
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि अब मात्र ९ दिन बांकी छ। राजनीतिक दलसँग प्रचारप्रसारका लागि भने ७ दिन छ। त्यसकारण राजनीतिक दलहरु अहिले चुनावी सभामा होमिएका छन्।
७५३ स्थानीय तह मध्ये यसपटक भरतपुर महानगरपालिकाको चर्चा निकै छ। सत्तारुढ गठबन्धन भर्सेस एमाले हुने ‘ब्याटल’मा थपिएका छन् कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेल।
निर्वाचन आफ्नो पक्षमा पार्न अहिले दलहरु भरतपुर केन्द्रित भएका छन्। चुनावी प्रचारका लागि उनीहरुले आमसभाको तयारी गरिरहेका छन्। सत्ता गठबन्धनले बिहीबार सभा गर्दै छ भने विपक्षी गठबन्धनले वैशाख २५ गते सभा गर्दैछ।
सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकामा प्रमुख पदमा माओवादी केन्द्रकी रेनु दाहाल र विपक्षी गठबन्धनबाट नेकपा एमालेका विजय सुवेदी उम्मेदवार छन्। निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्षीय गठबन्धन र विपक्षीय गठबन्धन दुवै लागि परेका छन्। यसै सन्दर्भमा सत्तापक्षीय गठबन्धनले भरतपुरमा शीर्ष नेताको उपस्थितिमा जनसभा गर्न लागेको हो।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सत्ता गठबन्धनको जनसभामा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्री गगन कुमार थापाले सम्बोधन गर्नेछन्। यस्तै, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताको समेत उपस्थिति हुनेछन्।
जनसभाका लागि देउवासहितको टोली आजै चितवन आउने कार्यक्रम तय भएको छ।
नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार पार्टीका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताको उपस्थितिमा चुनावी सभा हुनेछ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा दुवै गठबन्धनले सभा गर्दै छन्।
स्थानीय तह निर्वाचन २०७४ मा भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थियो भने गठबन्धनका तर्फबाट प्रमुखकी उम्मेदवार रेनु दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी थिइन्। राप्रपाका तर्फबाट बद्रीनाथ तिमील्सीनाले ६ हजार ८४२ मत प्राप्त गरेका थिए। गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेकी पार्वती शाह ठकुरीले ४७ हजार १९७ मत प्राप्त गरेकी थिइन्।
एमालेका तर्फबाट उम्मेदवार बनेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् भने राप्रपाबाट उम्मेदवार बनेकी रिना गुरुङले सात हजार २५२ मत प्राप्त गरेकी थिइन्।
चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार ३ मतदाता थिए। यसपालिको स्थानीय तहको चुनावमा ७४ हजार ६७२ मतदाता थपिएका छन्। २०७४ सालको स्थानीय तहको चुनावलाई आधार बनाउँदा थपिएकामध्ये आधाभन्दा बढी भरतपुर महानगरमा थपिएका हुन् । भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता थपिएर एक लाख ८५ हजार ७५२ मतदाता पुगेका छन्।