PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

विमानस्थलमा करिब डेढ घण्टासम्म 'सर्च' गर्दा केही भेटिएन, फोन गरेर 'बम'को हल्ला फैलाउने खोज्दै प्रहरी



पहिलोपोस्ट

विमानस्थलमा करिब डेढ घण्टासम्म 'सर्च' गर्दा केही भेटिएन, फोन गरेर 'बम'को हल्ला फैलाउने खोज्दै प्रहरी

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु भएको सूचना आएपछि आज बिहानै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो। करिब डेढ घण्टासम्म सुरक्षाकर्मीले प्राविधिक टोली सहित विमानस्थल 'सर्च' गरेका थिए। तर, अज्ञात व्यक्तिले फोनमा भने झैँ विमानस्थलबाट केही पनि भेटिएन। सुरक्षामा कुनै पनि खतरा नदेखेपछि करिब डेढ घण्टासम्म अवरुद्ध भनेको विमानस्थल पुन: संचालन गरिएको छ।

'हाम्रो प्राविधिक टोली सहित सुरक्षाकर्मीले सबै ठाउँ खोजी गर्‍यो। कतै पनि केही भेटिएको छैन। कसैले हल्ला चलाएको मात्र हुनसक्छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी उतमराज सुवेदीले भने।

बिहान दुईपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोन गरेर अज्ञात व्यक्तिले विमानस्थलमा विस्फोटक पदार्थ राखिएको जानकारी दिएका थिए। त्यसपछि नेपाली सेनाको डिस्पोजल टोली सहित सशस्त्र प्रहरीले विमानस्थलमा 'सर्च' गरेको थियो।

प्रहरीका अनुसार बिहान ९:४० देखि ९: ५० को बिचमा दुई पटक विमानस्थलमा फोन गरेर बम राखिएको दाबी गरिएको थियो। सलाम वालिकुम भन्दै सात ठाउँमा बम राखिएको भन्दै फोन आएको थियो। 'सर्च' गरेर केही फेला नपरेपछि  बिहान ११ बजेर १० मिनेटलेखि विमानस्थल यथावत् रुपमा संचालन भएको छ।

'अब हामी फोन गर्ने व्यक्तिको खोजीमा लागेका छौँ,' डिआइजी सुवेदीले भने।

विभिन्न समयमा विभिन्न व्यक्तिले बम राखेको भन्दै फोन नआएका होइनन्। तर सुरक्षाको हिसाबले अतिसंवेदनशिल मानिने विमानस्थलमा नै यसरी 'बम' राखेर हल्ला फैलाउनु झनै सुरक्षाको हिसाबले चुनौतीपूर्ण देखिएको छ।

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनको मुखमा यसरी हुने 'हल्ला' पनि सुरक्षाको दृष्टिकोणबाट चुनौतीपूर्ण रहेको सुरक्षा अधिकारीहरू बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell