PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

नेकपाको असन्तुष्ट समूहको भेलामा बास्तोलाको राजनीतिक प्रतिवेदन : विप्लव ‘सारसंग्रहवादी र संसदीय संशोधनवादी’



पहिलोपोस्ट

नेकपाको असन्तुष्ट समूहको भेलामा बास्तोलाको राजनीतिक प्रतिवेदन : विप्लव ‘सारसंग्रहवादी र संसदीय संशोधनवादी’
फोटो : रातोखबर

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’लाई पार्टीबाट कारबाही गरेपछि नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला चितवनमा जारी छ। भेलामा संयोजक तोकिएका धर्मेला बास्तोलाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ।

प्रतिवेदनमा सिद्धान्तबाट विचलित भएर विप्लवले पार्टी र क्रान्तिलाई धोका दिएको आरोप लगाइएको भेलामा सहभागी एक नेताले जानकारी दिए। पार्टीको केन्द्रीय कमिटीको निर्णयविपरित संसद्वादी लाइनमा फसेकोसमेत प्रतिवेदनमा आरोप लगाइएको छ।

विप्लव दार्शनिक रुपले सारसङ्ग्रहवादी, राजनीतिक रुपमा संसदीय संशोधनवादी, सङ्गठनात्मक रुपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी हुँदै क्रान्तिलाई विसर्जन गर्ने बाटोमा लागेपछि निष्कासनको कारबाही गर्नुपरेको बास्तोलाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख रहेको ती नेताले बताए।

एक महिना अगाडि कपिलवस्तुको शिवगढीमा सम्पन्न केन्द्रीय कमिटीको १२औँ बैठकले निर्वाचनमा पार्टी सहभागी नहुने तर स्वतन्त्र रुपमा उठेका एमसीसी विरोधी उम्मेदवारलाई सहयोग गर्ने प्रस्ताव पारित गरेको छ। केन्द्रीय कमिटीको बैठकमा विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचन उपयोगको प्रस्ताव गरेका थिए। बहुमत केन्द्रीय सदस्यले विरोधपछि प्रस्ताव असफल भएको थियो।

स्थानीय तहको निर्वाचनमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरु नै उम्मेदवार बनेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको थियो। बास्तोलाले पार्टीका नेताहरुलाई उम्मेदवारी फिर्ता लिनका लागि अपिल गरेका थिए। त्यसपछि विज्ञप्ति जारी गरेको आरोप लगाउँदै विप्लवले बास्तोलासहित हेमन्त प्रकाश वलीलाई समेत जिम्मेवारीबाट मुक्त गरेका थिए।

असन्तुष्ट पक्षको चितवनमा भएको केन्द्रीय कमिटीको बैठकले विप्लवसहित पार्टीका प्रवक्ता प्रकाण्डलाई समेत पदमुक्त गरेको हो। भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दलाल संसद्‌वादी राज्यसत्ताले गराएको चुनाव कार्यनीति मात्र नभएर रणनीतिक विषय भएकाले यसको उपयोगले पुँजीवादलाई सहयोग गर्ने बताउँदै विप्लवले पुँजीवादलाई सहयोग गरेको आरोपसमेत लगाइएको छ। 

‘विप्लवलगायत नेकपाको एउटा सानो झुण्ड क्रान्तिका विरुद्ध दलाल पुँजीवादलाई सहयोग गर्ने गरी गम्भीर रुपमा विचलित भएकाले विचार त्याग गर्नेहरुलाई कारबाही गरेर क्रान्तिकारीहरुको केन्द्रीकरणमार्फत क्रान्तिलाई सम्भव बनाउनेतर्फ आफूहरु अघि बढ्न आवश्यक रह्यो’, प्रतिवेदनलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘क्रान्तिका लागि विचार प्रमुख हतियार हो। तर, विप्लवहरुले विचार नै समाप्त पारे। त्यसैले पार्टीको विशेष राष्ट्रिय भेला आयोजना गर्नुपरेको हो।’

चितवनमा जारी भेलाको अध्यक्षता पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी प्रसाद दाहाल ‘असारे’ले गरिरहेका छन्। भेलामा देशका ७७ जिल्ला, जवस/मोर्चा, विभाग, प्रवासलगायत क्षेत्रबाट विशेष राष्ट्रिय भेलामा तीन सयभन्दा बढी प्रतिनिधि सहभागी रहेको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell