PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मेयरका उम्मेदवार राजेशमानलाई प्रश्न : तपाईं त वीरगंजकै 'दबंग' रे, किन डराउँछन् मान्छे?



राधेश्याम पटेल

मेयरका उम्मेदवार राजेशमानलाई प्रश्न : तपाईं त वीरगंजकै 'दबंग' रे, किन डराउँछन् मान्छे?

वीरगंज : मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंजमा पनि अहिले चुनावी सरगर्मी बढेको छ। सत्तारुढ गठबन्धन दलका संयुक्त उम्मेदवार जसपाका नेता राजेशमान सिंह, नेकपा एमाले–लोसपा र राप्रपा नेपालबाट गठबन्धनबाट रहेका उम्मेदवार विजयकुमार सरावगीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

२०५४ सालमा वडा सदस्यमा निर्वाचित वीरगंज–३ छपकैयाका ५० वर्षीय राजेशमान अहिले जसपाको चुनाव चिह्न लिएर घरदैलोमा छन्। दोस्रो संविधानसभामा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका राजेशमान समाजवादी पार्टीबाट २०७४ सालको निर्वाचनमा मेयरमा भिडेका थिए। उनै मेयरका प्रत्यासी राजेशमान सिंहसँग चुनावी सन्दर्भमा पहिलोपोस्टका लागि राधेश्याम पटेलले गरेका कुराकानीको सम्पादित अंश :

तपाईंको उम्मेदवारी किन?

वीरगंजको चौतर्फी विकासको लागि मेरो उम्मेदवारी हो। जस्तैः शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बढेको करको दायरा घटाउनु, गरिब विपन्न ३६ हजार परिवारलाई निशुल्क बिजुली उपलब्ध गराउने र वीरगंज शहरलाई विकसित शहरको रुपमा पहिचान कायम गराउन मैले मेयरको चुनावमा अग्रसर भएको हुँ।

चुनावी प्रचार कस्तो भइरहेको छ?

अहिलेसम्म एकदमै चुनावी प्रचार कार्यक्रम जारी राखेको छु। वीरगंज महानगरपालिकाको ३२ वटै वडा घुमे, कुनै–कुनै वडा दोहोर्‍याउँदै जनतासँग मत माग्दैछु।

गठबन्धनबाट मत पाउनेमा ढुक्क हुनुहुन्छ?

मलाई पूर्ण विश्वास छ, गठबन्धनको केन्द्रीय निर्णय बमोजिम जुन हिसाबले वीरगंजमा मलाई गठबन्धनको साझा उम्मेदवार बनाइएको छ। त्यसैगरी गठबन्धनका नेता, कार्यकर्ताहरुले मलाई सहयोग गरेर जिताउनु हुनेछ।

चुनावकै मुखमा पार्टी परिवर्तन गर्नुभएको छ?

मैले लोसपा परित्याग गरेको एउटा मुख्य कारण थियो राजनीतिभित्र गूट, उपगुटको राजनीति। त्यसैबाट टाढा जान मैले एमालेमा जाने प्रयास गरे र घोषणा पनि गरेको थिएँ, त्यो मेरो ठूलो भूल थियो।

तर पछि आफ्नै पार्टीका नेता, कार्यकर्ताहरुको सुझावमा जसपामा आए र अहिले चुनावमा सक्रिय छु।

मेयर जित्न धेरै पैसा लाग्छ भनिन्छ, त्यसको जोहो कसरी गर्नुहुँदैछ?

मेयरको चुनावको लागि निर्वाचन आयोगले साढे सात लाखसम्म खर्चको मापदण्ड तोकेको छ, म त्यसै अनुरुप खर्च गर्छु। मसँग पैसा छैन, मैले चढ्ने गाडी साथीको हो। अरु साथीहरुले सहयोग गरिरहेका छन्। मेरो कार्यकर्ताहरु नाश्ता नखाइकन पनि पेट बाँधेर चुनावमा खटिरहेका छन्। जति खर्च गर्न सकिन्छ, त्यति नै हुन्छ तर मसँग चुनावमा खर्च गर्ने धेरै पैसा छैन।

तपाईंले घोषणापत्र त ल्याउनुभएन नि?

मैले घोषणापत्र ल्याएको छैन, यसपालि गठबन्धन दलको संयुक्त संकल्पपत्र आइरहेको छ। जुन कि वीरगंजको विकासको लागि केन्द्रित रहनेछ। छिट्टै तपाईंहरुको हातमा पर्छ। 

मुख्या एजेन्डा के - के हुनेछन्?

चुनाव जितेपछि वीरगंज महानगरपालिकाको ३२ वटै वडामा सुलभ, सहज प्रभावकारी शिक्षा कसरी दिने, स्वास्थ्य केन्द्र तथा अस्पतालहरुको स्तरोन्नति कसरी गर्ने, सुशासन कायम गर्न भ्रष्टाचार न्यूनिकरण मेरो मुख्य एजेन्डा हुनेछ। त्यसैगरी वीरगंज महानगरपालिकामा पछिल्लो समय बढाइएको करवृद्धि कमी गर्दै करको दायरा बढाउने तथा वीरगंजको पूर्वाधार विकासमा पनि मेरो योजनाहरु केन्द्रित छन्।

तपाईंलाई सबैले दबंग भनेर चित्रण गर्छन्, मान्छे डराउँछन् रे?

मलाई बडो अजीब लाग्छ। यस्तो चुनावी स्टन्ट गरेर मलाई चुनावमा तल खसाउने काम भइरहेको छ। म सबैसँग सोध्न चाहन्छु, वीरगंजका कुन उद्योगीसँग चन्दा मागेको छु, कसलाई धम्काएको छु, कसको छोरी–बेटीलाई वीरगंजमा हिँड्न दिइएको छैन। आखिर गुण्डाको अर्थ के हुन्छ? पाँच दशकदेखि वीरगंजमा बसिरहेको छु, एउटा पनि प्रहरीमा मेरो रिपोर्ट भए पेश गर्दा म राजनीतिबाट सन्यास लिन्छु। रहयो कुरा डराउनुको यो सबै पोलिटिकल स्टन्ट मात्रै हो,मलाई खराब देखाउने।

तपाईंलाई नै किन जिताउने?

किनभने जनतालाई थाहा छ, म वीरगंजको बेटा हुँ। र, राजेशमानले जे भन्छ, त्यही गर्छ। मलाई विश्वास छ, वीरगंजको कायापलट गर्ने क्षमता यदि कुनै दल वा समूहसँग छ भने त्यो गठबन्धनकै उम्मेदवारमै छ र यसपालि साँच्चै जनभावना अनुसार वीरगंजको विकास गरेर देखाउँछु।

स्वीमिङ पुल ठेक्का लिएको कुरा उठिरहेको छ, स्वीमिङ पुल राम्ररी चलाउन नसक्ने व्यक्तिले वीरगंज महानगरपालिका कसरी चलाउँछ?

स्वीमिङ पुल सर्वप्रथम मैले ठेक्का लिएको छैन। मेरो चिनेको अथवा आफन्तजन हुनसक्छ तर स्वीमिङ पुल राम्ररी किन चलेन भन्ने थाहा हुँदाहुँदै पनि निवर्तमान मेयरसाहेबले फेरि दोस्रो ठेक्का पनि उनले त्यही व्यक्तिलाई किन दिनुभयो? म उहाँसँग प्रश्न गर्न चाहन्छु। 

एकताका हजारीमल धर्मशालाको विषयमा आन्दोलन चर्काउनुभएको थियो, पछि आन्दोलन किन शान्त भयो?

त्यो आन्दोलन कुनै प्रभावमा परेर शान्त भएको होइन। मैले बकाइदा हजारीमल धर्मशालाको जग्गालाई सार्वजनिक गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनलाई माथि उचाइसम्म पुर्‍याएको थए । त्यसबेलाका सिडिओ साहेबले भन्नुभयो - राजेशमानजी तपाईंलाई बधाई छ, हामीले हजारीमलको धर्मशालाको जग्गालाई सार्वजनिक गर्ने काम गर्‍यौं। त्यसबारे अब म के बोलुँ, त्यसको रेखदेख र जनतालाई बुझाउने काम मेयरसाहबको थियो, उहाँले गर्नुपर्थ्यो कायम भयो कि भएन।

निवर्तमान मेयरलाई आफू जितेपछि हत्कडी लगाउँछु, जेल हाल्छु यस्तो अभिव्यक्ति किन दिनुभयो?

मैले भनेको कुरालाई मिडियाले बङ्ग्याएर प्रस्तुत गरेको छ। कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको कमी कमजोरी र अनियमितताको अनुसन्धान हुनुपर्छ। मैले पनि त्यही क्रममा भनेको हुँ। वीरगंज महानगरपालिकामा भएको विगतमा भएको भ्रष्टाचारलाई आफूले चुनाव जितेपछि छानबिन गर्छु र दोषी भेटिए आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा फाइल पठाउँछु मात्र भनेको थिएँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell