
काठमाडौं : आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको फोनले सिंगो मुलुक नै सशंकित भन्यो - हिंसात्मक घटनाको त्रासले। विदेशी नम्बरबाट पुरुषको स्वरमा आएको फोन कलले विमानस्थलको सुरक्षा व्यवस्थालाई ठाडै चुनौती दिएको थियो।
बिहान ९ बजेर ४० मिनेटमा विमानस्थलमा पहिलो फोन आएको थियो। सुरुमा 'सलाम वालेकम...' भन्दै पुरुषले विमानस्थलमा बम राखेको जानकारी दिएका थिए। दुई घण्टाभित्र बम विस्फोट हुने भन्दै थप जानकारी दिएका थिए फोनमा बोल्नेले। त्यसपछि केही मिनेट अन्तरमा फेरि अर्को कल आयो। नेपाली भाषामा नै उनले विमानस्थलको सात ठाउमा बम राखेको सुचना दिएका थिए।
विमानस्थलमा बम राखेको नै भनेपछि सबै सुरक्षा निकाय झस्किनु स्वभाविक थियो। लगत्तै उड्न लागेका आन्तरिक उडानदेखि प्रतीक्षालयका कक्ष समेत खाली गरियो। बम खोज्न सुरक्षा निकाय परिचालन भयो।
करिब डेढ घण्टासम्म सुरक्षाकर्मीले प्राविधिक टोली सहित विमानस्थलमा खानतलासी गरेका थिए। तर, अज्ञात व्यक्तिले फोनमा भने झैँ विमानस्थलबाट केही पनि भेटिएन। सुरक्षामा कुनै पनि खतरा नदेखेपछि करिब डेढ घण्टासम्म अवरुद्ध भनेको विमानस्थल पुन सञ्चालन गरिएको छ।
'हाम्रो प्राविधिक टोली सहित सुरक्षाकर्मीले सबै ठाउँ खोजी गर्यो। कतै पनि केही भेटिएको छैन। कसैले हल्ला चलाएको मात्र हुनसक्छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उतमराज सुवेदीले भने।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले विमानस्थलको सबै ठाउँमा सर्च गरेको थियो। सेनाको डिस्पोजल टोली र नेपाल प्रहरीको तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो। तर, कहीँ कतै केही भेटिएन।
अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले थप अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई अनुरोध गरेको छ। बिहान ९ बजेर ४० मिनेट देखि ९ बजेर ५० मिनेटसम्म आएका तीनवटा कलको प्रहरीले अनुसन्धान गर्ने भएको छ।
फोन गर्नेको उद्देश्य तर्साउने मात्र देखिएको छैन, जातीय हिसाबले 'इस्लाम धर्मावलम्बी'लाई बद्नाम गर्न समेत खोजेको पनि हुनसक्ने देखिएको छ। नेपाली भाषामै बोलेका ती व्यक्तिले मुस्लिमले गर्ने अभिवादन गर्नुको उद्देश्य होक्स कल जस्तै जातीय हिंसा भड्काउन खोजेको त होइन? प्रहरीका लागि अनुसन्धानको विषय बनेको छ।
भारतीय कांग्रेसका नेता राहुल गान्धी नेपालमा रहेको र उनी कुनै सुरक्षा व्यवस्थाविना नै नाइट क्लबमा पुगेको विषय यहाँमात्र होइन, भारतमा चर्चाको विषय बनेको थियो। हाइप्रोफाइल राजनीतिक व्यक्तित्वका साथै भारतमा पनि कडा सुरक्षा घेरामा रहने गान्धी नेपालमा विना कुनै सुरक्षा त्रास घुमफिरमा छन्। साथै दुई सातापछि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आउने कार्यक्रम तय भएको अवस्थामा सुरक्षाको विषयलाई लिएर विमानस्थलमा होक्स कल आउनु सामान्य विषय भने होइन।
यस प्रकरणले आन्तरिक उडानतर्फ अवरुद्ध भए पनि अन्तर्राष्ट्रिय उडानमा भने कुनै प्रभाव नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पहिलोपोस्टलाई जानकारी दिए। 'यस अवधिमा आन्तरिक तर्फका ३० वटा उडान प्रभावित भए,' उनले भने।