PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

माधव नेपालको क्षेत्रमा सिर्जनाको म्याराथन घरदैलो : ३२ सेकेन्डको मन्तव्य, चारमुख महादेवको दर्शन



नेत्र तामाङ

माधव नेपालको क्षेत्रमा सिर्जनाको म्याराथन घरदैलो : ३२ सेकेन्डको मन्तव्य, चारमुख महादेवको दर्शन

काठमाडौँ: ठिक ४ बजे काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिर्जना सिंह पेप्सीकोला टाउनप्लानिङमा रहेको खेलमैदान आइपुग्ने कार्यतालिका रहेछ। कार्यकर्ता ३:३० बजेबाटै पुरानो सिनामंगल चोकमा जम्मा भएर स्वागतको तयारीमा थिए।

कोही धिमे र भुस्याको तालमा नाच्दै थिए। कोही स्पिकरमा घन्किएको कांग्रेसको गीतमा कम्मर भाँच्दै थिए। काया हेल्थकेयर अगाडिको सडकमा एकीकृत समाजवादीबाट वडाध्यक्षकी उम्मेदवार रहेकी सीता कँडेल पराजुली पनि मेयर र उपमेयरको उम्मेदवारलाई पर्खिरहेकी थिइन।

मेयर र उपमेयरको उम्मेदवार आइपुगे ५ बजेमात्र।

वडा ३२ मा गठबन्धनले चुनाव प्रचारको संयोजकको जिम्मा लगाएका रहेछन् अर्जुन पराजुलीलाई। संयोजक पराजुली र वडाध्यक्षकी उम्मेदवारले मेयरका उम्मेदवार सिर्जना र उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठलाई स्वागत गरे। त्यसपछि सिधै काया हेल्थ केयरको बर्दलीमा उभिए उम्मेदवार। संयोजक पराजुलीले मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरुको परिचय दिए।

गठबन्धनबाट यस वडामा वडाध्यक्ष पराजुली एकीकृत समाजवादीबाट, महिला सदस्यमा सरिता खनाल एकीकृत समाजवादीबाट र दुई वडा सदस्य रुद्रकुमार लाकौल र सुवास कुमार रिमाल कांग्रेसबाट वडा सदस्यका उम्मेदवार रहेछन्। दलित सदस्य भने गठबन्धनबाट कोही नभएको उनले जानकारी दिए। लगत्तै घरदैलो सुरु भएको उनले घोषणा गरे।

मतदातासँग बोल्ने फुर्सद मिलेन, चारमुख महादेवको दर्शन

टाटा मोबाइल गाडी उद्घोषणसहित अगाडि बढेपछि उम्मेदवार र कार्यकर्ता घरदैलोमा पछिपछि लागे। घरदैलो यति तीव्र गतिमा थियो कि उम्मेदवारले मतदातासँग कुरा गर्ने मौका नै मिल्दैन थियो। साँझको समय भएर होला टाउन प्लानिङका बार्दली र छतमा फट्टफुट्ट मानिसहरुमा देखिन्थे। उनीहरु मेयरको उम्मेदवार सिंहको नमस्कार फर्काउँथे।

झन्डै एक घण्टामा टाउन प्लानिङ घुमेपछि घरदैलो जुलुस पुरानो सिनामंगल मन्दिर पुग्यो। मन्दिरभित्र पसेर उम्मेदवारहरुले चारमुखे महादेवको दर्शन गरे। त्यसपछि जुलुस साइराम चोक हुँदै काया हेल्थ केयर भएकै ठाउँ पुग्यो र सभामा परिणत भयो।

माइकले काम नगरेपछि ३२ सेकेन्डको मन्तव्य

झन्डै साढे ६ बज्न लाग्दा काया हेल्थ केयरको सटर भएकै ठाउँमा उम्मेदवार उभिए। उद्घोषकले मत माग्दै सभालाई सम्बोधन गर्न आग्रह गरे। त्यही बेला माइकले काम नगरेपछि केही बेर अलमलमा परे आयोजक।

मेयरकी उम्मेदवार सिंहले भने तुरुन्तै सम्बोधन थालिहालिन्। मसिनो स्वरमा उनको सम्बोधन सुरु भयो।

'नमस्कार जय नेपाल। म गठबन्धनबाट काठमाडौं महानगरमा मेयरको उम्मेदवार तपाईंहरुको सामुन्ने भोट माग्न आएको छु। म काम गर्न आएको हुँ। सबैजना दाजुभाई दिदीबहिनीहरु हामी गठबन्धनलाई भोट दिएर जिताउनुहोला। हामीले चाहेको काठमाडौँ स्वच्छ सफा सुन्दर सुरक्षित काठमाडौँ बनाउने छौं भन्दै बिदा हुन्छु जय नेपाल,' ३२ सेकेन्डमा उनले मन्तव्य टुंग्याइन्।

लगत्तै ३२ नम्बर टाउन प्लानिङ क्षेत्रको घरदैलो सकिएको जनाउ दिए संयोजक पराजुलीले।

माओवादीको न त उम्मेदवार, न त झण्डा नै

महानगरमा पाँच दलीय मोर्चा एमालेविरुद्ध एक भएको छ। तर वडा ३२ को घरदैलोमा कांग्रेसको चारतारे झन्डा, कांग्रेसको चुनाव चिन्ह रुख र नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह कलम अंकित झन्डामात्र देखियो। माओवादीको हँसिया हथौडा अंकित झन्डा कतै देखिएन। यसबारे प्रश्न राख्दा एक सहभागीले भने, 'यहाँ माओवादीको झन्डामात्र हैन उम्मेदवार नै छैनन्।'

उनका अनुसार भागबण्डमा माओवादीलाई एक दलित सदस्य परेको थियो। 'माओवादीले चित्त बुझाएन,' कांग्रेसको झण्डा बोकिरहेका ती सहभागीले भने।

मत माग्दै बाँडिएको पर्चामा पनि माओवादीको कुनै उम्मेदवार थिएन। जसमा वडामा एक वडाध्यक्ष र तीन वडा सदस्यका उम्मेदवार थिए। जसमा दुई जना एकीकृत समाजवादी र दुई कांग्रेसबाट।

मेयरकै लागि निर्णायक मत भएको वडा

घरदैलोमा सहभागी हुन आएका एक कांग्रेस कार्यकर्ताले यो वडा मेयरका लागि निर्णयक वडा भएको सुनाए। १९ हजारभन्दा बढी मतदाता भएको यो वडामा अघिल्लोपटक नवराज पराजुली निर्वाचित भएका थिए। उनले कांग्रेसका उम्मेदवारलाई १६०० मतान्तरले हराएका थिए। 'यसपटक त कांग्रेस पहिलो नम्बरमा छ यो वडामा तर गठबन्धनले गर्दा समाजवादीले वडाध्यक्ष पायो,' ती कांग्रेस कार्यकर्ता भन्दै थिए, 'वडामा कलमलाई सघाउनुपर्छ। नत्र मेयर चिप्लिन्छ।' आफू भर्खर थपिएको मतदाता बताउने अर्का कार्यकर्ताले भने गठबन्धनमा मत कसरी जान्छ भन्नेमा ढुक्क हुन सक्ने अवस्था नरहेको उल्लेख गरे।

भने, 'एमालेले जितिरहने ठाउँ हो। यसपाली कांग्रेस बलियो थियो। अब गठबन्धनलाई मत कसरी जान्छ भन्ने हो।'

मत तलमाथि हुन्न : वडाध्यक्षकी उम्मेदवार पराजुली

एकीकृत समाजवादी वडा नम्बर ३२ वडा कमिटीकी अध्यक्षसमेत रहेकी सीता कँडेल पराजुली यस वडामा अध्यक्षकी उम्मेदवार हुन्। उनले गठबन्धनको मत तलमाथि नहुने ठोकुवा गरिन्, 'गठबन्धनबाट मत काट्नेमा कुनै त्रास छैन। हामी मेयरमा कांग्रेसलाई मत हाल्ने हो। उपमेयरमा एकीकृत समाजवादीलाई हाल्ने हो,' पराजुलीले भनिन्।

माओवादीबाट पनि मत आउने उनले बताइन्। तर माओवादीसँग उम्मेदवारीमै गडबढी भएको रहेछ नि? हाम्रो जिज्ञासामा पराजुलीले भनिन्, 'माओवादीसँग सम्झौता गरेरै अघि बढेका हौँ। प्राविधिक कारण माओवादी सहभागी हुनुभएन। तर उहाँहरुले गठबन्धनमा मत हाल्नुहुन्छ।'

केन्द्रीय अध्यक्ष माधव नेपालको वडासमेत रहेकोले यहाँ प्रतिष्ठाको लडाई हुने समेत उनले तर्क गरिन्।

'यो धेरै मतदाता भएको वडा पनि हो। हामी गठबन्धनको उम्मेदवार हौँ। कांग्रेसको सहयोग छ। केन्द्रीय अध्यक्ष रहेको वडा हो। अघिल्लोपटक एमाले जितेको भए पनि अहिले एमाले एकीकृत समाजवादी ५०/५० भएका छौं,' उनले भनिन्, 'त्यसैले कुनै शंका छैन।'

आफू यस क्षेत्रको चिनिएको महिला भएको उल्लेख गर्दै उनले गठबन्धनलाई जिताउन लागिपरेको सुनाइन्। 'स्कुल, सामुदायिक भवनहरु, धाराबत्ती निर्माणमा सहभागी हुँदै आएकी छु। पहिले महिला स्वास्थ्य स्वयंसेविका भएर काम गरें,' पराजुलीले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell