
काठमाडौंः काभ्रेको रोशी गाउँपालिका-११ डाला बेशीस्थित सडकमा यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र ना.१ ज ४२१० नम्बरको सुमो एकआपसमा ठोकिंदा ५ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा सुमोमा सवार रामेछाप चिसापानी नगरपालिका-८ घर भएकी ३५ वर्षीया सम्झना भुसाल, उनका छोरा ७ वर्षीय संगित भुसाल, सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने ३१ वर्षीय बिक्रम श्रेष्ठ, सिन्धुली सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली र कमलामाई नगरपालिका-४ बस्ने सुमो चालक ४५ वर्षीय हरि बहादुर बल रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्थामा सामान्य रहेको छ।