धनले गरिरहेको जोडबलको कारण पनि रेनु चर्चामा रहिन। दाहाल विवादित पनि छिन्। मतपत्र च्यातेर चुनाव जितेको भन्दै उनीमाथि आरोप लाग्यो भने छोरीलाई चुनाव जिताउन अनेक तिकडम गरेको आरोप प्रचण्डमाथि लाग्ने गरेको छ। आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकी मेयर पदकी उम्मेदवार हुन रेनु। उनको मुख्य प्रतिस्पर्धा हुनेछ एमालेका उम्मेदवार विजय सुवेदीसँग। अघिल्लोपटक एमालेले मेयरमा देवी ज्ञवालीलाई उठाएको थियो। यसपटक एमालेले प्रदेश सभाबाट सुवेदीलाई राजीनामा गराएर मेयरको उम्मेदवार बनाएको छ। उनी विवादमा त्यति नपरेको भए पनि चर्चामा भने छन्।

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दा केही समय सामाजिक विकास मन्त्री बनेका सुबेदी। अहिले उनी गठबन्धनका उम्मेदवारलाई टक्कर दिएर चर्चामा छन्।

सुन काण्डले चर्चामा पोखरा

यसपटक पोखरा पनि चर्चामा रह्यो चुनाका बेला। एमालेले उम्मेदवार बनाएका दिपक पौडेलको पार्टीले नै टिकट खोसेको थियो। उनी उम्मेदवार बन्नासाथ सुन चोरेको भन्दै भिडिओ क्लिप भाइरल भएको थियो। अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार फेर्नुपर्ने दबाब परेपछि कृष्ण थापालाई एमालेले उम्मेदवार बनाएको छ। थापा गण्डकी प्रदेश सभा सदस्य हुँदा उनलाई जातीय भिवेद गरेको आरोप लागेको थियो। दलित समुदायका मानिसलाई किरियाघरमा बस्न नदिएको भन्दै थापाविरुद्ध एमालेभित्रै पनि आवाज उठेको थियो। थापा २०५४ सालमा पनि पोखराको मेयर भइसकेका छन्। दोस्रो पटक उनी मेयरको उम्मेदवार बनेका हुन्।

थापाका मुख्य प्रतिस्पर्धी हुन्  सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य। एमाले विभाजन हुँदा पहिला बामदेव गौतम र अहिले माधव नेपालको पक्षमा उभिएका आचार्य एमालेमै फर्किन लागेको भन्दै चर्चामा आउने गरेका थिए। राजनीतिसँगै व्यवसायमा समेत सक्रिय रहेका आचार्यलाई अहिले गठबन्धनले मेयरको उम्मेदवार बनाएको हो।

नवप्रवेशीको रोचक प्रतिस्पर्धा

वीरगन्ज महानगरपालिकामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा छ। एमालेका विजय सरावगी र जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह दुबै पार्टीमा नवप्रवेशी हुन्। सरावगी जसपा त्यागेर मेयरको उम्मेद्वार हुन एमाले प्रवेश गरेका हुन् भने सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर समाजवादीमा आएका हुन्। सरावगी यसअघि संघीय समाजवादी (हालको जसपा) बाट मेयर चुनिएका थिए। उनी चर्चामा आइरहने नेता हुन्। जसपाले काम गर्न नदिएको भन्दै उनी अध्यक्ष उपेन्द्र यादवसमक्ष राजीनामा दिन काठमाडौं पनि आएका थिए। उनी आलोचित हुने अर्को कारण हो पार्टीले चुनावमा टिकट नदिने देखेपछि एमाले प्रवेश गरेको विषय। कांग्रेस प्रवेश गर्ने चर्चाका माझ उनी एमालेतिर गएका थिए। ५ वर्ष वीरगन्ज महानगर सम्हालेका सरावगीलाई विपक्षीले उनीमाथि महानगरमा रहँदा पारदर्शी रुपमा काम नगरेको आरोप लगाउने गरेका छन्। व्यापारिक पृष्ठभूमिका सरावगीलाई जसपाकै नेताहरुले अनियमितता गरेको आरोप लगाएका थिए। सरावगीका प्रतिस्पर्धी सिंहलाई यसअघि गुण्डागर्दी गरेको आरोप लागेको थियो। उनले वैशाख १७ गते कार्यकर्ता भेटघाट कार्यक्रममा आफूमाथि झुटो आरोप लगाइएको दाबी गरेका थिए।

विराटनगरमा युवाबीच प्रतिस्पर्धा

विराटनगरमा पनि अरु महानगरमा जस्तै एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ। कांग्रेसबाट नागेश कोइराला र एमालेबाट सागर थापा मेयरको उम्मेदवार छन्। दुवै विद्यार्थी राजनीतिबाट आएका नेता हुन्। दुबै युवा प्रतिस्पर्धी पनि। मेयरका लागि दुबैले पहिलोपटक उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धन र एमालेले युवालाई उम्मेदवार बनाएपछि विराटनगरमा दुबै उम्मेदवारको चर्चा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell