बुटवल : स्थानीय तहको निर्वाचन अब ९ दिनमात्र बाँकी छ। निर्वाचन नजिकिँदै जाँदा रुपन्देहीमा गर्मीसँगै चुनावी माहोल पनि व्यापक तातेको छ।
२०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा बासुदेव घिमिरे र उपमेयरमा जागेश्वरदेवी चौधरी निर्वाचित भएपछि राम्रो काम गरेर देशभर चर्चा कमाएको रुपन्देहीको तिलोत्तमामा यसपटकको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसका केन्द्रीय नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता घनश्याम भुसालको गृहनगर तिलोत्तमामा कुन दलले बाजी मार्ला? धेरैको चासोको विषय बनेको छ।
तिलोत्तमा नगरपालिकामा एमालेको विरासत जोगाउने जिम्मा मोहन चापागाईंले पाएका छन् भने, कांग्रेसले रामकृष्ण खाणलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ। गृहमन्त्री खाणका सहोदर भाइसमेत रहेका उनि अघिल्लो निर्वाचनमा घिमिरेसँग पराजीत भएका थिए। उपप्रमुखतर्फ एमालेले पुनः चौधरीलाई नै अगाडी सारेको छ भने, गठबन्धनबाट माओवादी केन्द्रका हेमन्त पाण्डे उम्मेदवार बनेका छन्।
एमाले विगतको बिरासतलाई जोगाउँदै यसपटक पनि नगरको नेतृत्व गर्ने गरी चुनावमा होमिएको छ भने, गृहमन्त्री खाण आफ्नो प्रतिष्ठाका लागि भएपनि कांग्रेसबाट उम्मेदवार बनेका भाइलाई जिताउन लागि परेका छन्। तिलोत्तमा नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ। यता एमाले एक्लै चुनावमा होमिएको छ।
दुबैको दाबी आ-आफ्नै
तिलोत्तमा नगरपालिकामा विकासको अर्को युग सुरु हुन लागेको नेकपा एमालेबाट नगर प्रमुखको उम्मेदवार बनेका चापागाईं बताउँछन्। अघिल्लो निर्वाचनमा आफ्नै पार्टीबाट जितेका मेयर उपमेयरले गरेको कामको जगमा अर्को नयाँ युग सुरु गर्ने उनले बताए। ‘पूर्वाधारका धेरै कामहरु अघिल्लो पाँच वर्षमा भएका छन्। अबको पाँच वर्ष पूर्वाधारको स्तरोन्नति तथा तिलोत्तमाका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित हुनेछौँ,’ उनले भने।
‘तिलोत्तमामा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिको जुन गतिमा विकास भएको छ, त्यही गतिमा यहाँको विकासलाई लैजान यसअघि राम्रो आधार तयार भएको छ,’ चापागाईंले भने, ‘अब त्यसलाई थप गतिदिन प्रतिबद्ध छु,’ उनले थपे, ‘म इमान्दारीपूर्वक सबैलाई समेटेर अझै राम्रो तरिकाले काम गर्ने योजनामा छु।’
हाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी इन्चार्ज रहेका चापागार्इंले पञ्चायतकालदेखि पार्टी, विद्यार्थी राजनीति, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संगठनमा रहेर काम गरेका छन्।
२०७३ सालमा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईंलाई सञ्चारविज्ञको रुपमा नियुक्त गरेका थिए। एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि उनले पार्टीको तिलोत्तमा नगर कमिटीको अध्यक्ष भए भने जिल्ला प्रचार विभाग प्रमुख भएर काम गरेका थिए।
लथालिङ्ग बनेको संगठनलाई सुदृढ बनाउन मुख्य भूमिका खेलेका चापागाईं पार्टीमा कुशल संगठक र विपक्षीको रणनीति बुझेर सोहीअनुसार योजना निर्माण गर्ने क्षमता राख्ने नेतामा पर्छन्।
त्यस्तै तिलोत्तमालाई देशकै स्वच्छ, सुन्दर, आधुनिक र प्रविधियुक्त स्मार्ट सिटीको रूपमा विकास गर्ने लक्ष्यका साथ आफू निवार्चनमा होमिएको खाण बताउँछन्। कृषिका लागि उर्वरभूमि, वन, वातावरण, औद्योगिक र पर्यटकीय लगानीका प्रशस्त सम्भावना बोकेको तिलोत्तमालाई नमूना नगर बनाउने योजना रहेको खाणको भनाई छ।
‘म निर्वाचित भए नगरपालिकाबाट पाउने तलब भत्ता लिने छैन। त्यो असहायको क्षेत्रमा लगानी गर्नेछु। अहिले लगाइएको सम्पत्ति कर आधा घटाइने छ, विकासका काम सबै वडामा पुग्नेगरी बनाउनेछु, जनप्रतिनिधि सेवक हुन्, मालिक होइनन् भन्ने भावनाको विकास गर्नुछ,’ खाणले भने।
नगरपालिकाभित्रको खेतीयोग्य जमिनमा आधुनिक कृषि प्रणालीमार्फत कृषिको व्यवसायीकरण गर्ने, उत्पादनमुलक उद्योगमा लागनी भित्र्याउन लागानीमैत्री वातावरण बनाउने, शिक्षा, स्वास्थ्य, सडक, फोहोर व्यवस्थापन, खानेपानी जस्ता विकासका पूर्वाधार तयार गरी समृद्ध नगर बनाउने विशेष योजनासहित मेयरमा उम्मेदवारी दिएको उनले बताए।
बाल्यकालदेखि नै बुवा र दाइलाई पछ्याउँदै पञ्चायत विरोधी आन्दोलनमा लागेका खाण सानै उमेरदेखि नै राजनीतिमा सक्रिय थिए। २०५४ मा कांग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य भएका खाण २०६६ मा जिल्ला सचिव भएका थिए। हाल उनी कांग्रेस रुपन्देहीको सभापति हुन्।
एमालेबाट उपमेयर पदकी उम्मेदवार चौधरीले तिलोत्तमामा चुनावका लागि एमालेसँग प्रशस्त एजेण्डा रहेको बताइन्। एमाले नेतृत्वको स्थानीय सरकार हुँदा गरेका राम्रा काम नै चुनाव जित्ने आधार भएको र यही खालको विकासलाई निरन्तरता दिन मतदाताले एमालेकै नेतृत्व रोज्ने बताउँछिन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका पाण्डेले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने योजना सहित गठबन्धन बनेको बताए।
तिलोत्तमा नगरपालिका स्थानीय तहमा दुई वर्षसम्म लगातार उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ। हालका मेयर घिमिरेले थालेका विकास निर्माणका कामहरु पुरा गर्ने जिम्मेवारी अब निर्वाचित हुने मेयरको काँधमा आउने छ। विभिन्न कामहरुलाई घिमिरेकै रफ्तारमा गतिदिनु नयाँ आउने मेयरका लागि चुनौती नै हुने छ।
यस्तो थियो २०७४ को चुनावी परिणाम
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र जनमुक्ति पार्टीबीचको गठबन्धनसँग एमाले एक्लै चुनाव लडेको थियो। अघिल्लो निर्वाचनमा एमालेका वासुदेव घिमिरेले कांग्रेसका रामकृष्ण खाणलाई झण्डै २ हजार ३ सय मतान्तरले जितेका थिए। मेयरमा घिमिरेले १९ हजार ८४ मत ल्याउँदा खाणले १६ हजार २ सय ६४ मत प्राप्त गरेका थिए।
उपमेयरमा जगेश्वरदेवी चौधरीले १९ हजार २ सय २४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन्। एमालेले उपमेयरमा चौधरीलाई नै दोहोर्याएको छ।
२०७४ को निर्वाचनमा तिलोत्तमाका १७ वटा वडामध्ये वडा नं ९, १०, १६ र १७ कांग्रेस जनमुक्ति गठबन्धनले जितेको थियो भने, अरू १३ वटा वडा एमालेले जितेको थियो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७१ हजार ७४ मतदाता रहेको तिलोत्तमामा यस पटक भने १४ हजार ६ सय ७३ मतदाता थपिएका छन्। निर्वाचन कार्यालय रूपन्देहीका अनुसार हाल तिलोत्तमा नगरपालिकाको मतदाता संख्या ८५ हजार ७४७ रहेको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ७१ हजार ७४ मतदाता रहेको तिलोत्तमामा यस पटक भने १४ हजार ६७३ मतदाता थपिएका छन्। निर्वाचन कार्यालय रूपन्देहीका अनुसार हाल तिलोत्तमा नगरपालिकाको मतदाता संख्या ८५ हजार ७४७ छ।