
विराटनगर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगर महानगरपालिकामा नागेश कोइरालालाई प्रमुखको टिकट दिएर आफूले न्याय गरेको दाबी गरेका छन्। पार्टीको मोरङ जिल्ला समितिले विराटनगरमा बुधवार आयोजना गरेको चुनावी सभामा सभापति देउवाले यस्तो बताएका हुन्।
देउवाले यसअघि कोइरालालाई प्रदेश सांसद् वा महानगरको प्रमुख कुनै पदमा टिकट दिन नसकेको उल्लेख गरे। उनले यस पटक भने कोइरालालाई न्याय भएको जिकिर गरे।
विराटनगर महानगरमा प्रमुख पदको टिकटका लागि कोइरालाका साथ अमृत अर्यात, डिला सङ्ग्रौला र निर्वतमान प्रमुख भीम पराजुली पनि प्रमुख आकांक्षी थिए। उनीहरू तीन जना नै केन्द्रीय सदस्य हुन्।
तीन जना केन्द्रीय सदस्यलाई उछिन्दै नागेशले मेयरको टिकट हात पारेका हुन्।
देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका बेला कोइराला त्यसमा आबद्ध थिए। त्यही बेलादेखि देउवासित कोइरालाको सम्बन्ध सुमधुर भएको हो।
कोइराला २०७४ को निर्वाचनमा पनि प्रमुख पदका आकांक्षी थिए। त्यसबेला देउवाले नागेशलाई ‘डा शेखर कोइराला निवाससित तिम्रो सम्बन्ध राम्रो छैन, म टिकट दिन सक्तिनँ’ भनेर फर्काएका थिए।
यसपछि बितेका ५ वर्षमा नागेशले डा शेखरसित सम्बन्ध सुदृढ मात्रै बनाएनन्, उनलाई शेखरकै क्याम्पका नेता भनेर चिन्न थालिएको छ।
चुनावी सभामा सभापति देउवाले केपी ओलीको सर्वसत्तावाद र अहङ्कारका विरूद्ध नेपाली कांग्रेसले गठबन्धन गर्नुपरेको प्रष्टीकरण दिए। उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको धारणा प्रकट गरे।
‘गठबन्धनले कुनै पनि हालतमा जित्नुपर्छ’, देउवाको भनाइ थियो, ‘तपाईँहरूलाई ओलीको शासनमा बोल्न पनि डर थियो। पत्रकारहरू लेख्न पनि डराउँथे। आज डर छैन। यो भयमुक्त वातावरण गठबन्धनले नै सिर्जना गरेको हो।’
पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको घोषणापत्रमा मान्छेको अनुहार भएको तर एमालेका घोषणापत्रमा भ्यू टावरमात्र भएको बताए।
महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेसका घोषणापत्रमा ह्विल चेयरमा बसेको एक अशक्तको तस्बिर छ। जनताको अनुहार छ।’
उनले अहिलेका चुनावमा कांग्रेस कमजोर भएर गठबन्धन नगरेको जिकिर गरे। उनले २०७४ का चुनावमा एमालेले २९३ स्थानमा विजय हासिल गर्दा कांग्रेसले २६६ स्थानमा जितेको जानकारी दिए।
शर्माको कथन थियो, ‘जम्मा २७ ठाउँमा मात्र बढी जितेको एमालेमा माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका धेरै नेता र कार्यकर्ता छैनन्। त्यसैले आजका दिनमा एमाले नै कमजोर छ। हामीलाई यो कुरा राम्ररी थाहा छ। तर, लोकतन्त्र र संविधानलाई ठिक ठाउँमा ल्याउन गठबन्धनको आवश्यकता परेको हो।’
उनले यसअघि एमाले र नेकपा (माओवादी केन्द्र)बिच एकता हुँदा डिजलमा पेट्रोल मिसेको जस्तो भएको टिप्पणी गरे।