
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विवादमा आज अदालतको सुनुवाई बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा एआईजी विश्वराज पोखरेलले दिएको रिटमाथि आजबाट सुनुवाई सुरु भएको हो। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेशी चढेको थियो। बाँकी बहस भोली हुने छ।
आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो।
एउटै ब्याचका चार जना एआईजीहरू आईजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए।
त्यस्तै ७ महिनापछि पोखरेपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवामा परेका थिए।
त्यसो त धीरजप्रताप सिंह सहित एआइजी बढुवा गर्दा असन्तुष्ट भएका डीआईजीहरु पनि अदालत गएका थिए। सर्वोच्च अदालतममा सिंह नियुक्तिको विषय विचाराधीन छ।